साउदीको कानुन उलङ्घन गर्ने २२  हजार आप्रवासी पक्राउ

28 July, 2025

विष्णु घिमिरे

साउदी : साउदी सरकारले एक हप्ताभित्र विभिन्न क्षेत्रमा आवद्ध २२ हजार ४०० जना आप्रवासीलाई पक्राउ गरेको छ । सरकारको संयुक्त क्षेत्रीय अभियानको क्रममा साउदी अधिकारीहरूले राज्यभरि बसोबास गरी श्रम र सीमा सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो ।

सरकारले आवास नियमहरू उल्लङ्घन गरेको आरोपमा १३ हजार ८००, सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा ५ हजार २०० र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ३ हजार ४०० जनालाई हिरासतमा लिएको छ ।

सरकारको आन्तरिक मन्त्रालयको विज्ञप्ति अनुसार १ हजार ६८७ जनाहरू गैरकानुनीरूपमा साउदी अरबमा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका हुन्। जसमध्ये ३८५ यमनी , ६१५ इथियोपियाली र १५ अन्य देशका रहेका छन् ।

साथै ४० जनालाई अवैध रूपमा विभिन्न राज्यबाट बाहिर निस्कने प्रयास गरेको आरोपमा पक्राउ गरिनुको साथै १५ जनालाई अवैध काममा संलग्न भएको आरोपमा हिरासतमा राखिएको हो । साउदीमा हाल १८ हजार ३०० उल्लङ्घन गर्नेहरू प्रवर्तन प्रक्रियाबाट गुज्रिरहेका छन्, जसमा १५ हजार ७०० पुरुष र २५ सय महिला समावेश छन्।

साउदी गजडका अनुसार ११ हजार जना देश निकाला भएका छन् भने थप ११ हजारलाई यात्रा कागजात प्रशोधनका लागि कूटनीतिक नियोगहरूमा पठाइएको छ र ३२ सय जनालाई उडान व्यवस्थाको पर्खाइमा राखिएको जनाएको छ ।

अवैधानिक क्रियाकलापमा आबद्ध रहेर काम गर्ने अपराधहरूलाई प्रमुख अपराध मानिने भएकाले सरकारलाई हटलाइन नम्बरहरूमा रिपोर्ट गर्न आग्रह गर्दै आएको छ। रिपोर्टका लागि मक्का, रियाद र पूर्वी प्रान्तमा ९११, र बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बर समेत उपलब्ध गराएको छ ।

ठूलो संख्यामा आप्रवासी पक्राउ परेपछि नेपाली राजदूत डा.नरेश विक्रम ढकालले साउदीमा कार्यरत नेपालीलाई साउदीको नियम कानुनमा रहेर कार्य गर्न आग्रह गरेका छन्। उनका अनुसार हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024