चार दलाललाई ७ दिने पुर्जी

14 September, 2011

कतारमा कामका लागि आएर भिसा बेचबिखनमा संलग्न  भएका ४ जना भिसा कारोबारीलाई नेपाली दूतावासले ७ दिनभित्र सम्पर्क राख्न सार्वजनिक  सूचना जारी गरेको छ । दूतावासले भिसाको कारोबार गरी कामदार अलपत्र पारेका हरि घिसिङ, सूर्य पाण्डे, गमबहादुर लामिछाने र महेश साहलाई उपस्थितिका लागि सार्वजनिक सूचना जारी गरेको हो ।

भिसा निकाल्नेको र कामदार मगाउनेको घर ठेगाना खुलेको छैन । उनीहरूले दूतावासबाट भिसा र कामदार रोजगार करारनामा प्रमाणित नै नगरी नेपालमा नक्कली करारनामा बनाएर कामदार झिकाएका थिए । उनीहरूले पठाएको भिसामा आएका कामदार अलपत्र परेपछि दूतावास पुगेका थिए । दूतावासले समस्या समाधानका लागि भिसा कारोबारीलाई पटक-पटक बोलाउँदा पनि नआएपछि सार्वजिनक सूचना जारी गरेको जनाएको छ । दूतावासले चारै जनाको मोबाइल नम्बरसहित सूचना निकालेको छ । ‘पटक-पटक आउँछु भन्दै ढाँटेको र पछिल्लो समयमा दूतावासको फोनसमेत रिसिभ गर्न छाडेकाले सार्वजनिक सूचना जारी गर्नुपरेको छ’ श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले भने, ‘एक साताभित्र उपस्थित भएर समस्या समाधान नगरे दूतावासले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउँछ ।’

 

दूतावासले जारी गरेको सूचनामा उल्लेख मोबाइलमा कान्तिपुरले सम्पर्क गर्दा महेश साहको मोबाइल अफ थियो । अन्य दुई जनाले फोन रिसिभ गरेनन् । सम्पर्कमा आएका घनपोखरा, लमजुङका गमबहादुर लामिछानेले आफूले दूतावासमा कामदार लिन कम्पनीको पीआरओलाई दूतावास पठाएको जनाउँदै श्रम सहचारीले दूतावासमा कामदारको रोजगार करारनामा नगरी पठाउँदिन भनेपछि काममा लगाउन नसकेको जनाए । नेपालबाट पठाउने एजेन्टले कामदार आएको आफूलाई जानकारी नदिएपछि उनी (चतुरराज गिरी) एयरपोर्टमा अलपत्र परेको स्वीकार्दै लामिछानेले उनलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको बताए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024