गाउँको विकास गर्न विदेशबाट सहयोग

11 December, 2011

वीरेन्द्र केसी

रोजगारका लागि खाडी मुलुकमा गएकाहरूले आफ्नो कमाइको केही अंश गाउँको विकास गर्ने भन्दै छुटयाउने गरेका छन् । 

यहाँबाट दुबई गएकाले आफ्नो तलबबाट गाउँमा खानेपानी, विद्यालय निर्माण तथा मर्मत, धारा तथा कुवाको संरक्षण, मोटर बाटो निर्माण र अप्ठ्यारोमा परेका परिवारलाई आर्थिक सहयोग लगायतका थुप्रै काम गरिरहेका छन् । गाउँमा विकास निर्माणका लागि सरकारले बेवास्ता गरेकाले गाउँ पछाडि परेको भन्दै उनीहरूले तलब काटेर बर्सेनि लाखौं रुपैयाँ खर्च गरिरहेका छन् । उनीहरूले बर्सेनि २ लाख रुपैयाँभन्दा बढी सहयोग गरिरहेका छन् । यस्तो सहयोग ४ वर्षदेखि हुँदै आएको छ । 

 

उनीहरूको सहयोगले ४ वटा विद्यालयमा खानेपानीको व्यवस्था गरिएको छ । सरस्वती निमावि, चौहा प्राविमा खानेपानीको व्यवस्था भएको हो । खानेपानीको समस्या रहेको ७, ८ र ९ वडावासीका लागि कुवा र ट्यांकी निर्माण गरिएको छ । यसबाट ६० घर लाभान्वित भएका छन् । नेपाल राष्ट्रिय उमाविमा तारबारसहित मुलगेट निर्माण र जनज्योति प्राविमा भवन प्लास्टर भएको छ । भगवती निमाविमा फर्निचर र जीवन ज्योति प्राविमा शौचालय निर्माण भइरहेको छ । ३ लाखको लगानीमा उक्त विद्यालयमा फर्निचर बनाउने योजना रहेको ठुलापोखरा-दुबई सम्पर्क समाजका अध्यक्ष धनीश्वर पाण्डेले बताए । 

 

गाउँमा केाही बिरामी भएर उपचार गर्न नसके खर्चसमेत उपलब्ध पनि गराइरहेका छन् । ३९ वर्षदेखि सुतेर पढाउँदै आएका भगवती निमाविका शिक्षक कृष्णप्रसाद पौडेललाई १० हजार रुपैयाँले सम्मान पनि गरिएको छ । गाउँका ६० जना दुबईमा रहेका र उनीहरूले मासिक तलब काटेर संकलित रकमले गाउँमा विकास निर्माणका काम गर्दा स्थानीय गाउँले पनि खुसी छन् । ठुलापोखरा युएई समाज दुबई केन्द्रीय अध्यक्ष दामोदर बन्जालेले भने, ‘आफूले पाएको तलब काटेर मासिक दुई सय ४० रुपैयाँका दरले कोषमा जम्मा गर्ने गर्छौं ।’ एक वर्षमा गाउँमा दुई लाख बराबरको काम गर्ने उनले बताए । उनका अनुसार सामाजिक सद्भाव जागेर गाउँको विकास निर्माण गर्ने निर्णय गरिएको हो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024