मलेसियामा तीन नेपाली महिला अलपत्र

21 October, 2011

रामचन्द्र गिरी  

सम्झौताअनुसार तलब- सुविधा माग गर्दा कम्पनीले निकालिदिएपछि मलेसियामा ३ नेपाली महिला अलपत्र परेका छन्् । 

मलाक्कास्थित एक धागो -इलास्टिक) कम्पनीले निकालिदिएपछि गाउँखर्क-६ नुवाकोटकी लाक्पा डोल्मा तामाङ, सोही स्थानकी सिर्सानी तामाङ र सिर्जना तामाङ एक महिनादेखि अलपत्र परेका हुन्् । 

 

एक सामाजिक संस्थाको सहयोगमा तीन साताअघि उनीहरू नेपाली दूतावास पुगेका थिए । दूतावासले सम्बन्धित पक्षसँग बुझेर समस्या सुल्झाउने आश्वासन दिए पनि अहिलेसम्म चासो नदिएको उनीहरूले बताए ।

 

पाँच महिनाअघि काठमाडौंस्थित आरबी रिक्रुटमेन्ट प्रालिमार्फत ‘कम्प्युटरको पार्टपुर्जा प्याकिङ गर्ने काम’ मा भन्दै ल्याइएका उनीहरूलाई धागो कम्पनीमा काम लगाइएको थियो । पीडितमध्येकी एक लाक्पा डोल्माले बिहीबार कान्तिपुरसित भनिन्, ‘हामीलाई म्यानपावरले कम्प्युटरको पार्टपुर्जाहरू प्याकिङ गर्ने काम हो भनेर पठायो । हामीलाई झुक्याएर धागो कम्पनीमा पठाइएको रहेछ ।’ यसबारे सुरुदेखि नै कम्पनी मालिक र स्थानीय एजेन्टलाई भन्दै आए पनि कुनै सुनुवाइ नभएको उनले बताइन् । कम्पनी र म्यानपावर कम्पनीसँग सम्झौतापत्रअनुसार सेवा सुविधा दिन आग्रह गर्दा कम्पनी एजेन्टले ज्यान मार्नेसम्मको धम्की दिँदै कामबाट निकालेको पीडितहरूले बताए । 

 

सम्झौतापत्रअनुसार उनीहरूले मासिक ७ सय ५० रिंगेट पाउने उल्लेख छ । म्यानपावर कम्पनीले प्रतिव्यक्ति ६० हजार रुपैयाँ लिई मलेसिया पुगेपछि तलबबाटै प्रतिव्यक्ति ११ सय रिंगेटका दरले कटौती गरेर लिने गरी -डिडक्सन पेपर) पठाएको कारण यहाँ कम्पनीले प्रतिव्यक्ति २ सय रिंगेटका दरले तलबबाट कटौती गर्दै आएको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024