काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने प्युठानको नौबहिनी गाउँपालिका-१ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापाको बुद्धशान्ति गाउँपालिका-२ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र ललितपुरको महालक्ष्मी नगरपालिका-३ बस्ने महोत्तरी गौशाला नगरपालिका-९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन्।
पक्राउमध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रुपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रुपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट बिहीबार तथा निकेशलाई ललितपुर महानगरपालिका-१५ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।