नेपालीका नाममा बगेको इजरायली आँसु

25 August, 2025

खेमराज जम्मर कट्टेल

इजरायलमाथि भएको हमासको आकस्मिक आक्रमणले केवल मध्यपूर्वको राजनीतिक समीकरणलाई मात्र होइन, विश्वकै शान्ति र सुरक्षा अवधारणालाई हल्लाइदियो। हजारौं रकेट, निर्दोष सर्वसाधारणमाथिको आक्रमण, क्रूरतापूर्वक गरिएको हत्या र अपहरणले इजरायली समाजलाई मात्र नभई त्यहाँ कार्यरत लाखौं विदेशी श्रमिकलाई समेत अन्धकारमा धकेल्यो। त्यस दिन इजरायलको दक्षिणी क्षेत्रमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाले ज्यान गुमाए। उनीहरूमध्ये धेरैको सपना आफ्ना परिवारका लागि उज्यालो भविष्य बनाउने थियो। तर त्यो सपना अधुरै रह्यो। बाँकी रहेका विद्यार्थीमध्ये एक विपिन जोशी हमासद्वारा अपहरणमा परे।

विपिनको कथा व्यक्तिगतमात्र होइन। यो सम्पूर्ण नेपाली समाजको कथा हो। एक सामान्य परिवारको छोरा। परिश्रमी विद्यार्थी। उज्यालो भविष्यको आकांक्षा बोकेका एक युवा तर भाग्यले अन्धकारमा धकेल्यो। हिंसात्मक यथार्थमा फ्याँक्यो, जसले नेपाल सरकार, इजरायल सरकार र विश्व समुदायलाई गहिरो प्रश्न सोधिरहेछ। विपिन आजसम्म हमासको कैदमा छन् र उनको रिहाइका लागि भएको संघर्षले धेरै तहका यथार्थलाई उजागर गरेको छ।

इजरायल सरकार र जनताको साथ

विपिन जोशीको रिहाइको सवाललाई इजरायलले आफ्नो नागरिक सरह प्राथमिकता दिएको उल्लेखनीय छ। बन्धकहरूको सूची सार्वजनिक गर्ने, अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने, विश्वभरका सरकार र संस्थालाई दबाब सिर्जना गर्ने प्रक्रियामा विपिनलाई पनि निरन्तर समेटिएको छ। यो नेपाल र नेपालीप्रति गरिएको इजरायलको विशेष सहानुभूति हो।
इजरायली जनताले देखाएको समर्थन पनि त्यत्तिकै प्रेरणादायी छ। ‘ब्रिङ विपिन होम’ नारासहित नेपालीहरूसँग हातेमालो गर्दै इजरायली नागरिकले तेलअविवदेखि जेरुसलमसम्मका प्रदर्शन गरे। सभाहरूमा सहभागिता जनाए। पीडामा परेका नेपाली परिवारको सहयोगार्थ खुलेर समर्थन जनाउनु, नेपालीलाई आफ्नो समुदायको हिस्सा ठान्नु मानवताको सन्देश पनि हो। त्योभन्दा अझै हृदयस्पर्शी पहल इजरायल सरकारले विपिनको परिवारलाई देखाएको व्यवहारमा प्रस्ट हुन्छ। विपिनकी आमा र बहिनीलाई नेपालबाट इजरायलसम्म ल्याएर यहाँका उच्चस्तरीय भेटघाटहरूमा सहभागी गराइयो। प्रधानमन्त्रीदेखि राष्ट्रपति, क्याबिनेटका मन्त्रीदेखि सांसदहरूसम्म प्रत्यक्ष भेट गराएर परिवारलाई आफ्नो पीडा राख्ने अवसर उपलब्ध गराइयो। त्यतिमात्र होइन, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, बन्धक परिवारहरूको सभा र मिडिया प्लेटफर्ममा पनि उपस्थित गराइयो। यसले गर्दा विपिनको मुद्दा विश्वव्यापी रूपमा उजागर भएको छ।

यो १० दिन बसाइको दौरान इजरायल सरकारले परिवारलाई हरेक ठाउँमा भरपूर साथ, समय र सम्मान दियो। उनीहरू नेपाल खाली हात फर्के तर यो छोटो बसाइले नेपाली समुदायलाई विपिनका लागि निरन्तर आवाज उठाउन ठूलो आत्मबल दिएको छ। यहाँका नेपाली समुदाय, व्यक्ति, विभिन्न संघ संस्था, गैरआवासीय नेपाली संघ इजरायल र नेपाल राजदूतावासले पनि परिवारलाई बसाइ अवधिभर हौसला दिएर कार्यक्रमहरूमा सहभागी भएर, गराएर निरन्तर सहयोग र साथ दिएका थिए।

