मरुभूमिमा दसैंको स्वाद

4 October, 2011

देवेन्द्र भट्टराई

संखुवासभाका फुर्वा शेर्पा, कास्कीका मनबहादुर विक र मोरङका हर्क सुब्बा खाडीको कतार आएको १५ वर्ष पूरा भयो  र सबै वर्षमा उनीहरूको दसैं-तिहारजस्ता पर्वहरू यही मरुभूमिमै बितिरहेका छन् । 

आफ्ना चाडबाडको सम्झना र स्वाद भुल्न नसक्दा उनीहरू दसैं रमझमको गाउँले तस्वीर वा भिडियो मगाएर मरुभूमिमा त्यही हेरेर मनमा सन्तोष मान्ने गर्छन् । ‘समयमा जतिसुकै परिवर्तन आएको होस् अथवा आफ्नो गाउँघरबाट हामी जति नै टाढिएका हौं’, शेर्पा भनिरहेका छन्, ‘चाडबाडले छोप्न लागेपछि हामी पनि यता बसेर क्यालेन्डरका पानामा रातो संकेत भर्न थालिहाल्छौं ।’

बगैंचा, भेडीगोठ, उटरेस वा अरू श्रमिक जेजस्तो काम भए पनि दसैंको टीकाका एक दिन अथवा केही घन्टा मरुभूमिका यी श्रमिक नेपालीले विदा पाउने गरेका छन् । ‘त्यही हो, समूहमा मिलेर खसी किन्छौं । यो अरब जगतमा भेटिने भेडा वा खसीको बोसो नहुने भएकाले आफ्नो ठाउँको जस्तो स्वाद त पाउनै सकिन्न’, विक भनिरहेका थिए-‘तैपनि दसैं सम्झेर रमाउने गरेका छौं ।’

कतार, युएई, साउदी अरेबियासहित अधिकांश खाडी मुलुकका श्रमिक क्याम्पहरूले पनि दसैंमा एकदिनको ‘तलबी छुट्टी’ दिने गरेका छन् । साउदी अरेबियाको दमाममा रहेका सेफ्टी इन्जिनियर राधाकृष्ण कोइरालाका अनुसार अव्यवस्थित र भित्री मरुभूमिमा रहेका भेडीगोठ वा बगैंचामा काम गर्ने नेपालीका लागि भने आफ्ना चाडबाड आए-गएको पनि पत्तो हुन्न । एक दसकदेखि खाडी मुलुकहरूमा काम गरिरहेका कोइरालाको अनुभवमा दसैं-तिहार चाडबाडका छेउमा नेपालमा रहेका आफन्तलाई फोन गर्दा बज्ने मालश्री धुनको ट्युनले मात्रै पनि मन हुरुक्क बनाउने गर्छ । ‘चाडबाडको रंग र स्वाद भनेको रगतमा मिसिएर बहने चिज रहेछ, नेपालमा छँदै पनि चाडबाड भनेर खासै केही गरिने होइन, तर मुलुक बाहिर आएपछि भने आफूलाई सबैभन्दा नजिकबाट जोड्ने चिज यही हुने रहेछ’, उनी भन्छन् ।

खाडीका कतार, कुवेत, साउदी अरेबिया र युएईमा रहेका नेपाली दूतावासहरूले हरेक वर्ष दसैंका बेलामा दूतावासमा वा राजदूत निवासमा सामूहिक टीका लगाउने र खानपिन गर्ने कार्यक्रम गर्ने गरेका छन् । तर सीमित र पहुँचयोग्य नेपालीका लागिमात्रै यो भेलाको अर्थ रहने गरेको छ । सामाजिक कल्याण र समारोहका लागि सरकारले वर्षमा बढीमा ३ लाख रुपैयाँ हरेक दूतावासलाई दिने गरेकोमा पनि यो चारो-खर्चले चाडपर्व र उत्सवको प्रबन्ध उचित रूपमा हुनसकिरहेको छैन । विभिन्न कारणले बिचल्लीमा परेर दूतावासको सेल्टर हाउसमा बसिरहेका नेपाली श्रमिकका लागि भने स्थानीय संघ-संस्थाले दसैं-तिहारमा खानपिन र लुगाफाटाको प्रबन्ध मिलाउने गरेका छन् ।

