युरोप पठाउने बहानामा भएका ठगीबारे अनुसन्धान भइरहेको छ : श्रम मन्त्रालय

31 July, 2023

काठमाडौँ — आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई युरोप पठाउने भन्दै भइरहेको ठगीबारे शुक्ष्म अनुसन्धान भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल लगायतका युरोपियन मुलुकहरुमा रोजगारी दिने बहानामा भइरहेको ठगीको अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

‘कोही कसैले ठगी गर्ने उद्देश्यले प्रभावमा पारेमा सम्बद्ध निकाय मार्फत सूचना दिई अनधिकृत रुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि समेत मन्त्रालय सबैमा अनुरोध गर्दछ’ शुत्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले इजाजतप्राप्त संस्था मार्फत वैदेशिक रोजगारमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलव सेवा सुविधा, आवश्यक सीप तालिमबारे जानकारी राख्न अनुरोध गरेको छ । ‘रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्री भिषा फ्री टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा आफैं उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकीन गरेर मात्र रोजगारीमा जान सम्बन्धित सबैमा अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न अनुरोध छ ।’

मन्त्रालयले विभागमा दर्ता भएका इजाजतप्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारहरुले व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनधिकृत व्यक्ति वा संस्था एवम् सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई विभाग वा सम्बन्धित संघसंस्था तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर जान मन्त्रालयले आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024