लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ। २ जना महिला र ४५ जना पुरुषलाई बुधबार नेपाल ल्याइएको हो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम भट्टराईले थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न निकायसँगको समन्वय र सहकार्यमा उनीहरूलाई नेपाल फिर्ता गरिएको जानकारी दिए। नेपालबाट राम्रो काम र तलब पाइने प्रलोभनमा उनीहरूलाई म्यानमार पुर्याइएको थियो। विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन ‘स्क्यामिङ’ केन्द्रहरूमा बन्धक बनाइएको अवस्थामा उनीहरूलाई राखिएको थियो।
थाइल्यान्डस्थित नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल फर्काएको हो । उद्धार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौं ल्याइएको थियो।
उनीहरू नेपालका विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। उद्धार गरिनेहरूमा १७ देखि ४१ वर्षसम्मका छन्। सबैजना १२ पास उतिर्ण छन्। आईटी कम्पनीमा राम्रो काम लगाइदिने र मासिक लाखौं कमाइ हुने भन्दै उनीहरूलाई म्यानमार पुर्याइएको थियो।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख कृष्णप्रसाद पंगेनीका अनुसार पछिल्लो समय विभिन्न प्रलोभनमा परेर विदेशमा दुःख पाउने नेपालिको संख्या बढिरहेको छ। दिनहुँजस्तो विभिन्न देशबाट उद्धार भइरहेका हुन्छन्। म्यानमारमा जाने र जबरजस्ती स्क्यामिङमा फस्नुपर्ने, घटना पुरानै हो। यहाँबाट लाखौं खर्च गरेर म्यानमार पुग्छन्।
पीडितहरू सामाजिक सञ्जाल (फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप), पब्जी खेल्ने साथी वा चिनजानका व्यक्तिमार्फत प्रलोभनमा परेर म्यानमार पुगेका थिए।
उनीहरूलाई अफिसको काम, डाटा इन्ट्री जस्ता आकर्षक प्रस्ताव राखेर भारत, दुवई हुँदै म्यानमार पुर्याइएको थियो। म्यानमारमा पुगेपछि उनीहरूलाई अनलाइन स्क्यामिङ’ (ठगी) को काममा लगाइन्थ्यो। बाध्यताबस तोकिएका टार्गेट पूरा गर्ने दबाब दिने गर्थे। टार्गेट पूरा गर्न नसक्नेलाई पैसा माग्ने, नेपालबाट पैसा पठाएर मात्रै निस्कन पाइन्थ्यो। स्क्यामिङमा टार्गेट पूरा गर्न नसक्नेलाई शारीरिक तथा मानसिक यातना दिने, कुटपिट गर्ने, खान नदिने गर्थे। उनीहरूमध्ये कोही त १८ महिनासम्म बन्धक बनेका थिए।
म्यानमार, थाइल्यान्ड र लाओसका सीमा क्षेत्रमा रहेका स्क्यामिङ सेन्टरहरूबाट नेपालीहरू धेरै ठगिन थालेका छन्। गत वर्ष १४१ जनाको उद्धार गरिएको थियो। यसअघि ६८ जना र १५६ जनाको उद्धार गरिएको थियो। भिजिट भिसामा म्यानमार पुर्याएर बन्धक बनाउने गिरोह नै सक्रिय छन्।