भविष्यको आशा युवासँग

8 July, 2025

रमेशकुमार अधिकारी

नेपालको निशान छापमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् ‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्’ भन्ने आदर्श वाक्य अंकित छ। नेपालीलाई युगौंयुगसम्म कर्तव्यबोध गराउने यो आदर्श वाक्यलाई हृदयमा सजाएर नेपालीहरू जन्मभूमिको सेवामा जुट्नुपर्ने समयको माग छ। यसोगर्दा नेपालीहरूको पौरख पसिना स्वदेशकै माटोमा मिसिन्छ। उत्पादन वृद्धि हुन्छ। व्यक्तिको उन्नति हुन्छ। ष्ट्रको पनि प्रगति हुन्छ।

सामान्य अर्थमा विकास राम्रोबाट अझ राम्रो अवस्थामा पु¥याउने प्रक्रिया हो। मूलतः राजनीतिक, सामाजिक, आर्थिक, भौतिक र वातावरणीय विधालाई विकास प्रक्रियामा समेटिन्छ। आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै विकासको सर्वोपरि ध्येय हो। विकासको अगुवाइ मानिसले गर्दछ। यसर्थ मानवस्रोतलाई मानव पुँजीमा रूपान्तरण गर्नु नै विकासको पहिलो सर्त हो। स्वदेशमा मानव पुँजी निर्माण र परिचालनबाट पश्चिमा देशहरू पहिले नै धनी भए। यही प्रक्रियाबाट अघि बढ्दा एसियाली मुलुकहरू जापान र सिंगापुरले छोटो अवधिमै आफूलाई विकसित तुल्याउन सके। दक्षिण कोरिया, मलेसियाले पनि विकासशील राष्ट्रको अग्रपंक्तिमा आफूलाई उभ्याए। पछिल्ला दशकमा चीन र भारतले मानव पुँजीकै बलमा आर्थिक विकासमा रफ्तार बढाइरहेका छन् र विश्वकै ठूलो अर्थतन्त्र बन्ने होडबाजीमा छन्।

नेपालको विकास यात्राको आरम्भ औपचारिक रूपमा सात दशक अघिबाट भएको हो। सात दशकमा हासिल भएको उपलब्धिले हाम्रो देश अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने अवस्थामा पुगेको छ। सन् २०२६ को प्रारम्भदेखि यो स्तरोन्नति लागू हुनेछ। यो नेपालीहरूका लागि सन्तोषको विषय हो। तर योजनाबद्ध विकासको लामो यात्रामा लागेको समय, लगानी र मुलुकको शिरमा रहेको ऋणको भारको तुलनामा हासिल भएको उपलब्धि र त्यसबाट नेपाली जनतालाई मिलेको लाभलाई दाँज्दा विकासमा छलाङ मारेको भनेर हर्षित हुने अवस्था छैन।

विकासका लागि जनसंख्याको बनोटमा युवा बाहुल्यलाई स्वर्णकाल मानिन्छ। नेपालको वर्तमान जनसंख्याभित्र युवाको हिस्सा अधिक छ। यस आधारमा स्वर्णकाल चलेको छ। अर्थात् जनसांख्यिक लाभको उत्तमकाल छ। तर यो लाभ पनि हासिल भइरहेको छैन। यसो हुनुमा नेपाली मानवस्रोत मानव पुँजीमा रूपान्तरण र स्वदेशमा परिचालन हुन नसकेर हो भन्ने अनुमान गर्न सकिन्छ। अहिले जेनतेन १२ कक्षा पढ्दासम्म स्वदेशमा रोकिने र त्यसपछि विदेश गइहाल्ने मनोविज्ञानले सबै किशोर तथा युवालाई ग्रस्त बनाएको अवस्था छ। यो बाध्यता हो कि आवश्यकता अथवा विदेशमोह के भन्ने ? जे भए पनि विदेश पलायनले परिवार, समाज र राष्ट्रको जीवनमा धनको टेको त मिलेको छ तर खुसीमा खडेरी पर्ने गरेको विभिन्न घटनाक्रमले पुष्टि गर्दै गएका छन्।

वास्तविकता के पनि छ भने युवाहरूको विदेशमोहलाई तत्काल विच्छेद गर्न सक्ने परिस्थिति पनि छैन। मुलुकको वर्तमान परिस्थितिका सम्बन्धमा विभिन्न कोणबाट विश्लेषण गरेर सम्भावना पहिल्याउन उचित हुन्छ जस्तो लाग्छ। विद्यमान परिस्थितिलाई राजनीतिक कोणबाट केलाउँदा नेताहरूप्रति नागरिक गुनासा र आक्रोश उच्च तहमा प्रकट भएको पाइन्छ। सामाजिक रूपमा हेर्दा शिक्षित, सक्षम तथा नेतृत्व दिन सक्ने जनशक्तिको उत्पादनमा राज्यको लगानी न्यून भएको देखिन्छ। आर्थिक रूपमा नियाल्दा उत्पादन सहयोगी पूर्वाधारहरू थपिँदै जाँदा पनि उद्यमशीलताको लहर चल्न सकेको छैन। लगानी, उत्पादन, रोजगारी र आयआर्जनको चक्रले गति लिन सकेको पाइँदैन। व्यापार प्रधान अर्थतन्त्रमा राज्यको आम्दानी निर्भर छ।

