कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

1 August, 2023

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको छ । सोहीकारण मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै आएका भ्रामक सूचनामा विश्वास नगर्न मन्त्रालयले सचेत गराएको छ ।

मन्त्रालयले भनेको छ, ‘मौसमी कामदारका रुपमा वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको छैन ।’

मौमसी कामदारको भिषामा दक्षिण कोरिया लगायत अन्य देशमा जान कोही कसैलाई रकम बुझाउने काम नगर्न समेत मन्त्रालयले सूचित गरेको छ । त्यसरी कसैले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगात अन्य मुलुकमा मौसमी कामदारका रुपमा पठाइदिने भन्दै रकम माग गरेमा त्यसको सूचना दिएर ठगी निरुत्साहित गर्न सहयोग गर्न समेत मन्त्रालयले भनेको छ ।

वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति मात्र आधिकारिक कागजात हुने भन्दै त्यसबाहेकका कुनै पनि कागजातका आधारमा वैदेशिक रोजगारीमा नजान समेत मन्त्रालयले सूचित गरेको छ ।

एजुकेसन कन्सल्टेन्सी र ट्राभल एजेन्सीलाई कारवाही हुने

गैरकानुनी रुपमा नेपाली नागरिकलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एजुकेसन कन्सल्टेन्सी र ट्राभल एजेन्सीबाट यस्तो काम भएको पाइए कडा कारवाही हुने समेत मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले खुला गरेका श्रम गन्तव्य गन्तव्य मुलुकमा वैदेशिक रोजगार विभागमा कानुन अनुसार दर्ता भएका इजाजतपत्र वाला संस्थाबाट मात्र वैदेशिक रोजगारीमा जान सक्ने कानुनी प्रावधान रहेको समेत मन्त्रालयले स्मरण गराएको छ ।

कहाँ गर्ने ठगीको उजुरी ?

वैदेशिक रोजगार विभागको श्रम कल सेन्टर टोल फ्री नम्बर ११४१, नजिकका श्रम तथा रोजगार कार्यालय, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको रोजगार सेवा केन्द्र, मन्त्रालयको फेसबुक पेज, निःशुल्क फोन १६६००१५०००५ मा उजुरी गर्न सकिन्छ । यसबाहेक भाइवर नम्बर ९८५१३४७२२२ र ९८०१८०००१३ मा कल वा म्यासेज गरेर पनि उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024