संयुक्त राज्य अमेरिकाले देशनिकाला (डिपोर्ट) गरेका घटनाहरू दिनदिनै समाचार बनिरहेका छन्। अवैध रूपमा अमेरिका छिर्नु जोखिमपूर्ण भए पनि सयौं नेपालीले लाखौं रकम खर्चेर ‘तल्लो बाटो’बाट अमेरिका पुगेका र डिपोर्ट भएका छन्। अमेरिकामै बस्न पाउने कतिपय नेपालीको जीवन उज्यालो भएको छ भने धेरैको जीवन उजाडिएको पनि छ। अहिले तल्लो बाटो मात्रै नभएर वैधानिक तवरले गएका नेपाली पनि त्यहाँ अवैध रूपले बस्दा नेपाल फर्किनुपरेको छ।
विशेष गरी पश्चिम नेपालका दाङ र रुकुम (पूर्व र पश्चिम) मा तल्लो बाटो हुँदै अमेरिका छिर्ने होडबाजी चलेको छ। त्यसले गर्दा सबैभन्दा बढी फाइदा मानव तस्करी गर्नेलाई भएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार अमेरिकाबाट हालसम्म डिपोर्ट भएको संख्या चार सय ६८ रहेको छ। त्यसरी फर्किनेमा दाङका एक युवक पनि हुन्। उनी प्रलोभनमा परेर विभिन्न देश हुँदै अमेरिका पुगेका थिए। तर अमेरिका पुगेको केही समयमै उनलाई नेपाल फिर्ता गरियो।
अमेरिका पुग्ने सपना बोकेका उनले तल्लो बाटो हुँदै जाँदा मेक्सिकोमा बन्धकसमेत हुनुपरेको थियो। लाखौं रकम जम्मा गरेर अमेरिकामा पाइला हालेका ती युवक जेलमा पुगे। अमेरिका पुगेको वर्ष दिन नपुग्दै उनलाई नेपाल फर्काइयो। उनी घर फर्किए तर उनको पैसा फर्किएन।
कुनै बेला नेपालमै काम गरेर जीविकोपार्जनमा व्यस्त भएका उनको सपना अमेरिका जाने थिएन् तर समय र परिस्थितिले उनलाई त्यतैको बाटोतिर डोर्यायो। ६ जनाको परिवारका जेठा छोरा उनले कक्षा १२ उत्तीर्ण गरेका थिए। कमजोर आर्थिक अवस्थाका कारण उनको काँधमा परिवारको ठुलो जिम्मेवारी थियो। गाउँमै सञ्चालित किराना पसलका शेरबहादुर ओलीले ती युवकका पितालाई भनेका थिए, ‘तपाईंको छोरो कहाँ छ ? मसँग एउटा सुनौलो अवसर छ, पानामा भन्ने देशमा १४ दिनको तालिमको कार्यक्रम छ, तपाईंको छोरालाई पठाउनुपर्यो, १२ जनाको मात्रै कोटा छ। त्यहाँबाट अमेरिका पुगिन्छ। अमेरिका गएपछि महिनाको ६–७ लाख कमाइ हुन्छ, छोरा पठाइहाल्नुस्। नागरिकता बनाएको छ कि छैन?’
