स्वीकृतिविना सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई म्यानपावर कम्पनीलाई कारबाही

17 August, 2023

स्वीकृतिविना सामाजिक सञ्जाल प्रयोग गरी वैदेशिक रोजगारीमा पठाउने भनी विज्ञापन गर्दै राहदानी संकलन गर्ने दुई म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ।

विभागले क्यापिटल रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि. र इगल म्यानपावर कन्सल्टेन्ट प्रा.लि.लाई दुई–दुई लाख जरिवाना गराएको हो। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विभागबाट इजाजतपत्र नलिई कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था छ।

त्यसैगरी, ऐनको व्यवस्थाविपरीत सामाजिक सञ्जालमा वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन प्रकाशन गरी भ्रम सिर्जना गर्ने ललितपुरस्थित सुयान एजुकेसन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमाथि अनुसन्धान गरिरहेको विभागले जनाएको छ।

विभागले वैदेशिक रोजगारीमा जान इच्छुकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024