भिजिट भिसामा दुबई जान नेपालीलाई रोक

18 September, 2025

दुबईले नेपालीलाई भिजिट (भ्रमण) भिसामा आउन पूर्ण रूपमा बन्द गरेको छ।

यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो।

संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छाडेको शुभयात्रा ट्राभल्स एन्ड टुर्सका सञ्चालक प्रदिप अधिकारीले सेतोपाटीलाई बताए।

‘आइतबारसम्म नेपालीका लागि कोलम राखिएको थियो। त्यो दिन भिसा आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको थियो। भारतीयहरूको भने भिसा आयो,’ अधिकारीले भने, ‘भिसा दिन रोक लगाइएकोबारे कुनै कारण देखाइएको छैन। तर अहिले नेपालीले आवेदन नै दिन पाउँदैनन्।’

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए। उनले अहिलेको निर्णय केही समयका लागि हुन सक्ने बताए।

दुबईले नेपालीलाई डिसेम्बरदेखि नै भिसा दिन बन्द जस्तै गरेको थियो। भिसा पाउने सम्भावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए।

युएईको जुन राज्यका लागि भिसा लिए पनि सबै राज्य घुम्न पाइने भएकाले सहज भएको थियो। अब भने युएईकै लागि भिसा बन्द गरिएको शुभयात्राका सञ्चालक अधिकारीले बताए।

युएईले भिसा बन्द गर्नुको पछाडि केही कारण रहेको बताइएको छ।

पहिलो – नेपालीहरू भिजिट भिसामा जाने अनि उतै काम खोजेर बस्ने गरेको।

दोस्रो – भिजिट भिसामा गएर उतै गैरकानुनी तरिकाले बस्ने गरेको र यसलाई युएईले सुरक्षा चुनौतीका रूपमा लिएको।

तेस्रो – युएईलाई ट्रान्जिट बनाएर युरोप, अमेरिका जाने गरिएको। सोही क्रममा थुप्रै नेपालीहरू ठगिएका समेत छन्।

चौथो – भदौ २४ गतेको प्रदर्शनका कारण जेलबाट कैदीबन्दी भागेको र युएई आउन सक्ने भनेर।

‘वार्षिक ५० हजारभन्दा धेरै नेपाली युएई जान्थे। अब त सिधै हाम्रो व्यवसायमा असर परेको छ,’ उनले भने, ‘अब नेपाली घुम्न जाने समय सुरू भएको थियो। यही समयमा भिसामा रोक लगाएपछि हामी मर्कामा परेका छौं।’

अहिले युएईमा ८ लाख हाराहारीमा नेपाली भएको अनुमान छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024