मलेसियामा नेपाली कामदारको ओइरो

1 August, 2023

१५ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीबीच लोकप्रिय गन्तव्य मलेसियामा यस वर्ष कीर्तिमानी संख्यामा नेपाली पुगेका छन् । आर्थिक वर्ष (आव) २०७९/८० मा मलेसियामा नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल २ लाख ५९ हजार ५९४ जना नेपाली रोजगारीका लागि पुगेका छन् ।

वैदेशिक रोजगार विभागको आँकडाअनुसार यो एक वर्षमा मलेसिया पुग्ने नेपालीको अहिलेसम्मकै उच्च संख्या हो । एक वर्षमा मलेसियाका लागि २ लाख ५२ हजार २९५ जना पुरुष र ७ हजार २९९ जना महिला कामदारले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्रै २ लाख १९ हजार ३५७ जना रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

मलेसिया नेपालीबीचमा पहिलादेखि नै लोकप्रिय गन्तव्य हो । त्यसमा पनि कोभिड-१९ पछाडिका अवरोध हट्दै यो मुलुकबाट आएको ठूलो मागले श्रमिक आपूर्तिको संख्या पनि बढेको विभागका महानिर्देशक मदन दाहालको विश्लेषण छ । ‘मलेसियाको अर्थतन्त्रमा पनि राम्रो सुधार भएको हुनुपर्छ,’ उनले भने, ‘अर्कोतर्फ नेपाली कामदार धेरै माग हुने कतारमा यो वर्ष विश्वकप भयो, यसले पनि डिमाण्ड मलेसियामा बढी भएको हुनुपर्छ ।’

मलेसियामा अहिले श्रमिकको औसत् आम्दानी पनि बढेको छ । यहाँ न्यूनतम् १५ सय रिंगिट अर्थात् ४३ हजार ८ सय १४ रुपैयाँ पारिश्रमिक श्रमिकले पाउने गरेका छन् । मलेसियाको हावापानी नेपालसँग मिल्दोजुल्दो रहेको छ । सोहीकारण उस्तै पारिश्रमिक भएका मुलुकबाट फर्किएर मलेसिया रोज्ने नेपालीको संख्यासमेत उल्लेख्य रहेको बताइएको छ । कोभिड-१९ महामारीको समयमा भने २ वर्ष मलेसियाले श्रमिक भित्र्याउन बन्द गरेको थियो ।

कुन आवमा मलेसियामा कति गए नेपाली ?

आव २०७९/८० : २,५९,५९४आव २०७८/७९ : ३६,६४४आव २०७७/७८ : १,१३५आव २०७६/७७ : ५९,७१४आव २०७५/७६ : ४२,१४६

वैदेशिक रोजगारीमा जानेको संख्यामा कीर्तिमान

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो । एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो । आर्थिक वर्ष २०७१/७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।

विभागको तथ्यांकअनुसार मलेसियापछि नेपालीका लागि दोस्रो आकर्षक गन्तव्य कतार बनेको छ । यो मुलुकमा एक वर्षमा १ लाख ३३ हजार २६२ जना नेपाली कामका लागि पुगेका छन् । युनाइटेड अरब इमिरेट्समा १ लाख १६ हजार १५९ जना नेपाली कामको खोजीमा पुगेका छन् । चौथो गन्तव्य मुलुक साउदी अरेबिया हो ।

यहाँ कामको खोजीमा १ लाख १२ हजार ७७७ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय कोरिया, जापान तथा युरोपेली मुलुकमा समेत नेपाली कामदारको संख्या उल्लेख्य बढ्दै गएको छ । विभागका महानिर्देशक दाहालका अनुसार खाडी मुलुकबाट क्रमशः युरोपतर्फ कामदारको खोजी हुन थालेको देखिन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024