नक्कली राहदानीसहित भारतीय महिला पक्राउ

17 November, 2011

प्रतिमा बाँस्कोटा

प्रहरीले नक्कली राहदानीसहित भारतीय महिलालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले भारत, बरमेटोकल नाम्पिmङ सिक्किमकी प्रीति राईलाई पक्राउ गरेको हो । उनले नवलपरासी पञ्चनगर-२ की सावित्रीकुमारी क्षेत्रीको ३३९५११५ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर बोकेको प्रहरीले जनाएको छ । उनी २०६८ असार ३० गते फोटो परिवर्तन गरिएको उक्त पासपोर्ट लिएर मुम्बईबाट दुबई पुगेकी थिइन् । घरेलु कामदारका रूपमा कुवेत पुगेकी उनलाई कुवेतस्थित नेपाली दूतावासले पत्ता लगाई कात्तिक २९ गते फ्लाइ दुबईको ३ एसएफ ८८४ को उडानबाट नेपाल फिर्ता पठाइदिएको थियो । ब्युरोले त्यही सूचनाका आधारमा राईलाई विमानस्थलको पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथमा पासपोर्ट नभेटिएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । उनले पछि अध्यागमनकै कर्मचारीले राखेको बताएकी थिइन् । अध्यागनको ६ नम्बर गेटमा रहेका विष्णु आचार्य भन्ने कर्मचारीले उनको राहदानी राखिदिएको फेलापरेको थियो । ‘सुरुमा छैन, छैन भन्दै टेबलको घर्रा जाँच गर्दै थिए,’ सीआईबीबाट अनुसन्धानका लागि पुगेका एक प्रहरी अधिकृतले भने, ‘शरीर खानतलासी गर्दा कोटको खल्तीमा उनको राहदानी फेला पर्‍यो ।’ आचार्यलाई प्रहरीले बोलाएका बेला आउने कागज गराएर अध्यागमनकै कर्मचारीको जिम्मा लगाएर पठाएको छ । प्रहरीले युवतीले राहदानी जानीजानी ती कर्मचारीलाई नदिएको बतायो । ‘विदेश जाने युवती सोझी छन्, उनलाई प्रहरीको फन्दाबाट उम्काउन बाहिर बसेको गिरोहले अध्यागमनका कर्मचारीको सहयोग लिएको हुनसक्छ,’ ती अधिकृतले भने । प्रयोगकर्ता राईले पाँचथरका गणेश सुब्बासँग बिहे गरेकी छन् । पक्राउ परेकी २८ वषर्ीया राईलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  उनलाई भारत सिक्कम घर भई मुम्बईमा बस्दै आएका पञ्चु प्रधान र उनकी श्रीमती सविता प्रधानले विदेश उडाएको ब्युरोका प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले बताए । प्रधानद्वयले राईलाई ५ हजार भारतीय रुपैयाँ मात्र लिएर विदेश पठाएका थिए । डीआईजी अर्यालले भने, ‘नेपालमा राहदानी कडाइ हुन थालेपछि भारतमा गिरोह सक्रिय भएको देखिन्छ ।’ उनले यस्तो अपराध देशका लागि घातक रहेको बताए । ‘भारतीय नागरिकले नेपालको राहदानी बोकेर अन्य देशमा पुगी अपराध गरे त्यो अपराध नेपालीले गरेको देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार भारतका विभिन्न ठाउँमा रहेका गिरोहले राहदानीमा फोटो परिवर्तन गराएर खाडी मुलुकमा महिलालाई पठाउने गरेको पाइएको छ । भारतमा म्यानपावर खोलेर नक्कली राहदानी बनाई पठाउने गरेको भेटिएको छ । प्रहरीले पछिल्लो २ महिनामा मात्रै भारतका विभिन्न सहरबाट फोटो परिवर्तन गरेर विदेश पुगी फर्किएका ४ जनालाई पक्राउ गरिसकेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024