अढाई लाख लगानी, ४ वर्षमै १५ फ्रेन्चाइज : सराेज-बबिता दम्पतीकाे कथा

21 August, 2025

आरती पौडेल

चिया पसल पुगेपछि सबैले सोध्ने एउटै कुरा हो– कस्तो चिया खाने ? कालो चिया कि दूध चिया ? चियाको मेन्युमा यसका अलवा अनेकन स्वाद र फ्लेवर त सहरमा खुलेका नयाँ–नयाँ चिया अड्डाले थपेकै छन् । तर आज हामी तपाईलाईं लैजाँदैछौं– इरानी चियाको दुकानसम्म ।

आउनुस् सुविधानगरस्थित इरानी चियामा जाउँ ।

यसका साहु हुन्, काभ्रे मूल घर भएका ३७ वर्षीय सरोज पौडेल । उनले यो पसल खोलेको ठ्याक्कै ४ वर्ष भयो । सन् २०१५ मा उनले दक्षिण कोरियामा कुलिनरी आर्ट्समा मास्टर्स गरेका थिए । पढाइ सकेपछि उनले त्यहीँको रेस्टुरेन्टमा काम गरे । अनि सन् २०१८ मा नेपाल फर्के । फर्केपछि केही समय उनले कलेजमा पढाउने काम गरे । ३ बजेसम्म त उनी कलेजमै व्यस्त हुन्थे । तर त्यसपछिको फुर्सदको समय के गर्ने भन्ने उनलाई भयो । यही फुर्सदको समयमा के गर्ने भन्दा–भन्दै उनी चिया पसल खोल्ने योजनामा पुगे ।

कोरिया जानुअघि उनी भारतमा काम गर्थे । त्यहाँ छँदा नै उनले इरानी चियाबारे सुनेका थिए । उनले भारतमा इरानी चियालाई हैदरबादी दम चिया पनि भन्ने गरेको बताउँदै त्यही पुरानो स्वाद सम्झेर आफूले इरानी चिया खोलेको सुनाए ।

काठमाडौंको नरेफाँटमा साढे २ लाख लगानीमा उनले चिया पसल खोलेका थिए । नयाँ स्वाद र शैलीको चिया मान्छेहरुले रुचाउलान् कि नरुचाउलान् भन्नेमा उनलाई सुरुमा शंका थियो । उनले सुनाए, ‘पसल सुरु गरेको केही दिन बाटोमा हिँड्ने पैदलयात्रीलाईसमेत बोलाएर चियाको स्वाद चखाएँ ।’ सरोजको नयाँ व्यवसायमा उनकी श्रीमती बबिताले पनि साथ दिइन् । बैंकमा काम गर्ने बबिताले चिया पसलका निम्ति जागिर छाडिन् । सुरुवाती दिनमा बैंकको जागिर छाडेर चिया पसलमा भाडा माझ्न आएको भन्नेसम्मका प्रतिक्रिया आए । कतिले भने पनि– चिया बेचेर १२ हजार सटरको भाडा तिर्न सकिन्छ र ? यस्ता सबै कुरालाई पचाएर सरोज र बबिताले चियाको स्वादमा निखार ल्याउन लागिरहे । पार्टटाइम काम गर्ने भनेका सरोज बरु शिक्षण पेसा नै छाडेर पूरै समय चिया पसलमा दिन थाले ।

विस्तारै–विस्तारै चियाका पारखीहरुको संख्या बढ्दै गयो । सरोजले सुरुवाती दिन सम्झिँदै सुनाए, ‘बिहान ५ बजेदेखि बेलुका ९/१० बजेसम्म खटिनुपर्दा गाह्रो नै भयो । तर पैसाको मामलामा दु:ख भने भएन ।’ चिया पारखीहरुको संख्या यसरी बढ्दै गयो कि सरोजले अर्को शाखा नखोली धरै पाएनन् । ८ महिनामै उनले नरेफाँटमै अर्को आउटलेट खोले ।

चिया पसल पनि के चल्ला र ? भन्नेहरुले विस्तारै उनको तारिफ गर्न थाले । अनि केही नयाँ लगानीकर्ताहरुले उनीसँग फ्रेन्चाइज पनि माग्न आए । त्यसपछि सरोज र बबिताले फ्रेन्चाइज किन्नेहरुलाई तालिम दिन सुरु गरे । उनले सुनाए, ‘सबै आउटलेटमा एउटै स्वाद होस् भनेर हामीले तालिम दिएको हो ।’

सुविधानगरमा र कोटेश्वरमा सरोजको आफ्नै लगानीको इरानी चिया छ । अन्य १५ स्थानमा भने फ्रेन्चाइज छ । सबै आउटलेटमा जडीबुटीस्थित सेन्ट्रल किचनबाट तयार पारिएको दूध र मसला जान्छ । उनले सुनाए, ‘५ देखि ६ घन्टा चियाको लागि दूध तयार गर्न लाग्छ । १३० लिटर दूध एकचोटिमा पकायौँ भने उमाल्दा ७० लिटर हुन्छ । कुलडाउन गरी फ्रिजिङ गरेपछि सबै फ्रेन्चाइजहरुमा पठाइन्छ ।’

हामीले दैनन्दिन खाने चियोभन्दा यो कति फरक छ त ? सरोजले बुझाउँदै भने, ‘इरानी चिया पकाउँदा दूधलाई धेरै नै बेर पकाउनुपर्छ । ५० लिटर दूध छ भने त्यो पकाउँदा २५ लिटरसम्म हुने गर्छ । चियापत्तिलाई फरक भाँडोमा उमाल्नुपर्छ । यसरी पकाएको चिया निकै नै बाक्लो हुन्छ, चिनीको प्रयोग पनि गर्न पर्दैन, दूध धेरै पकाएको भएर त्यो यसै गुलियो हुन्छ ।’

९० रुपैयाँ कपमा इरानी चिया बेचिरहेका सरोजले इरानी चिया धेरै प्रकारका हुने बताए । उनले भने, ‘१९५० देखि ६० को दशकमा इरानीहरुले कसरी चिया पकाउँथे त्यो रेसिपीलाई नै हामीले फलो गरेका हौँ । अहिलेको धेरै प्रकारका आइसके तर पुरानो शैलीलाई नै पछ्याएका छौँ ।’

उनीकहाँ इरानी चियापछि धेरैको रोजाइमा मसला चिया पर्छ । उनले ४० रुपैयाँ पर्ने मसला चियामा आफैँले तयार पारेको १५ प्रकारका मसला मिसाइने उनले बताए । उनीकहाँ ७५ रुपैयाँ कप पर्ने कडक चिया पनि धेरैले रुचाउँछन् । हाँडी चिया, प्रिमियम चिया, रेगुलर चिया, रोजमेरी चिया जस्ता १२ स्वादका चिया बेचिरहेका सरोजले इरानी चियाको बेग्लै क्रेज रहेको बताए ।

सानो लगानीबाट सुरु गरेको व्यवसाय फैलिएको देखेर र धेरैभन्दा धेरै स्वाद पारखीको रोजाइमा परेको देखेर सरोज खुसी छन् । उनले उज्यालो अनुहार पारेर सुनाए, ‘आफूसँग के गर्न सक्ने क्षमता छ त्यसलाई थाहा पाउनसके नेपालमै पैसा कमाउन सकिन्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024