आईटीको काम भन्दै म्यानमार पुर्‍याएर नेपालीलाई बनाइन्छ ‘साइबर दास’

24 December, 2025

Narayan Adhikari

म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइयो ।

त्यसपछि २४ मंसिर र २ मंसिरमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गर्‍यो । अहिले ब्युरोले सर्लाहीको भर्दोल गाउँपालिका-९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राईलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

म्यानमारबाट उद्धार गरिएका ४७ जनामध्येबाट अहिलेसम्म ब्युरोमा २ वटा जाहेरी परेको छ । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तिनै दुई जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथिको सोधपुछ, फर्केकाहरूले दिएको जाहेरी तथा अनुसन्धानबाट नेपालीहरूलाई त्यहाँ साइबर दासको रूपमा चिनियाँ गिरोहले प्रयोग गरिरहेको पत्ता लागेको हो ।

थाइल्यान्डस्थित नेपाली दूतावास, म्यानमार सरकार र ब्युरोको समेत पहलमा ४७ नेपालीको उद्धार भएको थियो । त्यहाँ अझै करिब १०० को हाराहारीमा नेपालीहरूलाई बन्धक बनाएर साइबर दासको रूपमा काम लगाइएको छ ।

ब्युरोका एसएसपी कृष्ण पंगेनी अझै ठूलो संख्यामा नेपालीहरू साइबर दासको रूपमा म्यानमारमा फसेको बताउँछन् ।

म्यानमारको विद्रोही समूहको दबदबा रहेको क्षेत्र मेवाडीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दामा नेपालीहरूलाई प्रयोग गरेको बताइन्छ । म्यानमार प्रशासनको समेत पहुँच बाहिर रहेको मवाडीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’को पासोमा अहिले नेपाली पर्दै आएका छन् ।

चिनियाँहरू बाहिरबाटै सबै कुराको व्यवस्थापन गर्ने तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरू प्रयोग गर्ने गरेको एसएसपी पंगेनी बताउँछन् ।

नेपालीहरूलाई विशेषगरी ह्वाट्स एपमार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्कमा ल्याएर अनलाइनमा विभिन्न प्रलोभन देखाएर फिसिङ गर्ने शैली देखिएको छ । चिनियाँको यो ट्र्यापमा विशेषगरी अमेरिकी, युरोपका व्यक्तिहरू फस्ने गरेको ट्रेन्ड देखिन्छ ।

अनलाइन स्क्यामिङ धन्दामा नेपालीलाई प्रयोग गर्न आकर्षक प्रलोभन देखाएर म्यानमार पुर्‍याउँदै डिजिटल दास बनाउने गरेको देखिन्छ ।

कम्युटरसम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिलाई थाइल्यान्डमा राम्रो रोजगारी दिने भन्दै प्रलोभनमा पारेर त्यहाँ पुर्‍याउने गरिन्छ । थाइल्यान्डबाट ३६ घण्टासम्म कारमा राखेर म्यानमारको केकेआई पार्कमा लैजाने गरिएको छ । सो क्रममा केहीको आँखामा पट्टीसमेत लगाइन्छ । त्यहाँबाट मेवाडी पुर्‍याउने गरेको पीडितहरूले बताउने गरेका छन् ।

नेपालबाट भारत, थाइल्यान्ड हुँदै म्यानमार लाने गरेको देखिन्छ । एक लाखभन्दा माथिको तलब दिलाउने प्रलोभन देखाएर त्यहाँ पुर्‍याएपछि अनलाइन फिसिङमा प्रयोग गर्ने, नमानेको अवस्थामा चरम यातना दिनेसम्मका काम हुने गरेका छन् । उनीहरूलाई त्यहाँ केटी बनेर लभ अफेयर जसरी कुराकानी गर्न लगाउने, बिटक्वाइनको कारोबारमा लगाउने गरेको देखिन्छ ।

म्यानमार पुगिसकेपछि मोबाइल, पासपोर्ट नियन्त्रणमा लिने र अवैध अनलाइन स्क्यामिङका लागि केही दिन तालिम दिने काम सुरु हुन्छ । गलत काममा फसेको थाहा पाएपछि नेपाल फिर्ता हुन खोजेको अवस्थामा भने पैसा हाल्न लगाउने वा त्यसवापत अरू ३-४ जना नेपालीलाई म्यानमार ल्याएपछि मात्रै छाड्ने प्रवृत्ति देखिएको एसएसपी पंगेनी बताउँछन् ।

