मलेशियामा बन्धक बनाइएका १९ मध्ये ७ जना फर्किए

13 January, 2022

नरहरि सापकोटा

मलेशियामा बन्धक बनाइएका गोरखाका दुई सहित सात जना नेपाल फर्किएका छन् भने १२ जना अझै बन्धक छन्। गोरखाका कमलबाबु श्रेष्ठ, ठाकुर रेग्मी, मकवानपुरका इश्वर कोईराला, भुवन कोईराला, भोजपुरका बाबुराम बास्तोला, कैलालीका कैलाश लोहार र धादीङका बाबुलाल बिक फर्किएका हुन्।

‘हामी अली धेरै बोल्ने र बन्धक बनाएको बारे मिडियामा जानकारी दिनेहरुलाई पहिलो चरणमा पठाईयो’ बुधबार नेपाल फर्किएपछि गोरखाका ठाकुर रेग्मीले भने ‘अरु १२ जना साथीहरु दुई/तीन दिनमा आउने कुरा छ। ’ मलेशिलयामा रहेका गोरखा तीन जना सहित १२ जनालाई त्यहाँ रहेका नेपाली ऐजेन्टले पुन कम्पनीमा फर्काउन चाहेको तर उनीहरु नमानेको उनले बताए।

‘अहिले खान दिएका छन् तर सुत्ने बस्ने ठाउँ राम्रो छैन’ उनले भने। सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट युवाहरु मलेसिया स्थित हङटिज चिकेन सप्लायर्समा काम गर्न गएका थिए। त्यहाँबाट उनीहरुलाई निकालेर केलाङ भन्ने शहरको एउटा घरको तेस्रो तलामा बन्धक बनाएर राखिएको बाबुराम बास्तोलाले बताए।

काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारिरिक यातना दिने गरेपछि किन यस्तो गरेको भन्दा कम्पनीबाट निकालेर उनीहरुलाई बन्धक बनाइएको थियो। कम्पनीले कामबाट निकालेर एउटा घरमा बन्धक बनाएको बारे युवाहरुले नेपालमा फोटो, भिडियो पठाएर संचार माध्याममा जानकारी गराएपछि नेपाल सरकारले उद्धारका लागि पहल थालेको थियो।

फर्किएका युवाहरु काठमाण्डौँमा एउटा होटलमा सँगै बसिरहेका छन्। अन्य साथीहरु फर्किएपछि काममा पठाएर अलपत्र पार्ने कम्पनी बिरुद्ध कसरी अघि बढ्ने भन्ने निर्णय लिने रेग्मीले बताए। नेपाली ऐजेन्टले चार हजार तीन सय रिङ्गेट खर्च गरेर नेपाल फर्काएको हो भनेका छन’ उनले भने ‘तर हामीलाई एरपोर्टमा एक महिनाको बाँकी तलबबाट टिकट काटिएको भन्दै कम्पनीले एक हजार ६० मात्रै दियो। ’ कम्पनी र नेपाली एजेन्टको कुरा बाझिएको बताउँदै उनले आफ्नै पैसाले टिकट काटेर नेपाल आएको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024