संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै नेपाली राजदूतावास, अबुधाबीले अवैध रूपमा हुने वित्तीय कारोबार (हुन्डी) नगर्न तथा त्यस्ता कार्यमा संलग्न नहुन कडा चेतावनी दिएको छ ।
राजदूतावासको सूचनाअनुसार विदेशमा रहँदा अनौपचारिक माध्यमबाट रकम पठाउने, प्राप्त गर्ने वा त्यसमा संलग्न हुने कार्य कानुनविपरीत रहेको जनाएको छ । यस्तो गैरकानुनी गतिविधि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार दण्डनीय हुने स्पष्ट गरिएको छ ।
सूचनामा परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रत्येक महिनामा यस्ता गतिविधिसम्बन्धी सूचना तथा विवरण आदान–प्रदान भइरहेको पनि उल्लेख गरिएको छ ।
राजदूतावासले यूएईमा कार्यरत कुनै पनि व्यक्ति वा संस्थाले अनौपचारिक वित्तीय कारोबार (हुन्डी) नगर्न/नगराउन आग्रह गर्दै, यदि कसैले यस्ता गैरकानुनी काम गरिरहेको जानकारी भए प्रमाणसहित राजदूतावासलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।