महानगर रोजगार मेला सम्पन्न, १६१ जनाले पाए रोजगारीको अवसर

18 December, 2024

Binod Subedi

विराटनगर महानगरपालिकाले आयोजना गरेको दुई दिने ‘महानगर रोजगार मेला’ सोमबार सम्पन्न भएको छ। मेला ३ हजार ५ सय जनाले अवलोकन गरे।

मेलमा ३ सय १९ जनाले विभिन्न पदका लागि आवेदन दिएका थिए। आवेदन दिने मध्ये १ सय ६१ जनालाई रोजगारी दिनको प्रक्रिया अघि बढाइएको रोजगार शाखाका प्रमुख कपिल थापाले जानकारी दिए।

उनका अनुसार १२ जनाले मेलामै रोजगारी पाइसकेका छन्। जबकि अन्यलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाइसकेका छन्।

मेलाको समापन कार्यक्रममा बोल्दै मेयर नागेश कोइरालाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवा जनशक्तिको वैदेशिक पलायन रोक्ने उद्देश्यले मेला आयोजना गरिएको बताए। उनले रोजगार मेलाले रोजगारदाता र काम खोज्ने युवाबीच पुलको काम गरेकोमा खुशी व्यक्त गरे।

महानगर रोजगार शाखाका अनुसार यस पटकको मेलामा सबैभन्दा बढी माग स्टाफ नर्सको रहेको छ। नोवेल अस्पताल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल र न्यूरो अस्पताललगायत संस्थाले १ सयभन्दा बढी स्टाफ नर्सको माग गरेका छन्।

यसका अतिरिक्त प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस्ट र विक्रेतालगायतका क्षेत्रमा पनि ठूलो मात्रामा रोजगारीका अवसर सिर्जना भएको थापाले जानकारी दिए।

विगत वर्ष आयोजना गरिएको पहिलो रोजगार मेलाबाट १ सय ९७ जना युवाले रोजगारी पाएका थिए। यस पटक पनि रोजगार मेलाले दर्जनौं युवालाई अवसर प्रदान गर्न सफल भएको आयोजक पक्षले जनाएको छ।

महानगरले आगामी दिनमा यस्ता मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै रोजगारीको दायरालाई फराकिलो बनाउने योजना अघि सारेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026