दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

15 October, 2025

चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो।

गत भदौ महिनामा मात्र एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ‘ट्रान्सफर’ तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो। गत साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026