अमेरिकाको प्रलोभन देखाएका पसले शेरबहादुरलाई ती युवकका पिताले जवाफमा दिए, ‘खै, हामी त नपढेको मान्छे, के कसो हो, जान्दैनौं तर बाबुको नागरिकता बनाउन बाँकी छ।’ युवकका पिताको जवाफ भुइँमा नखस्दै शेरबहादुरले भने, ‘यस्तो सुनौलो अवसर नछोड्नुस्। बरु नागरिकता बनाउन म आफैं पैसा हाल्दिन्छु।’
छोरालाई ससाना देशमा पठाउनसमेत गाह्रो भएका बेला अमेरिकाजस्तो ठुलो देशको अवसर आउँदा ती युवकका पिता खुसी हुँदै घरसल्लाहतिर लाग्छन् तर अमेरिका पठाउन लाखौं खर्च हुने डरले परिवारजन कोही पनि अघि सर्दैनन्। किराना पसलमा सामान लिन जाने क्रममा युवकका पितालाई शेरबहादुर अमेरिका जान पछि नपर्नू भन्दै यावत् आश्वासन दिइरहन्छन्। ‘अमेरिका जान ६० लाख रुपैयाँ लाग्ने हो। बरु पैसा पुगेन भने आधा म आफैं हालिदिन्छु। दुई छोरामध्ये एकलाई जसरी भए पनि अमेरिका पुर्याउनुपर्छ,’ शेरबहादुर भन्छन्।
यसरी पटकपटक छोरालाई अमेरिका पठाइदिनू भन्दै ती युवकको घरमा समेत शेरबहादुर जान थाल्छन्।
छोराछोरीको भविष्य उज्ज्वल देख्ने सपना हरेक बाबुआमाको हुन्छ। त्यही छोराको भविष्य उज्ज्वल बनाउन युवकका पिता परिवारलाई सम्झाउँछन्। ती युवक पनि शेरबहादुरलाई सुन्छन्, ‘बाबु ढिलोमा तीन महिनामै अमेरिका पुगिन्छ। त्यो जाबो नागरिकता र पासपोर्ट मात्रै बनाउने काम हो। पैसा जम्मा गर्दै गर्नू। म अरू काम गर्छु। त्यहाँ टन्नै पैसा कमाइन्छ। तिम्रो भविष्य राम्रो छ। कलाकारको तालिम हो। त्यो ग्रुपमा तिमीलाई सहभागी गराएर अमेरिका छिराउने हो।’
यसरी शेरबहादुरको कुरामा ती युवक पनि पिताजस्तै मक्ख पर्छन्। अमेरिका सहजै जान सकिने सोचले २०८० भदौमा ती युवकको परिवारले शेरबहादुरलाई १० लाख रुपैयाँ बुझाउँछ।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका ती युवक आफूलाई पाँच महिनासम्म झुलाउँदा शेरबहादुरले बेलाबेलामा सम्झाएको यसरी स्मरण गर्छन्, ‘तिमीले १० लाख दिएको पाँच महिना त भयो। बिस्तारै काम हुन्छ। यो काम भनेको जतिबेला पनि हुन सक्छ। नाम रजिस्टर भइसकेको छ। सायद अब चाँडै होला। बरु अरू पैसा पनि जम्मा गर्दै गर्नू। त्यति पैसाले त कहाँ अमेरिका पुगिन्छ!’
शेरबहादुरका विभिन्न प्रलोभनमा ती युवकको परिवार पग्लिँदै जान्छ। विभिन्न समयमा लाखौं रुपैयाँ शेरबहादुरलाई बुझाएपछि ती युवक शशीराम रावतका साथमा दुबई जाने तरखरमा लाग्छन्। ‘दुबईबाट फ्लाइट छ। पाँच हजार पाँच सय डलर चाहिन्छ। त्यो पैसा तयार गराउनू। भारतको नयाँ दिल्ली हुँदै दुबई जाने हो। तर कसैले सोधे दुबईको बुर्ज खलिफा घुम्न जाने हो भन्नू नि!’ ती युवक शेरबहादुरले सिकाएअनुसार नै अघि बढ्छन्।
परिवारजनले युवक अमेरिका पुग्ने सपना पालेर सम्पत्ति धितो राख्ने र आफन्तसँग ऋण लिने काम गरिरहेका थिए। दुबई पुगेको केही समयमै युवाको साथमा भएको पैसा शशीराम रावतले लिन्छन्। ‘केही दिनमा फ्लाइट हुन्छ। मैले होटेल भनेको छु, त्यहीँ बस्नू। यहाँ पैसा चोरी हुन सक्छ, तिमीसँग भएको पैसा मलाई दिनू,’ आफ्नो साथमा भएको पैसा सबै शशीरामले लिएपछि अरू पैसा पनि जोहो गरेर शेरबहादुरलाई दिन आग्रह गरेको सम्झँदै उनले ब्युरोलाई बताए। विभिन्न मितिमा आठ लाख, दुई लाख, चार लाख, तीन लाख, १० लाख रुपैयाँ गर्दै अरू पैसा पनि बुझाउँदै गर्दा ती युवा विभिन्न देश हुँदै अमेरिका छिर्दै थिए।
