‘विदेशमा काम गर्ने मान्छे कति पीडामा छ, सरकारले कहिले देख्छ र?’

24 June, 2025

हेमा क्षेत्री

म १४ वर्ष अगाडि कामका लागि परदेश हिँडेकी हुँ। पहिलो पटक मलेसिया गएकी थिएँ।

मेरा दुई छोरी छन्। त्यस बेला कान्छी छोरी दुई वर्षकी जस्तो थिइन्। दूधे छोरी छाडेर गएकी थिएँ।

त्यहाँ इलेक्ट्रिक कम्पनीमा काम थियो। मेसिनले सामान बनाउँथ्यो। त्यो सामान टिप्नुपर्ने काम थियो। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १२ घन्टा खट्नुपर्थ्यो। त्यति खट्दा महिनामा ५० देखि ६० हजार नेपाली रूपैयाँसम्म कमाउँथेँ।

पछि म बिरामी परेँ। मुखबाट रगत बग्थ्यो।

म गएको तीन वर्ष पुग्न तीन महिना बाँकी थियो, नेपाल फर्किएँ। नेपाल फर्किएर उपचार गरेपछि ठीक भयो।

केही समय नेपाल बसेर फेरि म कुवेत आएँ। कुवेत आएको लगभग सात वर्ष भयो।

यहाँ सुरूमा एउटा स्कुलमा सरसफाइ लगायत काम गर्थेँ। त्यहाँको काम छाडेँ। अहिले म यहाँको एक डेन्टल क्लिनिकमा सरसफाइको काम गर्छु। कमाइ अहिले पनि महिनाको ५० हजार नेपाली रूपैयाँ हाराहारी हुन्छ।

यो कम्पनीमा अन्य उपचारका लागि तलापिच्छे फरक फरक रोगको उपचार गर्ने ठाउँ छन्। यहाँ हामी ७ जना नेपाली छौं। आउने, जाने बेलामा भेट हुन्छ। दिनभरि आ–आफ्नै काममा हुन्छौं।

म नेपालबाट श्रम स्वीकृति लिएरै आएकी हुँ। श्रम स्वीकृति लिएर आउँदा मरिहालियो भने शव चाहिँ सजिलै बाकसमा हालेर पुर्‍याइदेलान्, अरू त्यति ठूलो आश त सरकारसँग छैन।

विदेशमा काम गर्ने मान्छे कति पीडामा बसेको छ, सरकारले कहिले देख्छ र? यहाँ मानसिक रूपमा एकदमै धेरै तनाव हुन्छ। नेपालीले नेपालीलाई हेर्ने नजर पनि फरक हुन्छ। यस्ता मान्छेको संगत गर्नु हुँदैन भनेर कसैले सम्झाउँदैन। माथिल्लो पदमा पुगेका नेपालीबाटै हामीले हेपाइ सहनुपर्छ।

नेपालमा देखेको जस्तो सजिलो छैन विदेशमा। फरक छ। मैले पनि धेरै मानसिक तनाव झेलेकी छु।

अझ यहाँ घरेलु काममा आएका दिदीबहिनी शारिरीक तथा मानसिक यातना भोगिरहेका छन्। कतिपय ठाउँमा राम्रै काम भए पनि कति त यौन शोषणमा पनि परेका छन्।

कुनै घर त खान पनि नदिने, आराम गर्न नपाइने, काम मात्रै लगाउने, शारीरिक शोषण गर्ने खालका पनि हुँदा रहेछन्।

कुवेतको घरेलु काममा प्रायः नेपालबाट भारत र भारतबाट दुबई हुँदै ल्याइँदो रहेछ। नेपालीलाई त्यसरी ल्याउने काममा कतिपय नेपाली नै सक्रिय भएको पाइन्छ। नेपालीले नेपालीलाई नै बेचेका छन्।

भनेको नमान्दा पिट्ने थुन्ने जस्तो व्यवहार गरेर नेपाली महिलाहरूलाई दुःख दिएको अवस्था छ।

परदेशमा निकै दुःखदायी जीवन भोग्नुपर्ने अवस्था छ। अहिले सरकारले घरेलु कामदार बन्द गरेको छ। अवैध बाटो हुँदै धेरै महिला र पुरूषहरू पनि आइरहेका छन्।

काम गरेर आफ्नै देशमा बाँच्न सकिने अवस्था भए त अर्काको देशमा घरायसी काममा आउने नै होइन। तर आउनुपर्ने बाध्यता छ। यस्तो अवस्थालाई विचार गर्दै सरकारले घरेलु कामदार खुला गर्नुपर्छ। तर भाषा र सीप सिकाएर मात्रै पठाउनुपर्छ। भाषा मात्रै जानेर आउने हो भने पनि खाडीमा धेरै सजिलो हुन्छ। मालिकले भनेको बुझ्न र आफूलाई भन्न मन लागेको कुरा व्यक्त गर्न सकिन्छ।

अर्कोतर्फ वैदेशिक रोजगारीले पारिवारिक विचलन पनि बढाइरहेको अवस्था छ। यस्ता विषयमा पनि सरकारले सचेत बनाएर पठाउन जरूरी छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024