विपीनका साथी भन्छन्- ‘विपिनले हामीलाई जोगायो, आफू गयो’

14 October, 2025

समाचारहरू सुनेर स्तब्ध छु, असाध्यै पीडामा छु । शब्द नै फुटिरहेको छैन । विपिन र म असाध्यै मिल्ने साथी थियौं । यहाँ र इजरायलमा पनि एउटै बेञ्चमा बस्थ्यौं । त्यहाँ पनि सँगै थियौं । विपिन र मेरो काम अलग–अलग फार्ममा भए पनि खाने र बस्ने एउटै ठाउँ थियो । किबजु अलुमिम भन्ने ठाउँ हो । त्यहाँ पनि सँगै खेल्ने, रमाइलो गर्ने गर्थ्यौं । कमाइ पनि हुन्थ्यो । दुई दिनअघि फुटबल मैदानमा बसेर हामी दुई जनाले भविष्यका मिठामिठा सपनाहरू बुन्दै गफिएका थियौं ।

हिजोसम्म त विपिन जीवितै होलान् भन्ने आशा र प्रार्थना थियो । आज दुःखद खबर सुनेर त असाध्यै पीडा भइरहेको छ । मेरो मनले अहिलेसम्म पत्याइरहेको छैन ।

त्यो दिन बिहानीपख ६ बजेतिरको समय थियो । २०८० असोज २० गते (अक्टोबर ७, २०२३) शनिबारको दिन भएकाले बिदा थियो त्यो दिन । सुतिरहेकै थियौं । माथिमाथि मिसाइलहरू गइरहेका थिए । मिसाइल धेरै संख्यामा ओहोरदोहोर हुन थालेपछि हामी बसेको कोठाको नजिकै रहेको बंकरभित्र पस्यौं । सबैजना गरेर १७ जना नेपाली साथीहरू थियौं । विपिन पनि थिए ।

करिब एक घण्टापछि बंकरको ढोकानिरै हमासहरू आइपुगेछन् । गोली प्रहार हुन थाल्यो । हामीसँगै भएका दुई जना साथीहरू दार्चुलका दीपेशराज बिष्ट र गणेश नेपालीले ‘वी आर नेप्लिज’ भने तर सुनुवाइ नभएर ती साथीमाथि गोली दागियो । दुवै जना ढले । त्यसपछि हामीहरू आत्तियौं । बंकरको कुनामा लुक्ने प्रयास गर्दै थियौं । त्यही बेला हमासले दुई वटा ग्रिनेड हामी भएको बंकरमा फ्याँके । त्यही बेला एउटा ग्रिनेड विपिनले टिपेर बाहिर फ्याँक्यो । एउटा त्यही पडयो । मसहित ५ जना सख्त घाइते भयौं । त्यसबेलासम्म विपिन घाइते भएका थिएनन् ।

त्यसपछि विपिनलगायत घाइते नभएका १० जनालाई प्रहरी आएर अर्को बंकरमा लिएर गए । हामी घाइतेहरूमध्ये म घिस्रेर कोठाभित्र खाटमुनि लुकेर बसें । त्यस बेलासम्म ९ बजेको थियो । प्रहरीले विपिन जोशीलगायत १० जनालाई लिएर गएपछि मेरो पनि कसैसँगै पनि सम्पर्क भएन ।

पछि प्रहरीमाथि पनि हमला भएको सुनें । त्यस क्रममा प्रहरीले उनीहरूलाई बंकरमै छाडेर छिन्नभिन्न भएछन् । १० जनामध्ये विपिन बेपत्ता भए । अन्य आशिष चौधरी, राजन फुलारा, प्रदेश भण्डारी, पदम थापा र राजेशकुमार स्वर्णाकारसहित पाँच जनाको मृत्यु भयो । वीरेन्द्र चौधरी, हिमाञ्चल कटेल, प्रवीन डाँगी र प्रमोद केसी चार जना भने सकुशल रहेछन् । प्रमोद केसी नेपाल फर्केर हाल क्यानडामा छन् । वीरेन्द्र, हिमाञ्चल, प्रवीन इजरायलमै अहिले पनि अध्ययनरत छन् । म भने फर्किनँ । यतै उपचार गरें । अहिले त्रिभुवन विश्वविद्यालयमा एमएस्सी एजी अध्ययनरत छु ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024