स्लोभेनिया जान खोज्नुभएको छ? के के चाहिन्छ तयारी?

17 June, 2025

सन्जिब बगाले

काभ्रेका सानु (परिवर्तित नाम) नौ महिनाअघि एजेन्टलाई ११ लाख रुपैयाँ बुझाएर युरोपेली मुलुक स्लोभेनिया गए।

अन्य प्रक्रियामा थप एक लाख रूपैयाँ खर्च भयो। नेपालबाट पठाउनेले टेलरिङ (सिलाइकटाइ) काम गर्नुपर्ने भनेको थियो।

काम टेलरिङ भए पनि ‘ट्रेनिङ’ भनिएको रहेछ, त्यसै अनुसारको भिसा रहेछ। यो कुरा सानुले स्लोभेनिया पुगेपछि मात्र थाहा पाए।

उनी टेलरिङ राम्ररी नै जान्दथे तर केही महिना तालिम लिनैपर्ने रहेछ। करिब चार महिना त्यसकै अलमल भयो। कमाइ भएन।

‘यहाँ आएपछि पनि झन्डै तीन लाख रूपैयाँ खर्च भयो। सम्झौता अनुसारको मासिक १३ सय युरो पाउन थालेको केही समय मात्र भयो,’ सानुले भने।

उनका अनुसार स्लोभेनियामा रहेका अनुभवी नेपाली कामदारले मासिक २५ सय युरोसम्म कमाउँछन्। तर सीप नभएका कारण फर्किनेको संख्या धेरै छ।

‘नेपाली युवाहरू १० देखि १५ लाखसम्म बुझाएर आउँछन् तर काम नजानेका कारण फर्किन बाध्य हुन्छन्। त्यसैले यहाँ आउनुअघि काम अनुसारको सीप सिक्नुहोला, कामका बारेमा राम्ररी बुझ्नुहोला,’ उनले भने।

स्लोभेनियामा नेपालीहरूले धेरै ठूलो समस्या भोग्नु नपरेको तर कतिपयले केही कठिनाइ सामना गर्नुपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए), स्लोभेनियाका अध्यक्ष वीरमान श्रेष्ठ बताउँछन्।

वीरमान त्यहाँ बसेको १५ वर्ष भयो। आगामी करिब चार महिनामा आठ सय जति नेपाली स्लोभेनियामा थपिने सूचना आफूले पाएको उनले बताए।

‘मैले यहाँको श्रम मन्त्रालयमा बुझ्दा आठ सय जना नेपालीको भिसा भइसकेको छ। उनीहरू कस्तो कम्पनीमा आउन लागेका हुन्, उनीहरूको के हालत हुने हो, केही थाहा छैन,’ वीरमानले भने, ‘सबै कुरा राम्ररी नबुझी एजेन्टको भर परेर आउँछन्। समस्या परेपछि एनआरएनएको सम्पर्कमा आउँछन्। अहिलेसम्म सहयोग गरेकै छौं।’

सहयोगका लागि स्लोभेनियाका विभिन्न ठाउँमा अनुभवीहरूको टिम बनाउन लागेको उनले जानकारी दिए।

‘समस्यामा पर्नेका लागि सहयोग गर्न पनि विभिन्न खालका कठिनाइ हुन्छ। धम्की आउँछ,’ उनले भने।

वीरमानका अनुसार स्लोभेनियाका राम्रा कम्पनीको कामदार भएर आउन खर्च लाग्दैन। कामदारको लागत शून्य हुन्छ।

तर सबै त्यस्ता हुँदैनन्। कहिलेकाहीँ स्लोभेनिया पुगेपछि पनि कानुनी प्रक्रिया आवश्यक पर्न सक्छ। त्यस्तो बेलामा खर्च हुन्छ। स्लोभेनियामा पनि एजेन्टहरूले सरकारी कर्मचारीलाई प्रभावमा पारेर कामदारको नक्कली माग पठाउन सक्छन्। होसियार नभए कामदार अप्ठ्यारोमा पर्न सक्छन्।

‘दर्ता नै नभएका र आर्थिक अवस्था राम्रो नभएका कम्पनीले समेत कामदार मगाइरहेका हुन्छन्। कतिपय ठगहरूले समेत मिलेमतो गरेर मान्छे ल्याइरहेका हुन्छन्,’ वीरमानले भने, ‘यहाँ आएपछि मात्र आफू ठगिएको थाहा हुन्छ।’

यस्तो समस्या आउन नदिन आफूले सम्झौता गरेको कम्पनीको सबै पक्षबारे जानकारी लिनुपर्छ। पहिलेदेखि बसेकाहरूसँग सम्पर्क गरेर जानकारी लिनु राम्रो हुने उनी बताउँछन्।

सम्झौता अनुसार भिसा पाएर स्लोभेनिया पुगेपछि सुरूमा त्यहाँको अस्थायी बसोबास कार्ड प्राप्त हुन्छ। पाँच वर्ष पूरा भएपछि स्थायी आवास अनुमतिपत्र (पिआर) प्राप्त हुन्छ। त्यहाँको आधिकारिक भाषा जान्दछ र सरकारद्वारा निर्धारित न्यूनतम आम्दानी छ भने १० वर्षपछि नागरिकता प्राप्त हुन्छ।

पिआर पाएपछि आफ्नो व्यवसाय गर्ने अधिकार पनि प्राप्त हुन्छ। ‘सेन्जेन क्षेत्र’ का २९ वटा देशमा आवतजावत गर्न र व्यवसाय गर्न पाइन्छ।

स्लोभेनियाका अधिकांश युवाहरू प्राविधिक क्षेत्रमा लागेका छन्। कृषि तथा औद्योगिक कारखानामा कामदार अभाव छ। यिनै क्षेत्रमा विदेशी कामदारको माग छ।

‘यहाँको प्रमुख आयस्रोत पर्यटन, कृषि र उद्योग हो। यहाँको उत्पादन जर्मनी, इटाली, स्विट्जरल्यान्ड, अस्ट्रिया लगायत देशमा निर्यात हुन्छ,’ वीरमानले भने, ‘वेल्डिङ कामदार, प्लम्बर र इलेक्ट्रिसियनको माग धेरै छ। ड्राइभिङ जान्नेलाई पनि सहज छ।’

स्लोभेनियामा बोलिने भाषामा राम्ररी जानेको छ भने स्वास्थ्य क्षेत्रमा समेत ठूलो अवसर रहेको उनले बताए। निर्माण क्षेत्रमा पर्याप्त अवसर छ।

जुन क्षेत्रमा काम गर्ने भए पनि खास किसिमको सीप भने चाहिन्छ।

‘सकेसम्म भाषा र काम सिकेर आउनु राम्रो हुन्छ। यतै आएर सिक्दा पनि हुन्छ तर त्यसका लागि तयार भएर आउनुपर्छ,’ वीरमानले भने, ‘१२ कक्षा पास गरेर आए यहाँ पढ्ने र सिक्ने मौका पाइन्छ। यसका लागि धैर्य पनि चाहिन्छ।’

स्लोभेनियाको अहिले न्यूनतम पारिश्रमिक मासिक एक हजार २७७ युरो छ। यसबाट कर कटाएर करिब ९ सय युरो हात पर्छ, नेपाली रूपैयाँ एक लाख ३६ हजार।

स्लोभेनिया सरकारले सामान्यतया हप्तामा ४० घण्टाभन्दा धेरै काम गर्न अनुमति दिँदैन। कम्पनीले बढीमा हप्ताको २५ घण्टा अतिरिक्त काम गराउन अनुमति लिन सक्ने सुविधा पनि छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024