राजनीति नसुध्रिँदासम्म देश सुध्रँदैन भन्ने मान्यताबाटै नेपालीहरूले अनेक आरोह–अवरोहको लामो शृंखला व्यहोरेका हुन्। २०७२ असोज ३ मा वर्तमान संविधान जारी हुँदा अब त सुदिन सुरु होलान् भन्ने आशा जागेको हो। आवधिक निर्वाचनका माध्यमबाट राजनीतिमा युवाहरूले अवसर पाउँलान्, प्रतिस्पर्धा जितेर शासनको नेतृत्वमा पुग्लान् र आमनेपालीले चाहेअनुसारको शासन व्यवस्था सञ्चालन होला भन्ने अनुमान गरिएको हो। तर शिक्षित, दक्ष, ऊर्जाशील युवाहरूको ठूलो हिस्सा विदेशमा भएका कारण राजनीतिमा युवाको हस्तक्षेपकारी सहभागिता अहिलेसम्म हुन सकेको छैन। यसकारण शासकीय ढाँचा नयाँ स्वरूपको निर्धारण गरे पनि शासन सञ्चालनमा पुरानै शैली र संस्कारको प्रभाव छ। तीन तहका सरकारलाई सहअस्तित्वको मर्यादा दिए पनि अग्रज र अनुजको व्यवहार हुने गरेको छ।

गुनासा र निराशाको जति चाङ लागे पनि तिनको व्यवस्थापन लोकतान्त्रिक विधि र प्रक्रियाबाटै गर्नु उचित हुन्छ। यस सन्दर्भमा उज्यालो पक्ष के छ भने हाम्रो मुलुकमा लोकतान्त्रिक प्रणाली विद्यमान छ। आवधिक निर्वाचनले लोकतन्त्रलाई जीवन्त तुल्याइराखेको छ। संसद् तथा सरकारमा रहेका जनप्रतिनिधिउपर प्रकट भएका गुनासा ‘जसको जिम्मा, उसको जवाफ’को तरिकाबाट सुनुवाइ हुँदै जाला। किनकि लोकतन्त्रले यही मान्यता राख्छ। यदि भएन छ भने पनि पाँचपाँच वर्षमा हुने आवधिक निर्वाचनले नेतृत्व परिवर्तनको अवसर दिइहाल्छ। यस आधारमा २०८४ को आवधिक निर्वाचन सम्भावना र अवसर बोकेर नजिक आइरहेको छ। युवा नेतृत्वमा नपुगी युवामैत्री परिवेश बन्न सक्दैन।

विकासमा जवानी आउन पनि सक्दैन। यस सन्दर्भमा देश विदेशमा दीक्षित विद्वान्, विनयी, विवेकी र पौरखी नेपाली युवाहरू राजनीतिमा जोडिनु पर्दछ। निर्वाचनमा अनिवार्य सहभागी भएर नेतृत्वमा स्थापित हुनुपर्छ। यसो गर्दा राज्य प्रणालीमा सकारात्मक रूपान्तरण पैदा गर्न सकिन्छ। हामीले अवलम्बन गरेको समावेशी लोकतान्त्रिक प्रणालीले यही आश्वासन दिन्छ।

चाणक्य नीतिको उपदेश छ, ‘उद्योगे नास्ति दारिद्रयं जपतो नास्ति पातकम्। मौने च कलहो नास्ति, नास्ति जागरिते भयम्।’ यसको अर्थ हुन्छ– उद्योग गर्नाले दरिद्रता हुँदैन, जप गर्नाले पाप हुँदैन, मौन बसेमा झगडा हुँदैन र जागा रहेमा भय हुँदैन। देशलाई उद्योगी र पौरखी युवाहरूको खाँचो छ। नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको पहिचानलाई सार्थक र सम्मानित तुल्याउन सुशासन, विकास र समृद्धि प्राप्ति नै समयले सुम्पेको प्रमुख कार्यभार हो। उमेरले, शक्तिले, सोचले, सीपले, ऊर्जाले र जाँगरले सशक्त नेपाली युवाहरूको राजनीतिमा हस्तक्षेपकारी सहभागिता समयले माग गरिरहेको छ।

यही उपायबाट मुलुकको विकासलाई नयाँ गति र उचाइ दिन सकिन्छ भन्ने लोकको विश्वास छ। त्यसैले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरू आगामी निर्वाचन प्रक्रियामा सहभागी भएर नै व्यवस्थालाई गति दिन र अवस्थालाई बदल्न सकिन्छ। यस निमित्त अहिलेदेखि नै दृढ संकल्पित हुनु पर्दछ। वास्तवमा युवा उमेर सोच, वाणी र कर्म गर्न सक्ने उमेर हो। अन्य उमेरमा सोच र वाणी ओजिलो भए पनि कर्म गर्ने शक्ति पुग्दैन। अतः उज्ज्वल भविष्यको आशा युवासँग छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026