नेपाली समुदाय र दूतावासको भूमिका
इजरायलमा रहेका नेपाली समुदायले यो घटनालाई आफ्नै पीडा ठाने। नेपाली संघसंस्था, अगुवा र विभिन्न समाजसेवीहरूले एकजुट भई विपिनको रिहाइका लागि निरन्तर दबाब सिर्जना गरे। तेलअविवदेखि जेरुसलमसम्म भएका प्रदर्शनमा नेपाली युवायुवतीले ‘फ्रि विपिन’ भन्दै आवाज बुलन्द गरे।

नेपाल दूतावासले पनि आफ्नो भूमिकामा सक्रियता देखायो। विपिनको आमा र बहिनीलाई इजरायल बसाइको क्रममा उच्चस्तरीय भेटघाटमा सहभागी गराइयो। उनीहरूले यहाँ भएका नेपाली समुदायका कार्यक्रम, भेलाहरूमा उपस्थित गराइयो। यस क्रममा पीडित परिवारको आवाज प्रत्यक्षरूपमा नेपाली समुदायहरूसम्म पुग्यो।

नेपाल सरकारमाथि आलोचना र अविश्वास

तर यता नेपालभित्र सरकारप्रतिको दृष्टिकोण फरक रह्यो। जनताले ठाने नेपाल सरकारले आफ्ना नागरिकको जीवनरक्षामा आवश्यक तत्परता देखाएन। किन कि घटना भएको महिनौंसम्म सरकारले ठोस उपलब्धि ल्याउन सकेन। सरकारका प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतले समयसमयमा सामाजिक सञ्जालहरूमा वक्तव्य जारी गर्दै, इजरायल, कतारलगायत तटस्थ मुलुकलगायत अन्य निकायहरूसँग सम्पर्कमा रहेको दाबी गरेका छन्। तर व्यवहारमा विपिन जोशीको रिहाइका लागि निर्णायक प्रगति भएको संकेत पाइँदैन। इजरायलमा रहेका नेपाली समुदाय, विभिन्न देशका कूटनीतिक नियोग, इजरायलका प्रधानमन्त्री, राष्ट्रपति र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पुगेर बहिनी पुष्पा र आमाले गरेको गुहारले राज्यले गरेको प्रयासको कमजोरी अझ प्रस्ट बनाएको छ। जोशी परिवारको पीडा अब केवल व्यक्तिगतमात्र होइन, यो सम्पूर्ण राष्ट्रको पीडा हो भन्ने जबर्जस्त मुद्दा स्थापित हुँदै गएको छ।

कूटनीति भन्नाले केवल आधिकारिक पत्राचार वा सामान्य चासो देखाउनु मात्र हुँदैन। यसले निरन्तर दबाब सिर्जना गर्नुपर्छ। बहुपक्षीय मञ्चहरूमा मुद्दा उठाउनुपर्छ। मित्रराष्ट्रहरूसँग गहिरो तहमा छलफल र दबाब सिर्जना गर्नुपर्छ। तर नेपाल सरकारले यस दिशामा देखाएको सक्रियता सीमित रहँदै आएको छ। यहाँसम्म कि घटनापछि लामो समयसम्म नेपालका कूटनीतिक निकाय मौन बसेको देखियो।

नेपालमै विपिनको रिहाइका लागि आन्दोलन सुरु भयो। सडकमा युवाहरू नारा घन्काइरहेका थिए ‘सरकार जाग’, ‘हाम्रो छोरालाई फर्काऊ’। किन जनता आफ्नो सरकारविरुद्ध उत्रिए त! यसको कारण थियो विश्वासको कमी। नागरिकले ठाने कि सरकार ढिलो छ, कमजोर छ र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली कूटनीति गर्न असमर्थ छ।

