२५ हजार दिएर लाओस पुर्‍याए, हेरोइनको झोला बोकाएर नेपाल फर्काए

11 August, 2025

अजवी पौड्याल

काठमाडौं : भारत उत्तर प्रदेशका ३५ वर्षीय फिरोज अहमद घर तथा बाटोघाटो निर्माणमा मजदुरीको काम गर्ने गर्थे । जौनपुरमै बसेर मजदुरी गरेका उनलाई चिनेजानेकै मध्ये कसैले लाओसमा घर बनाउने काम पाइन्छ, निकै पैसा कमाइन्छ भन्दै प्रलोभन देखाए ।

२५ हजार भारु, प्लेन टिकट दिएर लाओस पुर्‍याए । त्यहाँ गएर फिरोज केही दिन त्यसै बसे । भने जस्तो काम नभएपछि लैजाने व्यक्तिले नै फर्कंदा नेपालको बाटो हुँदै जान आग्रह गरे । साथमा एउटा झोला थमाइदिए । यो झोला काठमाडौंमा दिनु भन्दै उनलाई फकाए । उक्त झोलामा ४ किलो सेतो हेरोइन राखिएको थियो ।

यस्तै, भारतको इरोद घर भएका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेल तालिमनाडुमा इलेक्ट्रिसियनको काम गर्थे । उनलाई पनि प्रशस्त कमाइ हुने प्रलोभन देखाएर छिमेकीले लाओस पुर्‍याए । लाओसबाट फर्कने झोलामा सेतो हेरोइन बोकाएर पठाए । फिरोज र मौलेश्वर दुवैजना हाल नेपाल प्रहरीको नियन्त्रणमा छन् । उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन कसुरमा अनुसन्धान भइरहेको छ ।

७ किलो ८०० ग्राम अवैध लागुऔषध सेतो हेरोइनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । यही साउन १७ र १८ गते लाओसबाट बैंकक हुँदै काठमाडौं आएका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण कोइरालाका अनुसार यही साउन १७ गते लाओसबाट बैंकक हुँदै काठमाडौं आएका भारतको उत्तर प्रदेश, जौनपुर ठेगाना भएका ३५ वर्षीय फिरोज अहमद पक्राउ परेका हुन् । उनको साथबाट ४ किलो सेतो हेरोइन बरामद भएको हो ।

साउन १८ गते, लाओसबाट बैंकक हुँदै काठमाडौं आएका भारतको इरोद, तामिलनाडु ठेगाना भएका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेल पनि पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले ३ किलो ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख कोइराला भन्छन्,‘उनीहरूलाई त्रिभुवन विमानस्थलको गौचरणको अराइभल एरियाबाट नियन्त्रणमा लिइएको हो । चक्लेटको प्याकेटमा सेतो हेरोइन प्याक गरेर ल्याएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुईजना एक अर्काको चिनजानमा छैनन् । तर, उनीहरूलाई लागुऔषध बोकाएर पठाउने नाइके भने एउटै भएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थलमार्ग हुँदै नेपालबाट भारत पठाउने योजनामा ल्याइएको लागुऔषध प्रहरीको विशेष सुरक्षा निगरानीमा ल्याइएको थियो ।

पक्राउ परेका दुवैजना विदेशी नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को कसुरमा अनुसन्धान अघि बढेको छ । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024