कञ्चनपुर — दसैं नजिकिँदै गर्दा घर फर्किने हतारोका कारण काम सक्ने चटारोमा थिए सिमलामा स्याउ टिप्न पुगेका नेपाली कामदारहरु ।
एक/डेढ सातामै स्याउ टिप्ने, ढुवानी गर्ने र ग्रेडिङको काम सकेर घर फर्किने योजना बनाएका नेपाली कामदारको सोमबार बिहान सिमलाको कोटखाई उपमण्डलको रामनगर क्षेत्रमा पर्ने खोलामा जिप दुर्घटनामा मृत्यु भयो ।
सल्यानको कुमाख गाउँपालिका-४ बस्नेतज्यूलाका एउटै परिवारका ३ सहित ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही, २४ वर्षीय लक्ष्मी शाही र ३७ वर्षीय राजेश विष्ट रहेका छन् । घाइते हुनेमा नेपबहादुर शाही, साजन शाही र हेमन्त शाही रहेका छन् । उनीहरु सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् ।
सोमबार बिहान जिपमा चढेर नेपाली कामदारहरु स्याउ ढुवानीका लागि रामनगरबाट बारी भएको क्षेत्र खोलातिर गइरहेका थिए । मृतक लक्ष्मी र चालक जोगेन्द्रसिंह डोगरा (स्याउ फार्मका मालिक, उनको पनि दुर्घटनामा मृत्यु भएको छ) गाडीभित्र थिए । अन्य ६ जना नेपाली कामदारहरु जिपको छतमा बसेका थिए । घुम्तीमा अगाडिबाट आएको कारलाई साइड दिन ब्याक गर्ने क्रममा नेपाली कामदार चढेको जिप पल्टिएर दुर्घटना भएको हो ।
‘हामीले त तलतिरको सडकमा पछारिएपछि मात्रै थाहा पायौं,’ दुर्घटनामा पनि घाइते भएका नेपबहादुर शाहीले भने, ‘गाडी ब्याक गर्ने क्रममा के भयो के भयो केही थाहा भएन ।’ उनका अनुसार लक्ष्मी, एकेन्द्र र राजेशको घटनास्थलमै र डिल्लीको सिमलास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोटखाई प्रहरीका अनुसार घुम्तीमा अनियन्त्रित भएर जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार एक पटक बारीबाट ल्याएका स्याउका क्रेट खाली गरेर जिप फेरि बारीतर्फ गइरहेको थियो । जिपको पछाडि खाली क्रेटहरु भएका कारण कामदारहरु छतमा बसेका थिए ।
दुर्घटनामा परी घाइते भएका साजन र मृतक लक्ष्मी दम्पती हुन् । उनीहरु दुई वर्षदेखि सोही क्षेत्रमा काम सिजन अनुसार स्याउ टिप्नेदेखि गोडमेललगायतका काम गरिरहेका थिए । अन्य भने एक महिनाअघि रामनगर पुगेका हुन् । ‘हामीहरु सिमलाकै अन्नी बजार भन्ने ठाउँमा पानी ट्यांकी मर्मतदेखि पाइप जडानको काम गर्थ्यौं,’ शाहीले भने, ‘त्यो काम पाउन छाडेपछि स्याउ ढुवानीको काममा आएका हौं, एक महिना मात्रै भएको थियो, यस्तो दुर्घटना भयो ।’ दुर्घटनालगत्तै उद्धार गरेर कोटखाईस्थित अस्पताल लगिएको उनले बताए ।
शाहीका अनुसार घटनास्थलमै मृत्यु भएका लक्ष्मी, एकेन्द्र र राजेशको कोटखाइ अस्पतालमै पोष्टमार्टम गरेर शव घर ल्याउन लागिएको छ । उनीहरु मंगलबार दिउँसो सिमलाबाट हिँड्ने तयारीमा छन् । उपचारका क्रममा मृत्यु भएका डिल्लीको शव सिमला अस्पतालमै रहेको र उनको पोष्टमार्टमको तयारी भइरहेको शाहीले बताए । पोष्टमार्टम पछि उनको पनि शव घरतर्फ ल्याइने उनले बताए ।
दुर्घटनामा परी स्याउ फार्मको मालिक जोगेन्द्रको पनि मृत्यु भएका कराण ज्यालासमेत नपाएको शाहीले बताए । मालिकका अन्य भाइहरु पनि छन् । उनीहरुले अन्तिम संस्कारलगायतको काम सकेर आएपछि ज्याला उपलब्ध गराउने आश्वासन दिएको शाहीले बताए ।
भारतको हिमाञ्चल प्रदेशको सिमलामा साउनदेखि नै स्याउ टिप्ने चटारो सुरु हुन्छ । यो दसैं तिहारसम्मै चल्छ । स्याउ टिप्ने काम कतै असोज सुरुमै सकिन्छ भने कतै कात्तिकसम्मै चल्छ । स्याउ टिप्ने, ढुवानी गर्ने र ग्रेडिङलगायतको काममा नेपाली कामदार ठूलो संख्यामा सिमलाका विभिन्न क्षेत्रमा पुग्छन् ।
सिमलाबाट ६० किलोमिटर दूरीमा रहेको कोटखाई उमपण्डलअन्तर्गत रामनगर क्षेत्रमा पनि अहिले स्याउ टिप्ने काम अन्तिमतिर थियो । परिवारसँगै दसैं मनाउने योजना बनाएकाहरुको अब शव घर आउँदैछ ।
भारतको हिमाञ्चल र उत्तराखण्डमा बर्सेनि प्राकृतिक प्रकोप र सडक दुर्घटनामा ठूलो संख्यामा नेपाली कामदारहरुले ज्यान गुमाइरहेका छन् । अदक्ष कामदारका रुपमा हिमाञ्चल र उत्तराखण्डको उच्च पहाडी भेगमा पुग्ने नेपालीहरुले जोखिमपूर्ण क्षेत्रमा काम गर्ने गरेका छन् । यसका लागि उनीहरुलाई सुरक्षाका कुनै तालिम तथा उपकरण समेत उपलब्ध हुँदैन ।
एक महिनाअघि मात्रै भारत उत्तराखण्डको उत्तरकाशीं जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीमा क्लाउड ब्रष्टपछि आएको बाढीमा परेर २१ जना नेपाली बेपत्ता भएका थिए । उनीहरुको हालसम्म कुनै अत्तोपत्तो छैन । बेपत्ता मात्रै होइन जेनतेन ज्यान जोगाएकाहरुको कपडादेखि मजदुरी गरेको ज्यालासमेत बाढीमै बिलायो । उनीहरु सहयोग संकलन गरेर घर फर्किए । साउन तेस्रो हप्ता नै उत्तराखण्डकै पौडी गढवाल जिल्लाको बंकुरामा पनि क्लाउड ब्रष्टपछि पहिरो जाँदा सडक निर्माणमा खटिएका ५ जना नेपाली कामदार बेपत्ता भएका थिए ।