विस्थापित आफन्तको शरणमा

8 August, 2011

राजेन्द्र नाथ,ठाकुरसिंह थारू

राप्ती नदीले घरखेत कटान गरेपछि होलिया ५ टेपरी र सिमरहनपुर्वाका पीडित पुस्तौंदेखि बस्दै आएको थातथलो छाडेर आफन्तको शरणमा पुगेका छन् । कटान आइतबारबाट तीव्र भएपछि उनीहरू साइकल र गाडामा अन्न, भाँडाकुँडा, लत्ताकपडालगायत बोकेर होलिया ९ स्थित नयाँबस्ती सरेका हुन् । प्रशासनले पुनस्र्थापनाका लागि बेवास्ता गरेकाले आफन्तको शरण लिन परेको उनीहरूले बताए । राप्ती गाउँ पसेपछि जिल्ला प्रशासनले अघिल्लो साता विस्थापित परिवारलाई हजरत सामुदायिक वनमा राखेको थियो । त्यही दिन उपभोक्ताले लखेटेपछि उनीहरू सहाराको खोजीमा चार वर्षअघि बाढीले विस्थापित भएका १ सय ४४ परिवार पुनस्र्थापित गरिएको नयाँ बस्तीमा आएका हुन् ।’राप्ती नदीले घरनै कटान गर्न थाल्यो । बस्ने ठाउँ भएन,’ गाडामा खाद्यान्न लिएर नयाँबस्तीका बदलु यादवको घर पुगेका छँगुर बाहुनले भने, ‘बस्ने ठाउँ नहुँदा समस्या परेको छ ।’ आफन्तले एक महिनासम्म बस्ने दिने आश्वासन पाएको उनले सुनाए । छँगुरको ११ जनाको परिवार छ । नदी कटानको जोखिममा परेका परिवार गोरु गाडामा सामान लादेर धमाधम नयाँबस्ती भित्रिन थालेका छन् । ‘खेत नदीले बगाएर लग्यो । ओत लाग्ने ठाउँका लागि सरकारले कुनै व्यवस्था गरिदिएन,’ सीताराम यादवले भने, ‘अरूको घरमा सधैं बस्न सम्भव छैन ।’ वषर्ा लागेपछि राप्तीले लगातार कटान गरिरहेको छ । आइतबार कटानमा तीव्रता आएको सशस्त्र प्रहरी बेसक्याम्पका निरीक्षक बिर्ताशेर थापाले बताए । ‘कटान बढेपछि विस्थापित गाउँ छोडिरहेका छन् । उद्धारका लागि प्रहरी परिचालित गरिएको छ,’ उनले भने ।सिमरहनपुर्वाकै रामप्रसाद यादवले पनि नयाँबस्तीका आफन्त रामकिशोर यादवको घरमा शरण लिएका छन् । १२ जनाको परिवारको खानाका लागि उनले धान र गहुँ रामकिशोरको घरमा ओसारे । चौपायासहित विस्थापित हुनुपरेकोमा उनी निकै दुःखी छन् । ‘नदीले जोगी बनायो । केही बाँकी रहेन,’ उनले भने, ‘हामीले निकै दुःख पाएका छौं । सहारा दिने कोही भएन ।’दुःखमा परेकालाई आफन्तले घरमा सहारा दिएका छन् । नयाँबस्तीका पृथ्वीराज यादवले घरबारविहीन हुनुको पीडा थाहा पाएकाले पनि सहारा दिएको बताए । उनी पनि चार वर्षअघिको बाढीबाट खेदिएका हुन् । आफन्त नभएका टेपरी र सिमरहनपुर्वाका पीडितको खाद्यान्न पनि बस्तीवासीले सुरक्षित राखिदिने गरेका छन् ।दैवी प्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले राप्ती गाउँ पस्न थालेपछि बासिन्दालाई तत्कालका लागि नयाँबस्तीस्थित सामुदायिक विद्यालयमा राख्न व्यवस्था मिलाएको बताए । ‘तत्कालका लागि विद्यालयमा बस्ने व्यवस्था मिलाएका छौं । स्थायी बसोबासका लागि ठोस निर्णय भएको छैन,’ उनले भने ।सामुदायिक वनका पदाधिकारी र जिल्ला वनले बाढीपीडितलाई स्थायी रूपमा जंगलको जग्गामा राख्न नसक्ने भन्दै विरोध गर्दै आएका छन् । प्रशासनले खाली जग्गा खोजी गर्न नसकेको कारण पुनस्र्थापनामा समस्या देखिएको हो । पीडितले १ सय १४ परिवार अलपत्र परेको बताए पनि गाविसले ७४ परिवार पुनस्र्थापना गर्नुपर्ने जनायो । जसका कारण थप विवाद देखिएको छ । यसअघि पनि राप्ती नदीको कटानले विस्थापित भएका टेपरीका १ सय ४४ परिवारलाई स्थानीय प्रशासनले हजरत सामुदायिक वन र चौफेरीका विस्थापित ४० परिवारलाई झोरा सामुदायिक वनमा राखेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024