‘फेसबुकको फोटोमा देखेजस्तो रहेनछ युरोप!’

28 May, 2025

निर्मला घिमिरे

युरोप गएका साथीहरूले आकर्षक सहरमा र समुद्र किनारमा उभिएर मुसुक्क हाँसेको फोटो सामाजिक सञ्जालमा राखेको देखेपछि कैलालीका महादेव घोडसैनी खुब लोभिन्थे।

ओहो! क्या गज्जबको जिन्दगी भन्ने लाग्थ्यो।

यसरी नै उनी युरोपतिर तानिए।

साढे दुई वर्षअघि उनी पुगे युरोपेली मुलुक रोमानिया। त्यहाँ जान उनले महँगो ब्याजमा ऋण लिएर आठ लाख रूपैयाँ बुझाए।

‘सयकडा तीन (३६ प्रतिशत) ब्याज तिर्ने शर्तमा ऋण लिएको थिएँ,’ उनले भने, ‘६ लाख त हातमै बुझाएँ। दुई लाख बुझाएको मात्र प्रमाण थियो।’

उनलाई एउटा होटलमा वेटर काम गर्नुपर्ने भनिएको थियो। उनीसँग त्यसको सीप थिएन। अंग्रेजी भाषा सामान्य थियो।

उनी परदेशका नाममा भारतबाहेक अन्त कतै पुगेका थिएनन्। उनका लागि भारत जानु सामान्य थियो।

तर हवाईजहाजबाट पहिलो पटक सात समुद्रपारिको रोमानिया जाँदा मनमा अनेक जिज्ञासा थिए– भनिएजस्तो काम पाइएला त? कमाइ कति होला? काम सजिलो होला कि गाह्रो?

अपरिचित देश, अपरिचित भाषा र परिवेश, सबैथोक नयाँ हुनेवाला थियो। मन उत्साह र डरले दुवैले भरिएको थियो।

उनीजस्तै चार जनाको एउटै उडान थियो। रोमानियाली विमानस्थलमा उत्रेपछि चारै जना एकसाथ बाहिर निस्के। उनीहरूलाई लिन एजेन्सीका मान्छे आएका रहेछन्। काम गर्ने भनिएको होटलमा तिनैले पुर्‍याए।

काम त भनिएकै पाए तर भनिएको जति तलब नहुँदो रहेछ। काम गरेको घण्टाका आधारमा पारिश्रमिक पाइने रहेछ। आफ्नो काममा पोख्त नभएका सिकारू नेपालीले सुरूमा मासिक ६० हजारदेखि एक लाख नेपाली रूपैयाँसम्म कमाउँदा रहेछन्।

‘रोमानिया भोगेपछि थाहा भयो, युरोपको वास्तविकता फेसबुकमा देखिने फोटोजस्तो होइन रहेछ। एकदमै कडा मेहनत गर्दा ठिकठिकै कमाइ हुँदो रहेछ,’ उनले भने, ‘नेपालमा भनेको तलब र युरोपमा हात पर्ने तलबमा निकै फरक हुँदो रहेछ। धेरै कर काटिएर मात्र पैसा आउँदो रहेछ।’

महादेवलाई सुरूका दिनमा भाषाले पनि निकै अप्ठ्यारो पार्‍यो। युरोप भने पनि अंग्रेजी भाषा निकै कम चल्ने भएकाले रोमानियन भाषा सिक्न निकै मेहनत पर्‍यो।

उनका अनुसार रोमानियामा अंग्रेजी २५ प्रतिशत जति र रोमानियन ७५ प्रतिशत जति बोलिन्छ। रोमानियन अनिवार्य भनेपछि उनले कापीको पानामा लेखेर पढे। गुगलको सहयोग लिएर सिक्ने र बुझ्ने उपाय पनि गरे। अहिले उनलाई अंग्रेजी र रोमानियन दुवै भाषा सजिलो भइसकेको छ।

हाल महादेव ‘रिन एयरपोर्ट होटल’ मा वेटर छन्। कहिलेकाहीँ बार टेन्डरको काम पनि गर्नुपर्छ। यो चारतारे होटल बुकारेस्ट विमानस्थल नजिकै छ।

उनी आफ्नो काममा अभ्यस्त भइसकेका छन्। थप काम सिक्दै छन्।

‘पहिले केही जानेको थिइनँ। अहिले बारतिर पनि सिक्दैछु। गर्दागर्दै धेरै काम जानियो,’ उनले भने।

अहिले कमाइ पनि ठिकठिकै छ। काम थालेको १५ महिनामा ऋण तिरेर सके। यही बीचमा उनको बिहे पनि भयो। अहिलेको कमाइले घरखर्च चलाउँदै छन्।

