रोस्टरको अवधि बढाउन माग गर्दै इपिएस परीक्षा कार्यालय अगाडि प्रदर्शन

2 January, 2026

रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले ग्वार्को स्थित इपिएस कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।

भाषा पास गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको गुनासो उनीहरूको छ।

इपिएस अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरेर सिधै कोरिया जान पाइँदैन। रोजगारदाताको छनोटमा परेपछि मात्रै जान पाइन्छ। तर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे उनीहरूको नाम त्यहाँबाट हट्छ। कोरिया जानका लागि फेरि पनि भाषा परीक्षामा सामेल भएर उत्तीर्ण भएर रोस्टरमा बस्नुपर्ने हुन्छ।

जसकारण रोस्टरको अवधि बढाउनुपर्ने लगायत विभिन्न माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले भाषा पास भएपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने माग पनि लामो समयदेखि राख्दै आएका छन्।

धेरैजसो कृषि तथा पानीजहाज निर्माणका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकाहरू छनोटमा नपरेको गुनासो गरिरहेका छन्।

दक्षिण कोरियाले सन् २००८ देखि इपिएस मार्फत अदक्ष कामदार लैजाँदै आएको छ। हाल यो प्रणालीमार्फत एक लाखभन्दा धेरै युवाहरू पुगिसकेका छन्।

सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय कोटा तोकेको छ। लगभग पाँच हजार कोटा तोकेकोमा एक लाखभन्दा धेरै युवाले आवेदन दिएका थिए। उनीहरूको विभिन्न चरणमा परीक्षा भइरहेको छ।

भाषा उत्तीर्ण गरेर रोस्टरमा मात्रै हाल १२ हजार भन्दा धेरै युवाको नाम रहेको शाखाले जनाएको छ। शाखाले रोस्टरमा रहेकाले छिटो कोरिया जान पाउनुपर्ने माग गर्दै जुलुस, धर्ना तथा आन्दोलन जस्ता गतिविधि गर्दै आएकाले नकारात्मक असर पुगिरहेको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024