‘कोही नेपाली छुटेर आउनुपर्‍यो भने कि उनीहरूले भनेजति पैसा हाल्नु पर्‍यो कि त्यसवापत अरू नेपालीलाई म्यानमार झिकाउनु पर्‍यो । यी दुई सर्तमा मात्रै छुट्ने अवस्था देखिन्छ,’ एसएसपी पंगेनीले अनलाइनखबरसँग भने ।

यसअघि दक्षिणपूर्वी एसियाका देशहरूमा अनलाइन स्क्यामिङका लागि मानव ओसारपसार हुने गरेको भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले ‘ग्लोबल वार्निङ’ समेत जारी गरेको थियो । यति हुँदासमेत विभिन्न प्रलोभनमा पारेर नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाका देशहरूमा पुर्‍याएर साइबर स्लेभ बनाउने धन्दा रोकिएको छैन ।

राज्यको पहुँच नै हुन नसक्ने ठाउँहरूमा क्याम्प खडा गरेर राख्ने, क्याम्पभित्रै खाने, सुत्ने, बस्ने व्यवस्था गरेर सुरक्षा गार्डसमेत राखी नेपालीहरूलाई अनलाइन स्क्यामिङहरूमा प्रयोग गर्ने गरिएको छ ।

निश्चित टार्गेट दिएर काममा लगाउने र दैनिक १८ घण्टासम्म काम गनुपर्ने अवस्था छ । दूताबासको पहल बिना फर्केका अधिकांशजसोले १० लाखसम्म फिरौती बुझाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त रकम क्रिप्टो करेन्सीमा हालेपछि बल्ल नेपालीहरूलाई त्यहाँबाट मुक्त गरेको देखिन्छ ।

१०७ जनाको उद्धार

अहिले ४७ जनाको उद्धार भए पनि मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएयता १०७ जनाको उद्धार भएको छ । जसमा १०३ पुरुष र ४ महिला छन् । उनीहरूलाई सुरुमा नेपालबाट चिनियाँ गिरोहले नै सम्पर्क गरी थाइल्यान्डमा दिने रोजगारी भन्दै म्यानमार लैजाने गरेको थियो ।

तर, पछिल्लो समय नेपालीलाई नै एजेन्ट खडा गरेर नेपालीहरूमार्फत नै थाइल्यान्डमा रोजगारी भन्दै म्यानमार पुर्‍याउने ट्रेन्ड देखिएको छ । अहिले पक्राउ परेका दुई नेपाली तिनै चिनियाँका नेपाली एजेन्ट रहेको ब्युरोको दाबी छ ।

म्यानमारकै जस्तो शैली दक्षिणपूर्वी एसियाका अन्य देशहरू पनामा, कम्बोडिया, पलाउमा समेत देखिएको छ ।

ब्युरोको तथ्यांकअनुसार पनामाबाट अहिलेसम्म १९ पुरुष र १ महिला गरी २० जनाको उद्धार गरिएको छ । कम्बोडियाबाट ९ पुरुषको उद्धार गरिएको छ । पलाउबाट पनि २० पुरुषको उद्धार गरिएको छ । यसरी पठाउने ३ चिनियाँसहित करिब दुई दर्जन नेपालीलाई पक्राउ गरेर मुद्दा चलाइएको ब्युरोको तथ्यांक छ ।

एक वर्ष बन्धक बनेर फर्केका युवाको बयान- करेन्ट लगाएर यातना दिइयो

२०८१ मंसिर महिनाको पहिलो हप्तातिर वैदेशिक रोजगारीको लागि विदेश जान विभिन्न म्यानपावरहरूमा बुझ्दै थिएँ । एक दिन गोकर्णेश्वर नगरपालिका-५ झोगाल बस्तीमा आइशा खाजाघरमा खाजा खाने क्रममा राजनारायण महतोसँग भेट भयो ।

कुराकानी क्रममा उनले आफ्नो छोरा रञ्जितकुमार महतो पनि म्यानमारको फुसन एन्ड रुद्र नामको चिनियाँ कम्पनीमा काम गर्ने र मासिक १ लाखभन्दा बढी कमाउने बताए । अनलाइन सेल्स मार्केटिङमा जाने भए १ लाखसम्म कमाइ हुने राजनारायणले बताए । त्यसपछि छोरा रञ्जितकुमारसँग सम्पर्क गराए ।

ह्वाट्स एपमा कुराकानी हुँदा रञ्जितले कम्प्युटर टाइप आएमा म्यानमार १ लाख कमाइ हुने बताए । आफूले पनि राम्रो काम कमाइ गरिरहेको बताएका थिए । उनले नै सबै प्रोसेसिङ गरिदिने बताए । मेरो पासपोर्टको फोटोसमेत मागे । त्यसको १०-१२ दिनपछि सबै कागजात मिलिसकेको र अब आउनका लागि मेरा बुवा राजनारायणसँग कुरा गर्न भने ।

