रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’

19 December, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित बनाउन ‘स्पेसल टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको छ ।

२५ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने सरकारको योजना अनुरूप ‘टाक्स फोर्स’ बनाएर काम गर्ने तयारी गरेको जानकारी दिनुभएको हो । उहाँका अनुसार श्रम मन्त्रालयमातहत रहने टाक्स फोर्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अपराध महाशाखालगायतलाई सहभागी गराएर काम गरिने छ ।

श्रममन्त्री भण्डारीले श्रमिकको हक अधिकारको संरक्षण, सामाजिक सुरक्षा, श्रम कूटनीतिक सुदृढीकरण द्विपक्षीय सहकार्य, एकीकृत सूचना प्रणाली तथा तिनै तहका सरकारबिच समन्वयमार्फत श्रम आप्रवासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनपछि पनि सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठुलो विस्फोट हुन सक्नेतर्फ सबै सजग हुनुपर्ने उहाँको भनाइ छ ।

श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम आप्रवासलाई प्रतिफलयुक्त बनाई प्राप्त विप्रेषणलाई उत्पादन र उद्यमशीलामार्फत समृद्धिका आधार बनाउने दिशातर्फ मन्त्रालयले काम गरेको जानकारी दिनुभयो ।

आप्रवासन दिवस मूल समारोह समितिका संयोजक पीताम्बर घिमिरेले वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकको सिप, पुँजी, ज्ञान र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने सरकारको नीति अनुरूप काम गरेको जानकारी दिनुभयो । दिवसका अवसरमा नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, सुन्धारा, नयाँ सडक हुँदै वसन्तपुरसम्म आएर पदयात्रा समापन भएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024