विदेशको राम्रो कमाइ त्यागेर स्वदेशमा भैंसीपालन व्यवसाय

3 August, 2023

सुर्खेत, साउन १७ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नुभएन । स्वदेश फर्किनुभयो ।

उहाँ स्वदेश फर्किएको करिब दुई वर्ष भयो । २०७३ मा मलेसिया पुगेर २०७८ मा देश फर्किनुभएको थियो । वैदेशिक रोजगारीका क्रममा कमाएको पैसाले स्वदेशमै व्यवसाय गर्ने सोच उहाँले बनाउनुभयो । बचत भएको रकमको ठूलो हिस्सा भैँसीपालनमा लगाउनुभयो । विगत दुई वर्षदेखि भैँसीपालन गरिरहनुभएका रेग्मीको अहिले लोभलाग्दो भैँसी फर्म छ ।

भैँसीपालनका लागि हालसम्म ३५ लाख खर्च भइसकेको छ । लगानी थप्दै गएको उहाँको भनाइ छ । सुरुमा २५ लाख लगानी गरेर व्यवसाय सुरु गर्नुभयो । सफलता मिल्दै जाँदा व्यवसायमा लगानी बढाएको उहाँको भनाइ छ ।

‘विदेशमा गरिने परिश्रम नेपालमा गर्नसके सफलता प्राप्त गर्न गाह्रो छैन’ रेग्मीले भन्नुभयो, ‘विदेशमा १८ घण्टा काम गर्छौं । कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ । जति कमाए पनि कमै देख्छौँ ।’

हेमराज उमेरले २८ वर्षका हुनुभयो । पाँच वर्ष मलेसिया बसेका उहाँलाई आफ्नै देशमा केही गर्न मन छ । विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभयो । ‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’ उहाँले थप्नुभयो, ‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुनेरहेछ ।’

विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच पलाएको उहाँको भनाइ छ । भैँसीपालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ । घरपरिवारको सहयोग हुँदा आफूलाई व्यवसाय सञ्चालन गर्न निकै सहज भएको रेग्मीले बताउनुभयो ।

उहाँले स्वदेश फर्केलगत्तै श्रीराम हनुमान एग्रो प्रा.लि. दर्ता गरेर व्यवसाय अगाडि बढाउनुभएको छ । उहाँको दैनिकी भैँसीको रेखदेख गरेर बित्छ । रेग्मीलाई यतिबेला दूध बेच्न भ्याइनभ्याइ छ । दैनिक ३० लिटर दुध बजारमा बेच्नुहुन्छ । पाँच लिटर गाउँमा र २५ लिटर डेरी उद्योगमा बेच्नेगरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिलिटर ७५ रूपियाँका दरले दूध बिक्री गर्दा एक दिनमा उहाँको कमाइ दुई हजारभन्दा बढी हुन्छ । ‘दूध बिक्रीमा कुनै समस्या छैन, घरमै आएर लिन्छन’ उहाँले भन्नुभयो, ‘मागअनुसार दूध पुर्‍य ाउन अझ सकिएको छैन । केही गाउँमै बिक्री हुन्छ । बाँकी दूध डेरीले खरिद गर्छ ।’

भैँसीपालनले परिवारमा आर्थिक समृद्धि ल्याएको रेग्मीले बताउनुभयो । भनेकै मूल्यमा दुध सहज तरिकाले बिक्री वितरण भइरहेको छ । उहाँले भन्नुभयो, ‘बजारमा माग भएजति दूध मैले पुगाउन सकेको छैन । त्यसका लागि भए पनि भैँसीको सङ्ख्या थप्नुपर्ने अवस्था आएको छ ।’

व्यवसाय सञ्चालन गर्न उहाँले दश रोपनी जग्गा भाडामा लिनुभएको छ । वार्षिक एक लाखका दरले दश वर्षका लागि सम्झौता गरेर व्यवसाय सुरु गरेको उहाँले जानकारी दिनुभयो । व्यवसायबाट वार्षिक आम्दानी चार लाख रुपियाँभन्दा बढी हुन्छ ।

भैँसीपालनले आफूलाई रोजीरोटीसँगै इज्जत, प्रतिष्ठा र आत्मसम्मान दिइरहेको रेग्मीको भनाइ छ । अनुदान पाएमा व्यवसायलाई अझै बढाउने उहाँले सुनाउनुभयो । व्यवसायमा आफू सँगसँगै एक जनालाई रोजगारी पनि दिनुभएको छ ।

प्लस–टु उत्तीर्ण गर्नुभएका उहाँको ध्यान जागीरतिर गएन । विदेशबाट फर्किएर भैँसीपालन गर्नुभयो । सुरुमा कैलालीको धनगढीबाट चार वटा भैँसी ल्याउनुभयो । अहिले उहाँको फर्ममा सात वटा भैँसी, पाँच वटा पाडापाडी छन् । फर्मबाट उत्पादन भएका पाडापाडी अन्य किसानलाई बेच्नेगरेको रेग्मीले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केर व्यवसायमा लागेका हेमराज एक उदाहरणीय पात्र बन्नुभएको छ । थुप्रै युवाहरू वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लाग्नुभएको छ । उहाँहरूमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024