प्रवासी महिलाको दोहोरो बोझ : पीडा र सम्भावनाको कथा

4 July, 2025

खेमराज जम्मर कट्टेल

पैसा कमाउन त आएँ, घर पनि बनाए छोराछोरी पनि राम्रै ठाँउमा पढ्दै छन्। तर हरेक रात निदाउने बेला यस्तो लाग्छ, म आफैँ खै कतै हराए। इजरायलमा कार्यरत एक नेपाली दिदीले फोनमा भनेका यी शब्दहरू केवल उनको मात्रै कथा होइन, हजारौं नेपाली प्रवासी महिलाहरूको साझा अनुभूति हो।

नेपाली समाजमा महिलाहरूको जीवन सधैं घरधन्दा, बालबच्चा र परिवारको वरिपरि घुम्ने गरेको चलन छ, केही परिवर्तन आज देखिए पनि लगभग यस्तै छ। तर जब यी महिला परदेश जान विवश हुन्छन्, जीवनको कथा एकाएक मोडिन्छ। विशेषत इजरायलमा कार्यरत दिदीबहिनीहरूको जीवनका पानाहरूमा संघर्ष, पीडा, सम्झना, आँसुमात्र छैन अवसर, आत्मनिर्भरता र आत्मसम्मानका गहिरा भाव र अर्थहरू पनि लुकेका छन्।

धेरैजसो महिलाहरू साना छोराछोरी छोडेर र जन्मदिने बाआमाको जिम्मा अरूलाई सुम्पेर परदेशिएका छन् । आफ्नो देशबाट इजरायलको यात्रा कुनै रमाइलो चाहनाको उपज हुँदै होइन यो एक बाध्यता हो। बिरामी बाआमाको औषधि, छोराछोरीको शुल्क, घरको ऋण र जीवनका अनगिन्ती खाँचोले थिचिएको समयको कठोर निर्णय हो।

छोरीलाई सुताएर हिडे, राति १२ बजे जहाज चढेकी थिएँ, सम्झिन्छिन् एक प्रवासी आमा, आँखा टिलपिल पारेर भक्कानिदै हिडेको त्यो रात सम्झिदा आज पनि म निदाउन सक्दिन।

इजरायलको होमकेयर क्षेत्रमा काम गर्ने नेपाली महिलाहरूको दैनिकी मानसिकरुपमा निकै कठोर हुन्छ। २४ घण्टा एउटै वृद्धको हेरचाहमा खटिनु, न समयको सीमा, न समयमा छुट्टीको भर। कति चाडपर्व फोनमै मनाउँछन्, कति आफ्नै परिवार र आफन्त गुमाउँदा समेत फर्कन सक्दैनन्। यही बीचमा टुटेका सम्बन्ध, बिग्रिएका परिवार, पराइ बनेका छोराछोरी यी सबै पीडाहरुले एक साथ सँगै यात्रा गर्छन्। घर, परिवार र सबैका लागि कमाएँ, तर फर्किँदा आफ्नै लाग्दैनन्, उनीहरू भन्छन्।

तर जीवनको यो अध्याय केवल आँशुले मात्र भरिएको छैन। यहीं इजरायलमै केहीले नयाँ जीवन पनि सुरू गरेका छन्। स्वस्थ सम्बन्ध, नयाँ साथी, आत्मविश्वासका साथ बनाएको सम्बन्ध। कतिले हिंसात्मक, अपमानजनक पुराना सम्बन्धबाट छुटकारा पाएका पनि छन्। केही महिलाहरू यहाँको खुला समाजमा आत्माभिव्यक्ति गर्ने सुनौलो मौकाहरु पनि पाएका छन्। उनीहरू अब केवल कसैको श्रीमती, बुहारीमात्र होइन आफ्नै नामले चिनिने र निर्णय गर्न सक्ने व्यक्तित्व समेत विकास गरेका छन्।

प्रवासमा रहेका धेरै महिलाहरूले आफ्नो सपना पुरा गरेका छन्। घरजग्गा, बाल बच्चालाई उच्च शिक्षा, बैंक ब्यालेन्स मात्र होइन, आत्मनिर्भरता, आत्मसम्मान र पहिचानको पुनःस्थापना गरेका छन्। कति यस्ता छन्, जसले आफ्ना छोराछोरीलाई देश विदेशका राम्रा विद्यालयमा पढाएका छन्।

कतिले नेपाल फर्केर होटल, पसल, फार्म आदि सञ्चालन गर्न थालेका छन्। सुरुमा घरका लागि परदेशिएको यात्रा अहिले आफूलाई चिनाउने यात्राको रूपमा बदलिएको छ।

प्रवासी महिलाहरूको जीवनको एउटा पाटो दुःखद र कठिन छ तर अर्को पाटो प्रेरणादायी पनि। घरका लागि उनीहरूले आफ्नो सपना बलिदान गरे तर यही बलिदानले उनलाई बलियो बनाएको छ। अब उनीहरू चुप लाग्ने महिला होइन बोल्ने, अगाडि बढ्ने, निर्णय गर्ने महिलामा रूपान्तरित भएका धेरै उदाहरण पनि छन्। उनीहरूले सीप सिके, भाषा सिके, जीवनलाई बुझ्ने दृष्टिकोण विकास गरे। अब उनीहरूका नजरमा परदेश केवल कमाईको थलो मात्र होइन परिवर्तनको उच्च शिक्षा हासिल गर्ने पाठशाला पनि हो।

अब हाम्रो समाजले यिनै महिलाहरूको योगदान बुझ्ने बेला आएको छ। उनीहरूको पीडालाई मात्र होइन, उपलब्धिलाई पनि सम्झन आवश्यक छ। उनीहरूले परिवार, आफ्ना इच्छा र सपनाहरूलाई गरेका बलिदानको सम्मान गर्नु, उनीहरूको आत्मनिर्भरतालाई प्रेरणा मान्नु हाम्रो पहिलो कर्तव्य बन्नुपर्छ।

कसैले रातभरि वृद्धाको सेवा गर्छन्, कसैले निन्द्राहीन रातमा बाआमा र छोराछोरी सम्झन्छिन्, कसैले खुल्ला आकाश हेरेर घरको सम्झना गर्छन्, यिनै महिलाहरूको आँसुमा देशको सपना पनि लुकेको छ। प्रवासले उनीहरूलाई टाढा त लग्यो, तर बलियो र सक्षम बनायो। अब उनीहरू पीडाको पात्रमात्र होइनन परिवर्तनको प्रतीक हुन भन्ने समाज र देशले बुझ्न आवश्यक छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024