सुरेश यादव
धनुषा, धनौजीका ३३ वर्षीय दिनेश राउत तीन छोराछोरी र पत्नीकै जीवनमा खुसी थप्न दुई वर्षदेखि कतारको मरुभूमिमा पसिना बगाउँदै थिए। यता छोराछोरीको लालनपालन गर्ने जिम्मा बोकेकी पत्नी मञ्जु भने स्वदेशमै परपुरुषको प्रेमजालमा फँसिन्।
पत्नीलाई खुसी पार्न दिनेशले के गरेनन्! आमाबाबुसँग बस्न नरुचाएपछि धनुषाको महेन्द्रनगरमा १५ धुर घडेरी खरिद गरी पत्नीकै नाउँमा पास गराए। छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न जनकपुरमा पनि घरघडेरी जोडे। त्यो पनि मञ्जुकै नाउँमा। विदेशमा कमाएजति रकम पत्नीकै नाउँमा पठाउँदा पनि मञ्जुले परपुरुषसँग नाजायज सम्बन्ध राख्न थालेको थाहा पाउँदा निकै तनाव झेले दिनेशले। उनले त्यहीँबाट सम्झाउने धेरै प्रयत्न पनि गरे।
दुई वर्षपछि घर फर्कंदा त मञ्जु परपुरुषको घर छिरिसकिछन्। दिनेशले वैदेशिक रोजगारको अवधिमा पत्नी मात्र गुमाएनन्, दुई वर्षसम्म दिनरात मिहिनेत गरी आर्जेको घरजग्गा र पैसा पनि गुम्यो।
समाजको सल्लाह अनुसार उनले छोराछोरीसहित जिल्ला प्रहरी पुगे, पत्नी फिर्ता दिलाइदिन गुहार गर्दै। प्रहरीले मञ्जुलाई झिकाए पनि उनले दिनेशसँग बस्न नमानेपछि प्रहरीकै सहयोगमा दिनेशले घरजग्गा र केही पैसा फिर्ता पाए।
१५ वर्षीय छोरा, १२ र ६ वर्षीया दुई छोरीका बाबु दिनेश अब छोराछोरीको रेखदेखका लागि भनेर अर्को विवाह गर्ने सुरमा छन्। उनका छोराछोरी जनकपुरस्थित सिद्धार्थ अंग्रेजी विद्यालयमा पढिरहेका छन्।
गोपालपुरका ३१ वर्षीय विजय यादवको समस्या पनि उस्तै छ। ९ कक्षा पढ्दै गरेकी उर्मिलासित विवाह गरेका विजयले आफू विदेश खटेरै भएपनि पत्नीलाई स्नातकसम्म पढाए। विदेशबाटै ल्याएको पैसाले जनकपुरमा १० धुर जग्गा किनेर उर्मिलाकै नाउँमा पास गराए। यता नेपालमा पत्नी परपुरुषसित लसपसमा परिन्।
जग्गा र ५ वर्ष विदेशमा कमाएको पैसासमेत लिएर पत्नी परपुरुषसित भागेपछि विजय ‘पत्नी खोजी पाउँ’ भन्दै प्रहरीसमक्ष पुगे। महिनौंसम्म भौतारिएपछि भेटेकी पत्नी उर्मिला फर्किन नमानेपछि प्रहरीले विजयको धनसम्पत्ति फिर्ता गराइदियो।
कुर्था-२ का विनोद साह अर्का पत्नीपीडित हुन्। दुई छोरा र एक छोरीकी आमा रेखाले साउनमा अर्को विवाह गरिन्। १४ वर्षीया छोरी, ८ र ६ वर्षीय दुई छोराको स्नेह खोसेर रेखाले गाउँकै महाराजा साहसित भागी विवाह गरेकी हुन्। विनोद अहिले न्याय खोज्दै जिल्ला प्रहरी धाइरहेका छन्।
दिनेश, विजय र विनोद त उदाहरण पात्र मात्र हुन्। तराईमा अचेल यस्ता पत्नीपीडित पुरुषको संख्या महिनापिच्छे बढ्दो छ। भदौको दोस्रो सातासम्म मात्रै यस्ता पत्नीपीडित दुई पुरुषले सहयोगको याचना गर्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
साउनमा ३ र गत आर्थिक वर्षमा १३ जना पत्नीपीडित पुरुषको उजुरी परेको प्रहरीको महिला तथा बालबालिका सेल इन्चार्ज सुभद्रा आलेले जानकारी दिइन्।