वैदेशिक रोजगारीका नाममा करोडाैँ ठगी गर्ने व्यक्ति पक्राउ

4 December, 2025

वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगिएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेका छन्।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको बताए। 

उनले आज मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताए। उनले भने, “तर उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगीका घटना बढ्दो नै छ।” 

सूचना अधिकारी आचार्यले पीडितबाट एक करोड २५ लाख रुपैयाँभन्दा बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए। यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन्।

अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देशहरू पठाउने भनी मानिसबाट एक करोड २५ लाख ७८ हजार रुपैयाँभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। नवलपरासी घर भई हाल काठमाडौँ बस्ने दिलबहादुर सारु मगरले सर्बिया पठाउने भनेर चार लाख ५० हजार ठगी गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो। 

त्यस्तै, सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई तीन लाख ८० हजार रुपैयाँ ठगीको आरोपमा पक्राउ गरिएको छ। सूचना अधिकारी आचार्यका अनुसार अल्बानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ।

उनीहरू तीनै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024