कतारमा नेपाली व्यवसायीबाटै ठगिए ५५ नेपाली श्रमिक

24 December, 2025

Surendrakumar Kamati

कतारमा कार्यरत ५५ जना नेपाली श्रमिक ‘नेपाली व्यवसायी’बाटै ठगिन पुगेका छन्। कतारमा कार्यरत ५५ जना श्रमिकले सुनका गहना बनाइदिन जम्मा गरेको रकम लिएर दुईजना नेपाली व्यवसायी गहना पसल नै बन्द गरेर फरार भएका छन्।

कतारको राजधानी दोहाको गोल्ड सुक क्षेत्रमा सञ्चालित ‘गोल्डेन स्टोन ज्वैलरी’ नामक सुनचाँदी पसलका सञ्चालकद्वय रौतहट परोहा नगरपालिका–२, जिंगडवावेलविछवाका मोहम्मद मोआज आलम र मोहम्मद नसिरुल राइनले ५५ जना नेपाली श्रमिकलाई ठगी गरी फरार भएको आरोप छ।

आलम र राइनले श्रमिकसँग सम्बन्धको आधारमा गरगहना बनाइदिने नाममा रकम असुली गरेको र गहना नदिई पसल नै बन्द गरेर फरार भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीले जनाएका छन्।

५५ जना नेपालीको पाँच लाख ४७ हजार ९४१ कतारी रियाल अर्थात् करिब दुई करोड १५ लाख १४ हजार नेपाली रुपैयाँबराबर ठगी गरेर फरार भएको अध्यक्ष पन्थीले बताए। नेपाली व्यवसायीबाट ठगीमा परेकाहरू गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सम्पर्कमा आएको अध्यक्ष पन्थीको भनाइ छ। उनले नेपाली दूतावास कतार र सरोकारवाला निकायमा समन्वय गरिरहेको पनि बताएका छन्। ‘नेपाली श्रमिकहरूले मिहिनेत गरी कमाएको रकमबाट गरगहना बनाएर घर लैजान रकम जम्मा गरेका रहेछन्,’ अध्यक्ष पन्थीले भने, ‘नेपाली व्यवसायी नै भएकोले विश्वासमा रकम दिएका रहेछन तर ठगको सिकार बनेछन्। पीडितहरू हाम्रो सम्पर्कमा आउनुभएको छ।’

गहनाकाे अर्डर दिएकालाई उपलब्ध गराउनु भन्दा सञ्चालकद्वयले पसल नै बन्द गरी फरार भएका छन्। पसल नै बन्द भएपछि उनीहरूले आफूहरू ठगिएको थाहा पाएर एनआरएनमा उजुरी गरेको अध्यक्ष पन्थीले बताए।

आफूहरू ठगिएको थाहा पाएलगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता भएको छ। सुनचाँदी पसल सञ्चालकद्वय आलम र राइनले करिब ७ वर्षदेखि साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएको पीडितमध्येका रोहितकुमार शर्माले बताएका छन्। फरार दुवैजनालाई कतार प्रहरीले खोजी गरिरहेको छ। उनीहरूविरुद्ध गोविन्द खड्का, महेश दहाल, सुरेन्द्र खड्का, ज्ञानेन्द्र रेश्मी, पेमा वाङ्मो र पम्पा घोषले उजुरी दर्ता गराएको एनआरएनए एनसिसी अध्यक्ष पन्थीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024