अरब मुलुकहरूसँगको सम्बन्ध र इजरायल
नेपालले परम्परागत रूपमा अरब मुलुकहरूसँग राम्रो सम्बन्ध राख्दै आएको छ। लाखौं नेपाली रोजगारीको सिलसिलामा खाडी मुलुक गएका छन्। यस्तो अवस्थामा इजरायलमा प्रत्यक्ष नेपाल सरकारको उपस्थिति अरब मुलुकहरूसँगको सम्बन्धमा असर पार्छ कि भन्ने चिन्ता पनि गरिएको थियो। तर यथार्थ के हो भने कुनै पनि सार्वभौम राष्ट्रले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्नैपर्छ। त्यसैले विपिनको रिहाइका लागि नेपाल सरकार इजरायलसँग खुलेर कुरा गर्न डराउनु हुँदैन। बरु यो प्रसंगले नेपाललाई सिकाएको कुरा के हो भने, आफ्नो नागरिक सुरक्षित राख्न सक्ने राष्ट्रमात्र विश्वमै सम्मानित हुन्छ।

प्रवासी नेपालीको पीडा र भूमिका
यस घटनाले अर्को यथार्थ उजागर गर्‍यो– विदेशमा रहेका नेपालीहरूको असुरक्षा। लाखौं नेपाली विभिन्न मुलुकमा पसिना बगाइरहेका छन्। उनीहरूको योगदानले नेपालको अर्थतन्त्रलाई धानेको छ। तर जब संकट आउँछ, उनीहरू असुरक्षित महसुस गर्छन्। विपिनको मुद्दामा प्रवासी नेपालीहरूले देखाएको एकता ऐतिहासिक छ। उनीहरूले इजरायलीहरूसँगै आवाज उठाए, आफ्ना सानो समुदायलाई ठूलो शक्तिमा बदलिदिए। प्रवासी नेपाली केवल श्रमिक मात्र होइनन्, उनीहरू नेपालका वास्तविक राजदूत हुन् भन्ने
प्रमाणित भयो।

नेपालले सिक्नुपर्ने पाठ
यो घटनाबाट नेपालले धेरै सिक्नुपर्ने छ। पहिलो, संकट व्यवस्थापनमा सरकार अझ सजग र चाँडो हुनु आवश्यक छ। दोस्रो, कूटनीतिक सम्बन्धलाई केवल कागजमा सीमित नराखी व्यवहारमा सक्रिय बनाउनुपर्छ। तेस्रो, प्रवासी नेपालीको सुरक्षा र अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। चौथो, विश्वका संकटग्रस्त क्षेत्रमा पठाइने कामदार वा विद्यार्थीको सुरक्षाका लागि पूर्वतयारी गर्नुपर्छ।

आउँदो निर्वाचन र जनताको भूमिका
नेपाल आगामी निर्वाचनको तयारीतर्फ अघि बढ्दैछ। यस्तो अवस्थामा विपिन जोशी प्रकरणले जनतालाई एउटा प्रश्न सोधिरहेको छ, ‘तपाईं कसलाई छान्नुहुन्छ ? यस्तो नेतृत्व जसले आफ्ना नागरिकलाई संकटमा छोड्छ वा यस्तो नेतृत्व जसले संसारलाई चुनौती दिएर पनि आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्छ ?’ जनताको विश्वास पुनः प्राप्त गर्न राजनीतिक दलहरूले ठोस काम गरेर देखाउनुपर्ने हुन्छ। केवल भाषण वा वाचा पर्याप्त हुँदैन।

विपिन जोशी आज पनि गाजाको अन्धकारमा छन्। उनको पीडा केवल उनको परिवारको मात्र होइन, सम्पूर्ण नेपाली समाजको पीडा हो। तर यो संघर्षले हामीलाई सिकाएको छ– मानवताको आवाजले सीमाना नाघ्छ। इजरायली नागरिकले नेपालीका लागि आँसु बगाए। नेपाली समुदायले इजरायलीहरूसँग हातेमालो गरे र विश्वभरिका मानिसले न्यायको माग गरे। अब प्रश्न उठ्छ कि नेपाल सरकारले यो आवाजलाई कत्तिको बलियो बनाउँछ ? नागरिकको सुरक्षालाई कत्तिको प्राथमिकता दिन्छ ? विपिन केवल एउटा व्यक्ति मात्र होइनन्। एक राष्ट्रले आफ्ना नागरिकलाई कसरी सम्झनुपर्छ भन्ने विषयका एक प्रतीक हुन् उनी। जबसम्म विपिन स्वतन्त्र भएर आफ्नो घर फर्किदैनन्, यो लडाइँ अधुरो रहनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026