भिसामा कैफियत देखिएपछि क्रोएसिया पुगेका ११ नेपालीलाई विमानस्थलबाटै फर्काइयो

10 July, 2025

काठमाडौं : युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ। भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो।

फिर्ता पठाइनेमा गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, अमित कुमार विश्वकर्मा, लक्ष्मण मगर, मनिषा कार्की सुब्बा, उपेन्द्र प्रसाद वली र अतित तामाङ रहेका छन्। उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको हो।

स्रोतका अनुसार उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोयसियाका लागि उडेका थिए। क्रोयसिया पुगेपछि उनीहरूको भिसामा कैफियत देखिएको थियो। ‘कामदारका रूपमा क्रोयसिया पुगेका उनीहरूको भिसा नै शंकास्पद् भेटिएको थियो। भिसामै कैफियत देखिएपछि त्यहाँका अधिकारीहरूले उनीहरूमाथि अनुसन्धान गरी चार दिनपछि नेपाल फर्काएको हो,’ स्रोतले अन्नपूर्णसँग भन्यो। उनीहरूको भिसा नै रद्द गरी नेपाल फिर्ता गरेको स्रोतको भनाइ छ।

यो घटनाले नेपाली श्रमिकहरूको युरोप यात्रासम्बन्धी समस्यालाई फेरि सतहमा ल्याएको छ। कतिपय नेपालीहरू राम्रो कमाइको आशामा युरोप जाने गर्छन्, तर दलालहरूको प्रलोभनमा परेर उनीहरू ठगिँदै आएका छन्। आकर्षक तलबको प्रलोभन, गलत भिसा र प्रमाणपत्रको सहारा लिँदा नेपालीहरू यस्ता समस्यामा पर्ने गरेको सरोकारवाला निकायहरूले बताएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024