डम्बरकृष्ण श्रेष्ठ
देश पनि हेर्ने र कमाइ पनि गर्ने भनेर ५ असारमा कुवेत पुगेका काभ्रे, कुशादेवीका सुमन घिमिरे (२३) ४० दिनपछि नेपाल फर्किए, तर कफिनमा। बानेश्वरस्थित स्काईलार्क एजुकेशन कन्सल्टेन्सीबाट मासिक रु.३५ हजारको जागिर खान गएका सुमनको हत्या भएको आशङ्का परिवारको छ।
गाउँमा मोबाइलको रिचार्ज कार्ड व्यापारबाट मासिक रु.१५ हजार कमाइरहेका सुमन र उनका नातेदार भाइ शशिधर घिमिरे (२२)लाई ८५-८५ हजार रुपैयाँ लिएर स्काईलार्क एजुकेशन कन्सल्टेन्सीका विशालविक्रम चौधरीले कुवेत उडाएका हुन्। कतिपयले विशाल पाठक पनि भनेर चिन्ने चौधरीले सुमन र शशिधरको वैदेशिक श्रम इजाजतपत्र महाराजगञ्जस्थित गोविन्द आचार्य र रमेशराज लामा सञ्चालक रहेको एभरग्रिन म्यानपावरबाट निकालेका थिए। श्रम इजाजतपत्रमा वेटर भनिए पनि रु.३५ हजार तलब दिने जुस उद्योगमा काम गर्ने भन्दै पठाइएका सुमन र शशिधरलाई कुवेत पुगेपछि फर्मेनिया शहरकी रिमा नामक एक भारतीय दलालले अलि मोहम्मद भन्ने व्यक्तिलाई बेचेकी थिइन्।
कुवेतको जमैमा विलबारमा मासिक रु.१० हजारमा भेडा-बाख्रा र ऊँटको हेरचाह गर्ने काममा पठाइएपछि घर फर्कन खोज्दा पाएनन्। सुमनको मृत्युपछि उद्धार गरेर फर्काइएका शशिधरका अनुसार गोठ मालिकले “तिमीहरूलाई मैले किनेर ल्याएको हुँ, भाग्ने कोशिश गरे मारिदिन्छु” भनेका थिए। मरुभूमिको ५५ डिग्री सेल्सियसको तापक्रममा त्रिपालभित्र सुत्नु परेको बताउँदै शशिधर भन्छन्, “खानेकुरा पनि सडेगलेका हुन्थे, हामीलाई नर्कमा बेचिएको रहेछ।”
त्यहाँ दुई वर्षदेखि दासको रूपमा राखिएका पूर्वी नेपालका लालबहादुर क्षेत्रीले लुकाएर मोबाइलको सिमकार्ड दिएको शशिधर बताउँछन्। सुमनले त्यसबाट नेपालमा दाजु दिनेशलाई काम राम्रो भएन, जसरी हुन्छ चाँडै फर्काउनू भनेपछि कुशादेवीका पूर्व गाविस अध्यक्ष भीम न्यौपानेलाई लिएर घिमिरे परिवार चौधरीको कन्सल्टेन्सीमा पुगेका थिए। दिनेश भन्छन्, “उसले म जसरी पनि फर्काउँछु तर प्रहरी र श्रम विभागमा नजानुस् भनेर १५ दिन झुलायो।”
२५ असारसम्म फर्काउँछु भनेर टारिरहेका चौधरीले ३ साउनमा हवाईजहाजको टिकट दिए, तर नक्कली। त्यसपछि गायब चौधरीलाई खोज्दाखोज्दै उता सुमनले झुण्डिएर आत्महत्या गरेको खबर आयो। कुवेतस्थित नेपाली दूतावासको सक्रियतामा उद्धार गरिएका शशिधरका अनुसार, घर फर्कन जिद्दी गरेपछि उनीहरुलाई ५ साउनमा अलग-अलग राखिएको थियो। शशिधर भन्छन्, “त्रिपालमा सुत्नुपर्ने मरुभूमिमा झुण्डिएर आत्महत्या गर्न सम्भव नै थिएन, कुटेरै मारेका हुन्।” १७ साउनमा नेपाल ल्याइएको शवको घाँटी, ढाड र काखीमा नीलडाम देखेको दाजु दिनेशले बताए।
एभरग्रिन म्यानपावर र स्काईलार्क एजुकेशन कन्सल्टेन्सीको मिलेमतोमा हालसम्म ४०० जना श्रम स्वीकृति लिएर विदेश गएको देखिएको छ। उनीहरू कहाँ, कस्तो अवस्थामा छन् कसैलाई जानकारी छैन। दाजु दिनेशले कन्सल्टेन्सीका चौधरी र म्यानपावरका गोविन्द आचार्य, रमेशराज लामालगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। चौधरी पक्राउ परे पनि अन्य पाँच जना फरार छन्। दिनेश भन्छन्, “मेरो भाइको जस्तो दशा अरूको नहोस् भनेर लडेको हुँ।”