साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार

12 September, 2022

मानदत्त रावल

साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो।

गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा उनीहरूको उद्धार गरिएको हो। गुठीचौर– १ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्तबहादुर रोकाय, खडग रोकाय, लक्ष्मीबहादुर रोकाय, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाय र जनक बुढाको उद्धार गरिएको वडाध्यक्ष महताराले जानकारी दिए।

महताराले भने, ‘राम्रो तलब दिने भनी नेपालबाट ब्लु ग्यालेक्सी कम्पनीले साउदी पठाएको रहेछ। तर, साउदीमा क्युसिएम कम्पनीले भनेको काम र तलब नदिँदा अलपत्र परेका रहेछन्।’ नेपालबाट बैंक क्लिनर र हस्पिटल क्लिनरको रूपमा पठाइए पनि उनीहरूलाई आर्मी ब्यारेकमा काम लगाइएको थियो।

सुरुमा मासिक तलब एक हजार साउदी रियाल दिने भनिए पनि उता पुगेपछि आठ सय मात्रै दिने गरी काम गर्न बाध्य पारिएको पीडितहरूको गुनासो छ। त्यो पनि केही समयपछि पूरा तलब नदिएको बताइएको छ। उनीहरू नेपाल आएपछि ‘ब्लुग्यालेक्सी’ मेनपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी भएको वडाध्यक्ष महताराले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024