विज्ञान अधिकारी
विज्ञान अधिकारी
मलेसियाको केन्द्रीय बैंकले नयाँ नीति तयार गरेपछि त्यहाँका साना नेपाली रेमिट्यान्स कम्पनी संकटमा परेका छन्। बैंकले रेमिट्यान्स कम्पनी चलाउन चुक्ता पुँजी तीन लाख रिंगिटदेखि २० लाख रिंगिटसम्म राख्नुपर्ने नीति ल्याउनपछि साना कम्पनीलाई संकटमा परेको हो।
बैंक नेगेराले ‘मनी सर्भिस बिजनेस’ कानुन ल्याउने भनेर मनी ट्रान्सफर कम्पनीलाई चुक्ता पुँजी तीन लाखदेखि २० लाखसम्म राख्नुपर्ने प्रावधान ल्याउन लागेको छ।
‘मलेसियाले ल्याउने भनिएको यो प्रावधानपछि साना कम्पनी चल्न सक्ने अवस्था हुँदैन,’ नेपाल रेमिट्यान्स एसोसिएसनका उपाध्यक्ष हरिमान लामाले मंगलबार नागरिकसँग भने, ‘अब ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिँदैन।’ बैंक नेगेराले नोभेम्बरदेखि यो प्रावधान लागु गर्दैछ। यो कार्यान्वयनमा आएपछि नेपालीले स्थापना गरेका साना मनी ट्रान्सफर कम्पनी बन्द हुने छन्।
बैंकले तीन लाख रिंगिट चुक्ता पुँजी भएकाले एउटामात्र शाखा खोल्न पाउने प्रावधान राखेको छ। पाँचदेखि २० लाखसम्म चुक्ता पुँजी भएको कम्पनीले पाँचवटा शाखा खोल्न र मनी चेन्जरको काम गर्न पाउँछ भने २० लाख रिंगिटभन्दा माथि चुक्ता पुँजी भएको कम्पनीले एलसी, मुद्रा र रेमिट्यान्सको कारोबार गर्न पाउँछन्।
मलेसियामा नेपालीले स्थापना गरेका रेमिट्यान्स कम्पनीमा आइएमई, प्रभु, गोर्खा, क्यु रेमिट, युनिक चेन्ज, मास्टर रेमिट, डेल्टा, इन्सेन्टिभ, क्रिस्टल र मर्चेन्ट ट्रेड सञ्चालनमा छन्। बैंकको यो प्रावधानबाट ठूला मनी ट्रान्सफर कम्पनी आइएमई, प्रभु र मर्चेन्ट ट्रेडलाई भने कुनै समस्या पर्दैन। लामाले प्रावधान आउनु अघि नै अहिले धेरै मनी ट्रान्सफर कम्पनी समस्यामा परिसकेको बताउँछन्।
‘मलेसियाले पहिले नै त्यहीका नागरिक (भूमिपुत्र)लाई प्राथमिकता दिएकाले समस्या परिरहेको थियो। उनका अनुसार चुक्ता पुँजी कम भएका कम्पनीले जनशक्ति राखेर रेमिट्यान्स कारोबार गर्न सक्दैनन्। लामा पछिल्लो समय हुन्डीको कारोबार बढेकाले समेत वैध रुपमा कारोबार गर्ने समस्यामा परेको बताउँछन्।
‘हुन्डीको कारोबार बढेकाले वैध रुपमा रेमिट्यान्स पठाउने कम्पनी अझ संकटमा परेको छ,’ उनले भने, ‘हुन्डी कारोबारलाई नियन्त्रण गर्न राष्ट्र बैंकले समेत प्रभावकारी भूमिका निभाउनुपर्छ।’ लामाले रेमिट्यान्स कम्पनीबारे नकारात्मक प्रचार/प्रसार हुन थालेपछि हुन्डीको कारोबार बढेको बताए।
‘अहिले त्यहाँको रेस्टुरेन्टबाट समेत हुन्डीको कारोबार हुन थालेको छ,’ उनले भने, ‘प्रभावकारी पहल नभएमा यो अझै बढ्छ।’ मलेसियामा झन्डै ६ लाख नेपाली छन्। पछिल्लो समय मलेसियाबाट सबैभन्दा बढी रकम बैंकिङ सञ्जालबाट रकम आउँथ्यो। तर पछिल्लो समय त्यहाँ रहेका कतिपय नेपाली मनी ट्रान्सफर कम्पनीले समेत दुई वटा सफ्टवेयर चलाएका छन्। स्रोतका अनुसार मलेसियाबाट नेपालमा रेमिट्यान्स पठाउने अरु कम्पनीले पनि नेपाल पैसा नपठाएर सिंगापुर, दुबईलगायत मुलुकमा महँगोमा अमेरिकी डलर बिक्री गर्न थालेको जानकारी पाएपछि मलेसियाको केन्द्रीय बैंकले यस्ता कम्पनीलाई निगरानीमा राखेको थियो। त्यहाँ रहेका केही रेमिट्यान्स कम्पनीले दुईवटा सफ्टवेयर प्रयोग गरेर विदेशी मुद्रा बाहिर पठाउने गरेका थिए।
‘बिहानै झुठो ठेगानामा रकम पठाउने र बेलुका फर्केको उक्त रकम ठेगाना नमिलेको भन्दै अन्यत्रै लैजाने गरिरहेको पाइएको थियो,’ मलेसियामा रहेका मनी ट्रान्सफर कम्पनीका सञ्चालकले भने। नेपालमा रेमिटेन्स पठाउँदै आएको थ्री स्टार रेमिटेन्स कम्पनीले रकम नपठाएको भन्दै मलेसियाको केन्द्रिय बैंकले बन्द गरिदिइसकेको छ। थ्री स्टारले नेपालका विभिन्न बैंकलाई रकम पठाउने एजेन्टका रुपमा नियुक्त गरी कारोबार गर्दै आएको थियो।