डाक्टरको पलायन

3 July, 2025

ईश्वर श्रेष्ठ

देशमा एमबीबीएस गरिसकेका झन्डै ७०–७५ प्रतिशत चिकित्सकहरू विभिन्न माध्यमबाट बिदेसिने क्रम बढ्दो छ । बिदेसिनेहरूमा स्नातक (एमबीबीएस) र स्नातकोत्तर (एमडी—पोस्ट ग्र्याजुएट) दुवै तहका डाक्टरहरू छन् । यस्तो अवस्थामा नेपालको स्वास्थ्य प्रणाली कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठेको छ ।

यो केवल डाक्टरको समस्या होइन, यो आम जनताको स्वास्थ्य अधिकारसँग गाँसिएको विषय हो । सरकारका तर्फबाट डाक्टरहरूको मनोबल बढाउने, स्वाभिमान जोगाउने र नेपालमै सेवा गर्न सहज अनुभूति हुने वातावरण बनाउने प्रयास अझै सन्तोषजनक देखिँदैन ।

नेपाल सरकारअन्तर्गतका अस्पतालहरूमा कार्यरत मेडिकल अफिसर (एमबीबीएस पास गरेका) डाक्टरहरूलाई मासिक करिब ४८ हजार रुपैयाँ मात्र तलब दिइन्छ । अझै दुःखद् पक्ष के छ भने, केही निजी अस्पतालहरूमा त योभन्दा कम, मासिक ३०–३५ हजार रुपैयाँमात्र हुन्छ । यस्तो अवस्थामा विदेशमा अवसर खोज्नु डाक्टरहरूको व्यक्तिगत चाहनामात्र नभई एक बाध्यता बन्ने खतरा बढ्दो छ ।

नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने अवस्था बनाउने हो भने डाक्टरहरूलाई न्यूनतम सुविधा ग्यारेन्टी गर्ने वातावरण बनाउनु आवश्यक छ । सुरु स्केलको तलबभन्दा बढी महत्त्वपूर्ण कुरा हो— डाक्टरको पेसागत हैसियत, कार्यक्षेत्रको सुरक्षा र इमान्दारीपूर्वक सेवा दिने अवसर ।

सरकारले डाक्टरहरूलाई एउटै स्थानमा पूर्णकालीन सेवा दिने सर्तमा पर्याप्त सुविधा दिनुपर्छ । यस्ता डाक्टरहरूले अन्यत्र दोहोरो जागिर गर्न नपाउने व्यवस्था गरिनु पर्छ । साथै, चिकित्सकको शैक्षिक योग्यता पनि अनिवार्य रूपमा प्रमाणित हुनुपर्नेछ । एमबीबीएस पास गरेका चिकित्सकले आफूलाई विशेषज्ञ भनेर प्रचार गर्नु गलत हो । को, को डाक्टर कुन विषयमा स्नातकोत्तर गरेका छन्, स्पष्ट सूचीकृत गरिनुपर्छ ।

यसबाहेक, स्नातकोत्तर तहको पढाइ (एमडीलगायत) नेपालमै गर्न चाहनेका लागि चिकित्सा शिक्षा आयोगले वर्षमा कम्तीमा दुई पटक परीक्षा खुला गर्नुपर्छ ।

छात्रवृत्तिमा एमबीबीएस वा स्नातकोत्तर पढ्ने चिकित्सकले दुर्गम जिल्ला वा तोकिएको क्षेत्रमा कम्तीमा तीनदेखि पाँच वर्ष सेवा गर्न अनिवार्य गरिनुपर्छ । त्यसका लागि सर्टिफिकेट आयोगले राख्ने र सेवा अवधि पूरा गरेपछि मात्र फिर्ता गरिने व्यवस्था हुनुपर्छ । बीचमै सेवा त्यागेमा लगानी भएको खर्च कम्तीमा ५, गुणासम्म बडी फिर्ता गराउन सकिने कानुनी संरचना आवश्यक छ ।

दोस्रो महत्त्वपूर्ण पक्ष हो— डाक्टरमाथिको व्यवहार । कतिपय घटनाहरूमा बिरामीका आफन्तबाट डाक्टरहरू कुटपिटमा पर्ने गरेका छन् । यस्ता अवस्थाहरूले उनीहरूको पेसागत सुरक्षामा गम्भीर असर पार्दछ । सरकारले डाक्टरहरूको सुरक्षाका लागि कडा कानुनी संरक्षण र कार्यस्थलको जिम्मेवारी लिनैपर्छ ।

यद्यपि चिकित्सकहरूको गल्ती हुने अवस्था पनि नकार्न सकिन्न । कुनै चिकित्सकले गम्भीर त्रुटि वा लापरबाही गरेमा, आवश्यक अनुसन्धानसहित उसलाई निलम्बन गर्न सकिने, प्रमाणित भएमा डाक्टरी लाइसेन्ससमेत खारेज गर्न सकिने व्यावहारिक र निष्पक्ष संयन्त्र चाहिन्छ । अब मूल कुरा के हो भने— नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा कायम राख्न डाक्टरहरूलाई प्रलोभन होइन, प्रेरणा दिनुपर्छ । सम्मान होइन, संरचना दिनुपर्छ । आश्वासन होइन, व्यवहारमा लागू हुने ठोस नीति दिनुपर्छ ।

यो केवल भाषणले होइन, व्यावहारिक योजनाले समाधान खोज्ने समय हो । यस्तो वातावरण बनाउँदा मात्र देशका मेधावी चिकित्सकहरू देशमै बसेर सेवा दिन प्रेरित हुनेछन् । विदेश पलायन रोक्न सकिन्छ र नेपाली जनताले घरमै गुणस्तरीय उपचार पाउनेछन् । अब शब्द होइन, कामले बोल्ने समय आएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026