एकै महिना ४५ हजार बिदेसिए

22 August, 2011

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको सोही महिनाको तुलनामा ५२ दशमलव १५ प्रतिशतको वृद्धि भई साउनमा ४५ हजार १ सय ६५ जना बिदेसिए । यो संख्या गत आवको साउनको भन्दा १५ हजार ४ सय ८० ले बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार एक महिनामा बिदेसिएको यो संख्या हालसम्मकै उच्च हो । राजनीतिक स्थिरता कायम हुन नसक्दा मुलुकमै रोजगारीको अवसर सृजना नहुनु र भएका रोजगारीका अवसर पनि बिस्तारै गुम्दै गएकाले पैसा कमाउन बिदेसिनको संख्यामा यस्तो वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार वैशाखदेखि बिदेसिने कामदारको संख्यामा लगातार वृद्धि भइरहेको छ । यसअघि असारमा सबैभन्दा बढी कामदार बिदेसिएको तथ्यांकलाई साउनको तथ्यांकले तोडेको हो । वैशाखमा २९ हजार २ सय ७१, जेठमा ४० हजार ४ सय ६१ र असारमा ४४ हजार ७ सय १५ जना बिदेसिएका थिए ।

‘असारमा ४४ हजार ७ सय १५ जना नेपाली कामको खोजीमा बिदेसिएका थिए,’ वैदेशिक रोजगार विभागको तथ्यांकमा भनिएको छ, ‘त्यो रेकर्डलाई तोड्दै साउनमा सबैभन्दा बढी कामदार बिदेसिएका हुन् ।’ गत आर्थिक वर्षमा पनि बिदेसिनेको कामदारको संख्या उच्च थियो । अघिल्लो आर्थिक वर्षमा २ लाख ९४ हजार कामदार बिदेसिएकामा गत आवमा यो बढेर ३ लाख ५४ हजार पुगेको थियो ।

यसरी बिदेसिने नेपाली कामदारका लागि मुख्य गन्तव्यमा मलेसिया र खाडी मुलुक रहेका छन् । साउनमा अघिल्ला महिनामा जस्तै कतारमा सबैभन्दा बढी नेपाली गएका छन् । सन् २०२० मा कतारमा हुन लागेको विश्वकपका लागि पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढेकाले कामदारको माग उच्च भएको र त्यहाँ जानेको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।

साउनमा सबैभन्दा बढी १५ हजार ७ सय २ जना कामदार कतार गएका छन् । दोस्रो मुख्य गन्तव्य बनेको मलेसियामा यस महिना ९ हजार ६ सय ७२ जना कामदार गएका छन् । तेस्रो गन्तव्य मुलुक साउदी अरबमा ८ हजार ५ सय ३८ जना नेपाली काम गर्न गएका छन् । यस्तै संयुक्त अरब इमिरेट्समा ६ हजार ८ सय ७३ जना गएका छन् । विभागका अनुसार साउनमा कुवेतमा २ हजार ८ सय ८८ जना गएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024