दिलीप पौडेल
यहाँको एक गाउँले रेमिट्यान्सलाई आफ्नो चिनारी बनाएको छ। मासिक डेढ करोड रेमिट्यान्स भित्रिएपछि बिहुँ-९, कर्लिम रेमिट्यान्स गाउँ भएको हो।
एक सय ८० घरधुरी रहेको कर्लिम गाउँका अधिकाँश युवा विदेश गएर ठूलो परिमाणमा रकम भित्राएका हुन्। ‘हरेक घरका युवा विदेश छन्,’स्थानीय समाजसेवी शिव प्रसाद कँडेलले भने,’ विदेशबाट पैसा पठाएर गाउँकै मुहार फेरेका छन्।’
गाउँका एक सय ६० युवा जापान, अमेरिका, आयरल्यान्ड, क्यानाडा, सिंगापुर, मलेसिया, कतारलगायत मुलुकमा गएका छन्। जापानमा मात्रमा करिब एक सय गएका छन्। हरेकले विदेशबाट न्युनतम २० देखि मासिक दुई लाख रुपैयाँसम्म पठाउने गर्छन्। अधिकाँश विकसित मुलुकमा भएकोले कमाई राम्रो भएको हो।
युवाहरुले गाउँमा जायजेथा थपेका छन्। बाग्लुङ बजार, पोखरा, काठमाडौ, चितवन, नवलपरासी लगायतका क्षेत्रमा समेत घरजग्गा किनेका छन्। गाउँमा मोटर बाटो, विद्यालयका कम्युटर, सामुदायिक भवन, खानेपानी लगायतका काम गर्न करिब ५० लाख रुपैयाँ पठाएको स्थानीय लिलाधर कँडेलले बताए। ‘गाउँको विकास निर्माणमा ठूलो सघाउ पुगेको छ,’ कँडेलले भने,’गाउँको विकास गर्न विदेशमै समूह गठन गरेर लेबी उठाउँछन्।’ जापानमा रहेकाले ‘कर्लिम जापान सम्पर्क समाज’ गठन गरेका छन्।
कर्लिम निमाविमा कम्युटर शिक्षाकोलागि १० लाख, सामुदायिक भवनमा १२ लाख, रामकोट शिवालय मन्दिरमा ५लाख , मोटर बाटोलाई १५ लाख, लेखानी त्रिपेरेश्वर ६० हजार लगायत विभिन्न सामाजिक काममा लाखौँ रुपैयाँ सहयोग गरेका छन्।
स्थानीय कृष्ण लाल कँडेलका तीनै भाई जापानमा छन्। स्वदेशमा केही नभएपछि छोराहरु विदेश गएको बाबुले बताए। ‘यहाँ रोजगार नभएपछि विदेश गएका हुन्,’ कृष्णलालले भने,’अहिले राम्रै कमाई गरेका छन्।’
छरछिमेकका सबै साथीले धन कमाएपछि आँफु पनि जापान जाने तयारी गरिरहेको स्थानीय युवा वेद प्रसाद कँडेलले बताए।’धेरै साथीहरुले विदेश गएर जीवनमा परिवर्तन ल्याए,’ कँडेलले भने,’ राम्रै कमाई हुने भएकोले जापान जाने योजना बनाएका छु।’ कँडेलले होटलमा काम गर्न जान कुक तालिम सिकिरहेका छन्। विदेश गएकाले आफन्तलाई पनि लैजाने गरेका छन्।
प्रेम कँडेलले जापानमा होटल खोलेर यहाँका युवालाई समेत काममा लगेका छन्। काम गर्न सक्ने युवा विदेशीएपछि गाउँमा बुढाबुढीमात्र छन्। बुढाबुढीहरु गाउँमै बस्छन् भने बालबच्चा पढाउनको लागि बजार झरेका छन्। गाउँघरमा खेतीपाती गर्न र अन्य काम गर्न समस्या हुने गेको स्थानीय बताउँछन्। ‘केटाहरुले विदेश गएर पैसा कमाउँदा गाउँको विकास र परिवारलाई भएको छ,’ रिजालले भने,’ बुढाबुढीले काम गर्न सक्दैनौ। गाउँमै युवा नहुँदा खेतीपाती लगाउन समस्या छ। काम गर्ने मान्छे पाइँदैन।’