मध्यमवर्गीय परिवारको श्रम गन्तव्य बनेको खाडी मुलुकहरूमा भेला भएका १० लाखभन्दा बढी नेपालीका लागि दसैं-तिहार वा आफ्ना उत्सवहरू सम्झने र मनाउने उपायमा नजिकका साथी बनेका छन्-नेपाली कलाकारहरू । मनोज गजुरेल वा कोमल वली, जिरे खोर्सानी वा मेरी बास्सै । जीउज्यान छाडेर नाचगान गर्ने अन्य नृत्याङ्गनाहरू दसैं-तिहारको सिजनमा खाडी मुलुकहरू पुगेकै हुन्छन् । कतारमा चार वर्षदेखि श्रम गर्दै आएका गोर्खा, बगुवाका राजेश्वर ढकाल यिनै कलाकारहरूसँग उठबस गरेर वा तस्वीर खिचाएरै भए पनि चाडबाडको न्यास्रो मेट्न सकिने अनुभूति इमेलमा बाँडिरहेका छन् । ‘यता आएपछि सम्झनेभन्दा बिर्सने कुरा बढी बनेका छन्’, उनी भनिरहेका थिए- ‘आफ्नो ठाउँ, चाडबाड र खुसीका कुराहरू सम्झन थाल्ने हो भने यता रोएको-रोयै गर्नुपर्ने अवस्था आउन सक्छ ।’ यसबाहेक यही चाडबाडका बेला कुनै श्रमिक क्याम्पमा रातरातभर भलिबल म्याच भइरहेको हुन्छ भने कतै नाचगान र गानाबजाना ।     

कतारमै तीन वर्ष श्रमिक बनेर भर्खरै घर फिरेका काभ्रेका कवि महेश्वर नेपालले भने दसैं-तिहारजस्ता पर्वका छेउछाउमा मरुभूमिमा पनि नेपालका गाउँघरमा जस्तो लिङ्गेपिङ खोज्दै हिँडेका रहेछन् । उनले केही साथीभाइसँग मिलेर मरुभूमिमा पिङ थाप्ने योजनासमेत बनाएका रहेछन् । तर स्थानीय प्रशासनसँग अनुमति लिने क्रममा पिङको अर्थ र महत्त्व बुझाउन नसक्दा झन्डै अनर्थ भएको रहेछ । ‘तैंले बनाउन खोजेको ‘हेङगिङ-रोप’ बारेको जानकारीमात्रै पनि खतरापूर्ण छ, अब आइन्दा यस बारेमा कुरा नगर्नु’ भनेर उनले स्थानीय अधिकारीबाट जवाफ पाएका रहेछन् । कतारमा १५ वर्षदेखि बस्दै आएका बुद्धिजीवी शिखर वैद्य पनि जहिल्यै र जे कुरामा अनर्थ र असमानता खोजेर साध्य नहुने बताउँछन् । कम्तीमा नेपाल-नेपालीलाई एकताबद्ध बनाउने एउटा आधारसम्मत चाड, दिवस र परिपाटीको सुरुवात हुनुपर्ने धारणा उनको छ । ‘यो एकताको सूत्र दसैं-तिहार होस् वा अरू केही, हामीलाई एकठाउँमा ल्याउने एउटा सूत्र अब चाहिएको छ । सधैं छरिएर र सधैं तेरो-मेरो भनेरै हाम्रो एकताबद्ध सन्देश देश-दुनियाँमा जान नसक्ने निश्चित भइसकेको छ’, उनी भन्छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024