नागरिक एपमा जोडियो ‘श्रम संसार’

29 July, 2025

काठमाडौँ — आन्तरिक र वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना पाउने ‘श्रम संसार’ पोर्टल सोमबार नागरिक एपमा जोडिएको छ । अब नागरिक एपबाटै नेपालको आन्तरिक रोजगारीमा पाइने अवसरसँग सिधै पहुँच गर्न सकिनेछ । साथै, वैदेशिक रोजगारीमा जानका लागि म्यानपावर कम्पनीसँग सिधै सम्पर्क गर्न सकिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रोजगारदाता र श्रमिकबीच एकै ठाउँमा भेट गराउन ‘श्रम संसार’लाई नागरिक एपमा जोडिएको बताए । ‘नेपालमा श्रमिकले रोजगारदाता भेट्दैन। रोजगारदाताले श्रमिक भेट्ने गरेको छैन,’ नागरिक एपमा जोडिएको श्रम संसारको उद्घाटन गर्दै भने, ‘यो खाडल हटाइएको छ।’

उनका अनुसार सबै रोजगारदाता प्रतिष्ठानले आफूलाई चाहिने श्रमिकको विज्ञापन अनिवार्य रूपमा श्रम संसार पोर्टलमा राख्नुपर्नेछ। ‘कुन रोजगारदाताबाट कुन कामका लागि कति तलबमा कस्ता श्रमिक चाहिने भन्ने विषय प्रस्टसँग खुलाउने गरी राख्नुपर्छ। त्यसलाई सरकारले अनुगमन गर्नेछ,’ उनले भने।

भण्डारीले श्रम संसार पोर्टलमार्फत वैदेशिक रोजगारीको अवसर खोज्न अवैध रूपमा प्रयोग भइरहेको एजेन्ट पनि नचाहिने बताए। ‘यसमा नै वैदेशिक रोजगारीका सबै सूचना पाइन्छ। कुन म्यानपावर कम्पनीले कुन देशमा कस्ता श्रमिक चाहिन्छ भन्ने सूचना राखिएको हुन्छ। उसले एपबाटै सिधै म्यानपावर कम्पनीलाई आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यो एप चलाउन निकै सहज, सरल छ। सामाजिक सञ्जाल चलाउन जान्ने श्रमिकले यो एप चलाउन नजान्ने भन्ने हुँदैन।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार राष्ट्रिय श्रम बजारमा प्राप्त हुने रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउन श्रम संसार पोर्टल सुरु गरिएको हो। यो सूचना प्रणालीमा संघ, प्रदेश तथा स्थानीय सरकार, रोजगारी खोज्ने श्रमिक, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार र श्रम बजारका अन्य सरोकारवाला निकायलाई आबद्ध गरिएको छ।

श्रम मन्त्रालयका अनुसार स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवाको संख्या ७ लाख ५७ हजार ७२५ छ। जसमध्ये महिला ४ लाख ४९ हजार ३८७ छन्। उनीहरू प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन सूचीकृत भएका हुन्। ती सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी दिन सक्ने अवस्था छैन। उनीहरू रोजगारदाताको खोजीमा छन्।

श्रम मन्त्रालयका अनुसार ‘श्रम संसार’ पोर्टललाई सन् २०२३ देखि विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो। त्यहाँ सफल भएपछि यस पोर्टलमा कोशी प्रदेशका १३७ वटै पालिका आबद्ध भइसकेका छन्। यसलाई ७५३ वटै पालिकामा जोडिएको छ। यसका लागि श्रम मन्त्रालयले स्वीस कन्ट्याक्टसँग साझेदारी गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024