वैदेशिक रोजगारबाट फर्किने कामदारको तथ्यांक राखिने

13 July, 2011

सरकारले वैदेशिक रोजगारबाट फर्किनेको संख्या यकिन गर्न आगामी आर्थिक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा श्रम आगमन कक्ष -अराइभल डेक्स) स्थापना गर्ने भएको छ । विदेसिनेको तथ्यांक भए पनि फर्कनेको संख्या यकिन नहुने भएकाले सरकारले यो व्यवस्था गर्न लागेको हो ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा आगमन कक्ष स्थापनाका लागि बजेट विनियोजन गर्ने भएको छ । श्रम मन्त्रालयका अधिकारीका अनुसार अर्थले सुरुमा १० लाख रुपैयाँ उपलब्ध गराउने र त्यसपछि आवश्यकताअनुसार उपलब्ध गराउने जानकारी दिएको छ । विभागले बजेटमार्फत रकम विनियोजन भएपछि विमानस्थलमा ठाउँ खोज्ने काम सुरु गर्ने जनाएको छ । अहिले करिब २० लाख युवा कामको खोजीमा विदेसिएको तथ्यांक छ । त्यसमा कति फर्किए र फेरि कति जना बिदेसिए भन्ने कुनै तथ्यांक छैन । आगमन कक्षबाट आएको संख्याका साथै उनीहरूबाट वैदेशिक रोजगारीबारे समेत जानकारी राख्ने उद्देश्य रहेको विभागका अधिकृत कुलप्रसाद रेग्मीले बताए । ‘वैदेशिक रोजगारीबाट आएकाको रेकर्डका साथै उनीहरूले भोगेका समस्याबारे जानकारी लिने उद्देश्यले डेक्स स्थापना गर्न लागिएको हो,’ उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएकामध्ये कति कामदार पुनः जान चाहन्छन् त्यसबारेको सूचना पनि संकलन गरिने छ ।’ अहिले वैदेशिक रोजगारीमा गएर फर्किएका मध्ये लगभग ६० प्रतिशत कामदार पुनः र्फकने गरेको अनुमान छ । विभागले यस डेक्सलाई वैदेशिक रोजगारीबारे सचेतना फैलाउने कार्यमा समेत प्रयोग गर्ने योजना बनाएको उनले जानकारी दिए । हाल श्रम स्वीकृति लिन जाँदा राख्ने गरेको बिदेसिने कामदारको संख्यालाई मात्र आधार मानेर बिदेसिएका कामदारका लागि नीति तथा कार्यक्रम बन्ने गरेको छ । तर विदेशमा रहेका नेपाली कामदारको संख्या त्योभन्दा फरक भएकाले मुलुकभित्रै र कामदार जाने मुलुकमा सञ्चालन हुने कार्यक्रम र नीति प्रभावकारी नहुने जानकारहरू बताउँछन् । युवाहरू प्रायः २/३ वर्षको करारमा जान्छन् । त्यो अवधि सकिएपछि उनीहरू र्फकने गरेका छन् । अघिल्लो वर्षको विश्वव्यापी आर्थिक मन्दीको बेलामा पनि गएका तथ्यांकको आधारमा आउनेको संख्या धेरै अनुमान गरिए पनि विदेशमा कम कामदार रहेकाले अनुमानभन्दा कम फर्किएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024