उनका दुई भाइ र दुई बहिनी छन्। बुबाआमा वृद्ध भइसके। अहिले सबै जिम्मेवारी उनकै काँधमा छ।

‘घरको सबै खर्च धान्नु पर्दा पैसा बचाउन सकेको छैन,’ उनले भने।

उनका एक भाइ कामका लागि दक्षिण कोरिया जाने तयारीमा छन्। एक बहिनी र श्रीमती पढाइका लागि जापानमा छन्। पैसा बचाउन नसके पनि उनको मनमा असन्तोष छैन। आफ्नो कमाइले परिवार चल्न सजिलो भएको छ। बिस्तारै परिस्थिति सहज हुँदै जाने र बचत पनि हुने उनको विश्वास छ।

महादेवले अझै केही वर्ष रोमानियामै काम गर्ने सोचेका छन्।

उनका अनुसार अहिले रोमानियामा नेपालीहरूको चाप निकै छ। बंगाली, भारतीय, श्रीलंकाली, फिलिपिनी लगायत आप्रवासीहरू निकै ठूलो संख्यामा छन्।

काम खोज्दै रोमानिया पुग्ने आप्रवासीहरूको संख्या धेरै भएकाले काम पाउन पनि गाह्रो छ। त्यहाँका जनशक्ति आपूर्तिकर्ता कम्पनीले खोजिदिने काम निकै दुःखको हुने उनको भनाइ छ।

‘कम्पनीले बिरालाले बच्चा सारेजस्तो कहिले एउटामा त कहिले अर्कोमा सारिरहन्छ। दुई–तीन महिनामा सम्झौता सकिन्छ,’ उदाहरण दिँदै उनले भने, ‘काम गर्ने ठाउँले तेरा दुई जना मनपर्‍यो, तीन जना मनपरेन, ती तीनलाई लैजा भनेर एजेन्सीलाई फिर्ता गरिदिन्छ। एजेन्सीले अर्को काम खोजेर पठाउँछ। नेपालमा सुनेजस्तो र सोचेजस्तो छैन रोमानिया।’

आजकाल नेपालीहरू रोमानिया जान १०–१२ लाख रूपैयाँ खर्च गर्छन् तर काम नपाएर समस्यामा पर्छन्। महादेवलाई पनि काम खोजिदिन आग्रह गर्ने नेपालीहरू धेरै हुन्छन्।

रोमानियामा आप्रवासी कामदारको चाप बढ्नुको खास कारण छ। यहाँ अस्थायी बसोबास कार्ड पाउन सजिलो छ। रोमानियामा कार्ड बनेपछि अन्य युरोपेली मुलुकतिर पनि जान पाइन्छ। यही लोभले नेपालीहरू जाने गरेको उनको भनाइ छ।

‘रोमानियामा छँदै वर्क परमिट लिएर अरू मुलुक जाँदा काम पाउन सजिलो हुन्छ। कोही त भिजिट भिसामा गएर लुकिछिपी बस्छन्,’ उनले भने, ‘वर्क परमिट नलिई अन्त गएर लुकिछिपी बसेका धेरैले दुःख पाएको पनि सुनेको छु। वैधानिक तरिकाले अन्य मुलुक जाने हो भने काम पाउन सजिलो हुन्छ, कमाइ पनि राम्रो हुन्छ।’

अस्थायी बसोबासपछि रोमानियाले पिआर (स्थायी आवास अनुमति) पनि दिन्छ। तर पिआर पाउन रोमानियन भाषामा पोख्त हुनुपर्छ।

रोमानियामा सेवा क्षेत्रसँगै निर्माण, कृषि, गोदाम लगायतमा काम पाइन्छ। नेपालमा केही काम नगरेका युवाहरू सिधै निर्माण क्षेत्रका भारी काममा पुग्ने हुँदा समस्यामा परेको उनले देखेका छन्।

काम गर्ने कम्पनी परिवर्तन गर्न पाउने सुविधा पनि छ। एउटा कम्पनीले अर्कोमा सिफारिस गरिदिन पनि सक्छ।

स्वतन्त्रताका हिसाबले रोमानिया निकै राम्रो भएको उनी बताउँछन्।

‘भाषा फरक भए पनि स्वतन्त्रताका हिसाबले मलाई आफ्नै देशजस्तो लाग्छ। आफूले सकेको काम गर्ने, मेहनत गर्ने हो। कसैले हेप्ने, चेप्ने समस्या छैन,’ महादेवले भने, ‘तर कामका लागि यहाँ आउनुअघि सबै पक्षको राम्ररी जानकारी लिनुपर्छ। सीप र रोमानियन भाषा सिक्नु राम्रो हुन्छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024