जान १ लाख ५० हजार लाग्ने भएकाले ऋण खोजेर राजनारायणले एयरपोर्ट नजिकै सञ्चालन गरेको गेस्ट हाउसमा गएर नगदै रकम दिएको थिएँ । भिसा आयो भने । मैले हेर्न खोज्दा राजनारायणले अहिले मिल्दैन, जाने बेलामा एयरपोर्टमा दिन्छु भने ।

२१ मंसिर २०८१ मा मलाई काठमाडौंबाट हवाई मार्गबाट नयाँदिल्ली पुर्‍याइयो । त्यहाँ केही दिन बसेपछि म्यानमारको याङगोन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइयो । एयरपोर्टमा रिसिभ गर्न नाम थाहा नभएका म्यानमारका २ मानिस आए ।

त्यसपछि कहिले गाडीमा त कहिले मोटरबोटमा राखी म्यानमारको मेवाडी भन्ने ठाउँमा पुर्‍याइयो । त्यहाँ फुसन एन्ड रुद्र नामको कम्पनीमा लगियो । त्यहाँ रञ्जितकुमारसँग भेट भयो । उनले कम्पनीको नीति, नियम र तलबसम्बन्धी कागजात हो भन्दै सही छाप गर्न लगाए ।

त्यसपछि अबदेखि तिमीहरूको काम अमेरिकनहरूसँग कुराकानी गर्ने र उनीहरूलाई बिटक्वाइन्मा लगानी गर्न प्रेरित गर्ने हो, जति धेरैलाई पैसा जम्मा गर्न लगाउन सक्छौ त्यति नै तिमीहरूलाई फाइदा हुन्छ भनियो । तलबका साथै कमिसन पनि आउने भनियो ।

त्यहाँ भएका पूराना नेपालीहरूसँग बुझ्दा त अनलाइन स्क्यामिङमा लगाएको थाहा पाएँ । अनलाइन ठगीको काम थाहा पाएपछि मैले यस्तो गर्दिनँ, नेपाल फिर्ता जान्छु भनें । त्यसपछि चिनियाँहरूले कुटपिट गर्दै तिमीहरूले हामीले लगाएको काम गर्ने हो भने ।

तिमीहरूलाई यहाँ ल्याउने नेपाली एजेन्टमार्फत हामीले खर्च गरेका छौं भन्दै चिनियाँले कुटपिट गरे । विकल्प नदेखेपछि काम गर्न बाध्य भएँ । त्यसपछि सामाजिक सञ्जालमा च्याट गर्दा के बोल्ने, के नाबोल्ने, कस्तो रिप्लाई गर्ने, अमेरिकन पुरुषलाई कसरी ट्र्यापमा पार्ने जस्ता कुराहरूबारे तालिम दिइयो ।

एउटा कम्युटर दिई डेटिङ एपजस्ता एपहरू डाउनलोड गराएर धनाढ्य व्यक्ति, व्यवसायी र अमेरिकन व्यक्तिहरूलाई ट्र्यापमा पारेर बिटक्वाइनमा लगानी गर्न सिकाइयो । चिनियाँले हामीले लगाएको काम बाहेक अरू केही नगर्नु, आफ्नो वास्तविक नाम, ठेगाना कहिल्यै नभन्नु र एक दिनमा कम्तीमा ५ अमेरिकनको ह्वाट्स एपमा सम्पर्क गरी ट्र्यापमा पार्न टार्गेट तोकियो ।

यो काम गर्न नसक्दा खाना खानै नदिने, कुटपिट गर्ने, फ्रग जम्प गर्न लगाउने, करेन्ट लगाउने, पानीको जार बोकाएर पाँच तलामा तल-माथि गर्न लगाई चरम मानसिक र शारीरिक यातना दिइयो ।

त्यसपछि रञ्जित र उनका बाबुलाई सम्पर्क गरी नेपाल फर्काउन भने । तर उनीहरूले बेवास्ता गरे । चाइनिज सञ्चालकलाई भन्दा ७ हजार डलर तिरेपछि मात्रै जान पाउँछस् भने । तर उनीहरूले भनेअनुसारको पैसा तिर्न मैले सकिनँ । अनि बाध्य भएर काम गरेँ ।

एक दिन त्यो कम्पनीमा सेनाले छापा मार्‍यो । कम्पनी सञ्चालकहरू भागे । सेनाले नै उद्धार गरेपछि २४ मंसिरमा म नेपाल फर्किन सफल भएँ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024