इजरेली प्रधानमन्त्रीकी पत्‍नीद्वारा नेपाली कामदारमाथि ‘दुर्व्यवहार’

1 September, 2011

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारा नेपाली घरेलु कामदारमाथि आक्रमण गरेपछि विवादमा परेकी छन्। प्रधानमन्त्री निवासमै काम गर्ने नेपाली महिला ताराकुमारीमाथि हात हालेपछि उनी विवादमा तानिएकी हुन्। ताराले नर्सका रूपमा प्रधानमन्त्री नेतान्याहुका ससुरा श्यामुएल बेन अर्टजीको हेरचाह गर्दै आएकी थिइन्। ताराले मंगलबार साँझ इजरायली टेलिभिजन च्यानल ‘टु’लाई दिएको अन्तर्वार्तामा साराले आफूमाथि ‘दुर्व्यवहार गरेको’ बताएकी छन्। ‘उनले मलाई धक्का दिइन्,’ ताराले भनेकी छन्, ‘मेरो हातमा चोट लागेको छ।’ साराले आफूलाई नेपाल फर्काइदिने धम्कीसमेत दिएको उनले बताएकी छन्। ‘मलाई राम्ररी खान पनि दिइएन,’ उनले भनिन्, ‘सधैं गाली खानुपर्थ्यो।’

इजरेली सञ्चार माध्यमहरूका अनुसार यो घटना दुई साताअघि प्रधानमन्त्रीको सरकारी निवासमा भएको हो। ९६ वर्षे ससुरा अर्टजी बुढ्यौलीका कारण छोरी-ज्वाइँसँगै प्रधानमन्त्री निवासमा बस्दै आएका छन्। नेतान्याहुले अर्टजीकै हेरचाहका लागि ताराकुमारीलाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्यालयले भने बुधबार विज्ञप्ति प्रकाशित गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार नभएको दाबी गरेको छ। उल्टै अर्टजीको राम्रो हेरविचार नगरेको भन्दै चोर दोष लगाएको छ। ‘उनले अर्टजीको पैसा चोर्ने र गलत व्यवहार गर्ने गरेकी थिइन्,’ विज्ञप्तिमा छ। उनलाई हटाएर अर्को कामदार राख्न खोजेपछि यस्तो नाटक रचिएको भन्ने प्रधानमन्त्री कार्यालयको भनाइ छ।

इजरेली सञ्चार माध्यमहरूले भने साराकै गल्ती देखाएका छन्। छिट्टै रिसाउने स्वभावकी साराबाट यसअघि पनि घरेलु कामदारमाथि दुर्व्यवहार भएको आरोप लगाइएको छ। पछिल्लोपटक सन् २०१० मा सारामाथि घरेलु कामदारलाई दुर्व्यवहार गरेको र कम पैसा दिएको आरोप लागेको थियो। प्रधानमन्त्री कार्यालय गल्ती स्वीकार्नु सट्टा ढाकछोपमा लागेको त्यहाँका अखबारहरूले लेखेका छन्।

प्रधानमन्त्री कार्यालयले एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै ताराले आफैं घाउ बनाएको उल्लेख गरेको छ। साराले ‘राम्रोसँग हेरचाह नगरेको’ आरोप लगाएपछि उनले झोंक्किएर आफूलाई चोट पुर्‍याएको कार्यालयको विज्ञप्तिमा छ।

तारामाथि अर्टजी बस्ने कोठा राम्ररी सफा नगरेको र दुई महिनाअघि अस्पताल भर्ना गरिँदा कर्मचारीसँग राम्रो सहकार्य नगरेको आरोप पनि लगाइएको छ।

आप्रवासी कामदार तथा शरणार्थीका लागि काम गर्दै आएको संस्था ‘हटलाइन फर माइग्रेट वकर्स’ले आफूले गुनासो प्राप्त गरेको जनाएको छ। सारा नेतान्याहुको पिताका हेरचाह गर्ने व्यक्तिको काम गराउने अवस्थाको बारेमा गम्भीर चासो रहेको जनाएको छ। सो समुहले जारी गरेको विज्ञप्तीमा उनीलाई प्रधानमन्त्री सरकारी आवास छाड्न नपाउने गरेको र प्रधानन्त्रीका पत्नीले सँधैजस्तो गाली गर्ने र रुखो व्यवहार गर्ने गरेको दावी गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024