दुबईबाट मोरक्को, स्पेन, चिली, ब्राजिल, बोलिभिया यात्रा हुँदै पेरु पुगेको उनी सम्झन्छन्। ‘त्यहाँसम्म पुग्दा हामीले धेरै दुःख पाइसकेका थियौं। विभिन्न एजेन्टले पैसा माग्ने गर्थे। उनीहरूले कहिले हातैमा त कहिले बैंक खातामा पैसा हाल्न लगाउँथें। उनीहरूले भनेको नमान्दा साथीहरू अघि लागिसकेका हुन्थे भने आफू पछि नै परिन्थ्यो,’ उनले भने।
विदेश जाने सपना पनि नबुनेका ती युवकले अमेरिका जाने प्रलोभनमा परेर एजेन्टलाई लाखौंको रकम बुझाएको पीडा ब्युरोलाई पोख्दै भने, ‘अमेरिकाको कुरा नआउँदा साथमा हजार रुपैयाँ हुन पनि गाह्रो हुन्थ्यो। कमै पैसाले अमेरिका पुग्ने सपनाले धेरै पैसा डुब्यो। आधा बाटोमा पुगेपछि लिएको ऋणको झलझली याद आउँथ्यो। घर फर्किने कुरा त मनमै आउँदैनथ्यो, किनकि ऋण लिएको पैसाले मन भतभती पोल्थ्यो।’
एजेन्टले ऋणमाथि ऋण थुपार्दै उनलाई कोलम्बियाबाट पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुर्यायो। एजेन्टले ती युवकसँग पैसाको बोट भएझैं ६ लाख, दुई लाख, चार लाख, सात लाख गर्दै पैसा झारिरहे। उनी भने अमेरिका पुग्ने सपनाले गाउँभरि ऋण लिन लिन लगाउँदै पैसा मगाउँदै एजेन्टलाई बुझाउँदै जान्छन्। त्यसरी लाखौं रकम बुझाए पनि उनी अमेरिका पुग्ने क्रममा पैसा नपुएको भन्दै ११ दिनसम्म बन्धक बन्नुपरेको बताउँछन्।
‘एजेन्टलाई पैसा दिन ढिला भएको भन्दै कोठामा बन्द गरिदिए। फेरि मैले गाउँमा छरछिमेकलाई अमेरिका पुग्नै लागे मलाई केही रकमको आवश्यकता पर्यो भन्दै पैसा मागेर एजेन्टलाई बुझाएपछि रातको समयमा मेक्सिको बोर्डबाट अमेरिका पुर्याए।’ तर विडम्बना! त्यसरी दुख कष्ट गरेर अमेरिका पुगेका ती युवकको हातमा हतकडी लगाइयो। त्यसपछि उनी झन् मरेतुल्य भए।
‘अमेरिकामा पाइला पर्दा धेरै खुसी थिएँ। त्यहाँ पुग्नेबित्तिकै अब सबै ऋण तिर्छु भन्ने आँट आएको थियो तर भाग्यले साथ दिएन। अमेरिका छिर्नेबित्तिकै मेरो हातमा हतकडी लगाइदियो,’ उनले भने, ‘आँखाबाट बरबरी आँसुको धारा झरे तर प्रहरीले हतकडी खोलेनन्।’
त्यसरी अमेरिका पुगेका ती युवक पक्राउपछि सात महिना जेल परे। अवैध रूपमा अमेरिका आएको भन्दै उनी गत वैशाख २९ गते इन्डियन एयरलाइन्समार्फत हतकडी लगाएकै अवस्थामा नेपाल डिपोर्ट भएका हुन्। मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मानव तस्करीको कार्य भएकाले उनी ब्युरोमा जाहेरी दिन पुगेका थिए। उनले विभिन्न मिति गरेर शेरबहादुरलगायत अन्य एजेन्टलाई दिएको ८२ लाख साठी हजार रुपैयाँ ठगी भएको भन्दै ब्युरोमा जाहेरी दिएका हुन्।
अमेरिकामा डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि मात्रै दुई सय ४३ जना नेपाली डिपोर्ट भइसकेका छन्। ट्रम्प प्रशासनले कागजविहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई अमेरिकी सरकारले खोजीखोजी डिपोर्ट गर्दै आएको हो। ब्युरोका प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार कानुनविपरीत अमेरिका प्रवेश गर्नेमा रुकुम पहिलो र दाङ दोस्रो स्थानमा छन्। ४५ देखि एक करोड रुपैयाँसम्म लिएर अमेरिका पुर्याउने सपना बाँड्ने र अलपत्र पार्दै घरबाट रकम लिने एजेन्टहरूको नियत रहेको उनी बताउँछन्।
‘अमेरिका पुर्याउने खेलमा अत्यन्तै ठुलो र संगठित समूहको जालो छ,’ उनले भने, ‘अवैधानिक रूपमा अमेरिका जाने र लाने सहमति हुनु मानव तस्करी हो। गरिबी, बेरोजगार, गन्तव्य देशको आकर्षण र छिमेकी तथा साथीभाइको लहलहै मानव तस्करका कारक तत्त्व हुन्।’