योगेश खतिवडा
नेपाली कामदार लैजान दक्षिण कोरियाले लिएको कोरियाली भाषा परीक्षामा १५ हजार २ सय ९८ जना उत्तीर्ण भएका छन् । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाले साउन ६ र ७ गतेको भाषा परीक्षा दिएकामध्ये सबैभन्दा बढी अंक ल्याएर छानिएका हुन् । भाषा परीक्षामा ५० हजार सहभागी भएका थिए ।
उत्तीर्ण भएकामध्ये १३ हजार २ सय ९८ उत्पादनमूलक र २ हजार कृषि क्षेत्रका लागि छनोट भएको श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरि पष्स्कर कर्णले बताए । उत्पादनमूलक क्षेत्रमा उत्तीर्ण सबै जनालाई लैजाने प्रक्रिया सुरु भए पनि कृषि क्षेत्रमा भने ४ हजार ३ सय ७५ जनामध्येबाट जाने इच्छा देखाउनेबाट सबैभन्दा बढी अंक ल्याउने २ हजार लैजाने कोरियाले जनाएको छ । कोरियाले कृषि क्षेत्रमा पहिलोपटक भएकाले आवश्यकभन्दा बढीको सूची निकालेको हो । यी व्यक्तिहरूलाई सन् २०१२ मा कोरिया लैजाने योजना छ ।
इपिएस नेपाल शाखाको जिम्मेवारी सम्हालेका वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहालले पहिलोपटक भएको कृषिमा लैजानेभन्दा बढीको सूची निकालिएको बताए । ‘कृषि क्षेत्रको सूचीमा नाम भएकाले जाने इच्छा भएको निवेदन इपिएस शाखामा दिनुपर्छ,’ उनले भने, ‘निवेदन दिनेमध्येबाट सबैभन्दा बढी अंक ल्याउने २ हजारलाई छनोट गरी कृषिको रोस्टर तयार गरिने छ ।’ उत्पादनमूलक क्षेत्रमा उत्तीर्ण भएकाले ८४ प्रतिशतदेखि शत प्रतिशत अंक ल्याएका छन् । कृषि क्षेत्रको सूचीमा ७४ देखि ८४ प्रतिशत अंक ल्याउने छन् ।
उत्तीर्ण भएकाको अब स्वास्थ्य परीक्षण लिने विभागले जनाएको छ । ‘स्वास्थ्य परीक्षण भदौ ११ गतेदेखि सुरु हुन्छ,’ उनले भने । विभिन्न पाँच अस्पतालमा दैनिक एक हजारका दरले १५ दिनसम्म स्वास्थ्य परीक्षण लिने व्यवस्था गरिने उनले बताए । सुरुमा उत्पादनमूलक क्षेत्रका र त्यसपछि कृषि क्षेत्रमा रहेकाको स्वास्थ्य परीक्षण गरिने उनले बताए । परीक्षणका लागि पाटन अस्पताल, वीर, टिचिङ, शुक्रराज ट्रफिकल तथा सरुवा रोग र निजामती अस्पतालमा छुट्याइएको छ । ‘प्रवेशपत्रको रोलनम्बरको आधारमा कुन अस्पतालमा कसको स्वास्थ्य परीक्षण हुने सूचना बिहीवार सार्वजनिक गर्छौं,’ उनले भने । स्वास्थ्य परीक्षणका लागि झन्डै ४ हजार ५० रुपैयाँ -५५ दशमलव ६० डलर) बुझाउनुपर्छ । परीक्षणका लागि तोकिएको अस्पतालमा तोकिएको अघिल्लो दिन सम्पर्क गरी पैसा बुझाउनुपर्ने छ । परीक्षण भएको चार दिनमा अस्पतालले पास भए/नभएको जानकारी इपिएसलाई गराउने छ । ‘यसपटक स्वास्थ्य परीक्षणमा भने पासपोर्टलाई अनिवार्य गरिएको छैन,’ दाहालले भने, ‘त्यसबेला नागरिकताले नै काम गर्न सकिने भए पनि त्यसपछि चाहिन्छ ।’ उनले स्वास्थ्य परीक्षणसँगै पुलिस रिपोर्टलगायत सम्पूर्ण काम पूरा गरी दसैंअघि रोस्टर बनाउने योजना रहेको बनाए । धेरै नेपाली कामदारका लागि आकर्षक बनेको कोरियाले पछिल्लो समय कोटा बढाएर दोब्बर बनाएको थियो । नेपाली कामदार रोजगारदाता कम्पनीले मन पराएको भन्दै कोरियाले नेपाली कामदारले सुरुको भन्दा कोटा बढाएर दोब्बर बनाएपछि यति धेरै कामदार छनोट भएका हुन् । कोरियाले कामदार लैजान १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट लैजान्छ । कोरियामा काम गर्ने नेपालीको काम, उनीहरूको इमानदारी, परीक्षा प्रणाली राम्रो भएको र नेपाली कूटनीतिले राम्रो पहल गर्न सकेकाले कोटामा वृद्धि भएको हो । भाषा परीक्षा लिँदा उसले ७ हजार १ सय कामदार लैजाने बताएको थियो । त्यसपछि बढाएर १० हजार पुर्याउने बताएको कोरिया सरकारले पुनः वृद्धि गरी १५ हजार बनाएको थियो । कोरियामा रहेको नेपालीले मासिक ६० हजारभन्दा माथि आम्दानी गर्छन् । हालै कोरिया सरकारले सन् २०१२ बाट मासिक न्यूनतम तलबमा ४ हजार रुपैयाँ बढाउने निर्णय गरेपछि नेपालीले कम्तीमा पनि ६५ हजार रुपैयाँ आम्दानी गर्ने भएका हुन् ।