पोल्यान्ड पठाउने भनी १३ करोड ठगी

13 December, 2011

होम कार्की

पोल्यान्ड लैजाने भन्दै  ६ सय कामदारसँग १३ करोड रुपैयाँ असुली वेल इन्टरनेसनल म्यानपावरकी सञ्चालक विमला लामा फरार भएकी छन् । 

पीडितहरूका अनुसार काठमाडौं चाबहिलस्थित उक्त म्यानपावरकी प्रमुख लामा मंसिर २४ गतेदेखि बेपत्ता छिन् । उनले प्रत्येक कामदारसँग ७५ हजारदेखि ३ लाख पचास हजार रुपैयाँसम्म असुल गरेकी छन् । दुई वर्षअघिदेखि रकम उठाएकी विमलाले रकम फिर्ता लिन २४ मंसिरमा बोलाएकी थिइन् । त्यही दिनदेखि उनी बेपत्ता छिन् भने कार्यालय बन्द छ । विभागमा तीन सयभन्दा बढीले उजुरी हालिसकेका छन् । वैदेशिक रोजगार विभागले उक्त म्यानपावर कम्पनीमा संलग्न तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । विभागले कम्पनीमा छापा मारी कागजात बरामद गरेको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘लामाविरुद्ध पक्राउ पुर्जी जारी गर्नुका साथै सम्पत्ति रोक्का प्रक्रिया सुरु भइसकेको छ ।’ 

 

लामाले पैसा उठाएको वेल म्यानपावर भने विभागमा दर्तासमेत छैन । ‘वेल म्यानपावरलाई विभागले अनुमति नै दिएको छैन,’ विभागका निर्देशक लालबाबु कवारीले भने, ‘यसअघि उनको नाममा रहेको विल म्यानपावर खारेज गरी धरौटीसमेत जफत भइसकेको छ ।’  

            

विमलाले करिब दुई वर्षअघि पोल्यान्डमा कामदार उडाउन भन्दै सार्वजनिक विज्ञापन गरी कामदारसँग सुरुमा एक हजार अमेरिकी डलर लिन थालेको पीडितहरूले बताए । ‘तीन महिनापछि उडाउने भन्दै पैसा लिइन्,’ एक वर्षअघि तीन लाख पचास हजार रुपैयाँ बुझाएका देउबहादुर तामाङले भने, ‘तीन महिना कटेपछि महिना सार्दै लगिन् । अस्ति शनिबारदेखि बेपत्ता छिन् ।’

 

ठगिएकामा अधिकांश नजिकका आफन्त र नातेदार छन् । पर्वतका कुमारबहादुर पुन लामाबाट ठगिएका छन् भने उनका भाइ रेम मकाउ लैजाने भन्दै अपरच्युनिटी म्यानपावरबाट ठगिएका छन् । 

 

‘म पोल्यान्डपीडित,’ सोमबार वैदेशिक रोजगार विभाग आइपुगेका कुमारले भने, ‘भाइ मकाउपीडित ।’ कुमारले पोल्यान्ड जान एक लाख र रेमले मकाउ जान पचास हजार रुपैयाँ बुझाएका थिए । ‘गाउँमा रहेका भाइ मकाउको भिसा आउन लागेको छ, केही दिनमा उडिन्छ भन्दै फोनमा रमाइरहेको थियो,’ उनले भने, ‘यता सर्वस्व लिएर भागिसकेछन् ।’

 

लामो समय झुलाएपछि पैसा फिर्ता माग्दा विमलाले तत्काल तीन सय जना छनोट भइसकेको भन्दै पीडितलाई थुमथुमाएकी थिइन् । ‘ज्यादै भयो । अब जान्न भनेर पुग्दा तीन सय जना छनोट भएको नामावली देखाइन् । होला भनेर चुप लागियो,’ लामालाई ७० हजार रुपैयाँ बुझाएका सिन्धुपाल्चोकका मोहनप्रसाद प्याकुरेलले भने, ‘१५ दिनपछि भन्दाभन्दै समय लम्बाइरहिन् ।’

 

विमलाले पोल्यान्डमा माछा, च्याउ, तरकारी प्याकिङको सहज काम छ भनेर कामदार लैजान लागेकी थिइन् । सहज काम भएको र महिलाका लागि सुरक्षित ठाउँ भनेकाले उनीबाट ठगिने महिलाहरू पनि धेरै छन् । कामदारलाई कम्तीमा दैनिक ८ घन्टा काम गरेर महिनाको ७० हजार कमाउने प्रलोभन दिएकी थिइन् । ‘च्याउ प्याकिङ गर्ने काम भनेर १ लाख ७५ हजार रुपैयाँ बुझाइयो,’ झापाकी मीना संग्रौलाले भनिन्, ‘यसरी धोका पाइएला भनेर सोचिएकी थिइनँ ।’

 

आफू पूर्वमन्त्री तथा कांग्रेस नेता भीमबहादुर तामाङकी बुहारी भएको झूटो कुरा गर्दै उनले कामदारलाई पत्यारमा पारेकी थिइन् । तामाङ कांग्रेसमा इमान्दार नेताका रूपमा परिचित भएकाले पनि अधिकांश विमलाको झूटो विश्वासमा परेका थिए । ‘आफ्ना सुसुरा पूर्वमन्त्री भएको पनि बताइन्,’ पीडित देउबहादुरले भने, ‘होला त भनेर आश्वस्त भइयो ।’ ठगिनेमा तामाङ समुदायकै बढी छन् । विमलाले इजरायल, मेक्सिकोलगायत मुलुकमा लैजाने भनी पीडितबाट मोटो रकम उठाएकी थिइन् । ‘सुटुक्क जानुपर्छ । बाहिर हल्ला गर्नु हुँदैन भन्थी,’ इजरायल जान एक लाख रुपैयाँ तिरेकी सोलुकी पूर्णसिंह तामाङले भनिन्, ‘यसरी भाग्नु रहेछ ।’ पोल्यान्ड जाने ५८ जना मात्रै सरकारले पोल्यान्डका लागि अनुमति दिएपछि हालसम्म ५८ जना मात्रै कामदार गएका छन् । तीमध्ये ३१ महिला र २७ पुरुष छन् । 

 

वैदेशिक रोजगार विभागका अनुसार युनिभर्सलबाट १३, डि्रम्सबाट २२ र एलाइन्सबाट २३ जना मात्रै श्रम स्वीकृति लिएर त्यता गएका हुन् । पूर्वश्रममन्त्री मोहमद अफताब आलमले २०६७ असार २७ गते पोल्यान्डलाई नयाँ गन्तव्यको मुुलुकको रूपमा खोलेयता हालसम्म पोल्यान्ड लैजान १५ म्यानपावरले १ हजार ७ सय ७८ जनाको पूर्वस्वीकृति विभागले दिइसकेको छ । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024