सेना बन्ने सपना थियो, पुगे दक्षिण कोरिया

2 December, 2025

Nirmala Ghimire

नवीन खनालको सानैदेखि भारतीय सेना हुने सपना थियो।

उनका बुबा पनि भारतीय सेनामा थिए। बुबाको कामबाटै उनी लोभिएका थिए। उनलाई पनि बुबाजस्तै जागिर खानु थियो।

उमेर पुगेपछि त्यो सपना पूरा गर्न उनले धेरै पटक प्रयास गरे।

‘सानैदेखि आर्मी बन्छु भनेको थिएँ। त्यतै तयारी पनि गरेँ। तर भाग्यमा रहेनछ, छनोट भइनँ। दक्षिण कोरिया आउन जुर्‍यो,’ नवीनले भने।

बुटवलका नवीन रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१८ मा दक्षिण कोरिया गएका हुन्। अहिले उनी त्यहाँको प्यालेट–टू बनाउने कम्पनीमा काम गर्छन्।

प्यालेट–टूमा मसिनमार्फत् किला ठोक्ने लगायत काम गर्नुपर्छ। प्यालेट–टू विभिन्न किसिमका सामग्री ढुवानीको काममा प्रयोग गर्ने काठको सामग्री भएको नवीनले बताए।

उनी सुरूदेखि नै यही कम्पनीमा छन्। सुरूमा ओभरटाइम समेत काम हुने यो कम्पनीमा अहिले ओभरटाइम धेरै छैन। नियमित काम भने भइरहेको छ।

‘पहिले दैनिक ११ घण्टासम्म पनि काम पाइन्थ्यो। अहिले ८ घण्टा मात्रै हुन्छ,’ नवीनले भने, ‘ओभरटाइम नहुँदा तलब पनि बेसिक मात्रै हुन्छ। बेसिक भनेको महिनामा दुई लाख नेपाली रूपैयाँ हाराहारी हो। तलब समयमै आउँछ। काम सजिलो छ।’

कोरियामा साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा हो। कहिलेकाहीँ शनिबार भने काम पनि मिल्छ।

उनले काम गर्ने कम्पनीमा अरू नेपाली पनि छन्। इन्डोनेसियन र कोरियनहरू पनि धेरै छन्।

कतिपय कम्पनीमा कोरियनहरूले काममा पेल्ने सुनेका नवीनले भने त्यस्तो चाप झेल्नुपरेको छैन। कोरियनहरू पनि निकै मिलनसार भएको र सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने उनले बताए।

‘हाम्रो कम्पनीमा दुई घण्टा काम गरेपछि आधा घण्टा आराम टाइम हुन्छ। साहुहरूले कहिलेकाहीँ छिटो छिटो काम गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन्। तर हामी आफ्नो गतिले काम गर्छौं,’ उनले सुनाए।

सुरूमा कोरियाली परिवेशमा घुलमिल हुन समय लागे पनि अहिले नवीन बानी परिसकेका छन्। पहिलो कार्यकाल सकेर दोस्रो सुरू गरिसकेका छन्।

उनको पहिलो चार वर्ष १० महिना र दोस्रो चार वर्ष १० महिना गरी करिब १० वर्षको कार्यकाल हो। कोभिडको समयमा एक वर्ष थपिएको छ। नवीनले ११ वर्ष काम गर्ने अवसर पाएका छन्।

‘म कहिल्यै घर नछाडेको मान्छे, पहिलो पटक देशै छाडेर आउँदा निकै गाह्रो भएको थियो। भाषा सिकेर पास गरे पनि त्यतिले यहाँको बोलचालका लागि सजिलो नहुने रहेछ। अप्ठ्यारै थियो,’ उनले सुनाए, ‘तर कम्पनीमा अरू नेपाली दाइहरू हुनुहुँदो रहेछ, जसले गर्दा मलाई सहजै भयो।’

कोरियन परिकारसँग भने बानी पर्न निकै समय लागेको थियो। सुरूसुरूमा त त्यहाँको खानेकुरै मनैपर्थेन। किचन छिर्दा पनि वाक्क हुन्थे नवीन। अहिले भने खानेकुरामा पनि बानी परिसकेका छन्।

२७ वर्षीय नवीनले कामको पूरा कार्यकाल सकेर मात्रै नेपाल फर्किने सोचेका छन्।

‘अब बाँकी समयमा यहाँ कमाउनुपर्‍यो। त्यसपछि नेपालमै गएर केही गर्छु भन्ने सोचेको छु,’ उनले भने।

उनले नेपाल फर्केर व्यवसाय गर्ने सोचेका छन्। तर के गर्ने भन्ने योजना अहिले छैन।

‘अहिले यहाँ गरिरहेजस्तो काम नेपालमा गर्न सके त निकै राम्रो हुन्थ्यो। तर यो काम नेपालमा काम लाग्ने खालको छैन। धेरै उत्पादनमूलक कम्पनी र उद्योग भए मात्रै यस्तो काम लाग्छ,’ उनले भने।

नवीनले अहिलेसम्म गरेको कमाइबाट बुटवलमा घरजग्गामा किनेका छन्। अब रकम व्यवसायका लागि बचत गरेर फर्किने उनको योजना छ।

उनको अनुभवमा मेहनत गरेर कमाउँछु भन्नेका लागि दक्षिण कोरिया निकै राम्रो छ।

‘हाम्रो अवस्था देशमै केही गरेर बस्छु, विदेश जादिनँ भन्ने छैन। त्यसो हुँदा भाषा सिकेर आउँदा कोरिया निकै राम्रो छ। मलेसिया र खाडीमा भन्दा कमाइ पनि राम्रो छ। ती मुलुकका विकल्प हुन सक्छ तर धेरै प्रतिस्पर्धा गर्नुपर्छ, मेहनत उत्तिकै गर्नुपर्छ,’ नवीनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024