खाडीमा हाउसमेड खुला

9 June, 2011

सरकारले खाडी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा घरेलु काम -हाउसमेड) मा जान महिला कामदारका लागि मापदण्ड तोकी खुला गरेको छ । कुवेतका लागि यसअघि नै मापदण्ड तय छ । ती मुलुकस्थित नेपाली दूतावासले बनाएर पठाएको मापदण्डलाई श्रममन्त्री मोहम्मद इस्तियाक राईले सोमबार स्वीकृत गरेका छन् ।  घरेलु कामदारलाई खाडीका स्थानीय श्रम कानुनले नसमेट्ने र उनीहरू असुरक्षित हुने भएकाले महिलालाई त्यस काममा जान सरकारले रोक लगाउँदै आएको थियो । तर दलालहरूले भिजिट भिसामा स्वदेशी र विदेशी विमानस्थल प्रयोग गरी ती देशमा पठाउने गरिरहेका छन् । सरकारले त्यसलाई रोक्न नसकेपछि गत मंसिरमा मन्त्रिपरिषद्ले कार्यविधि बनाएर दूतावासको जिम्मेवारीमा मापदण्ड बनाई पठाउने निर्णय गरेको थियो ।

दूतावासहरूको अनुमानमा झन्डै दुई लाख महिला खाडीमा कार्यरत छन् । श्रम मन्त्रालयका अनुसार चार दूतावासले आ-आफ्नो देशअनुसार न्यूनतम तलब, बिमा व्यवस्था, घरेलु कामदार राख्ने व्यक्तिको आर्थिक स्थिति र सामाजिक आधार, कामदार बस्ने सुरक्षित बासस्थान, सुरक्षाको प्रत्याभूति र धरौटीलगायत विषयमा मापदण्ड तोकेको छ । जसअनुसार साउदी, कतार, यूएई र कुवेत जाने हाउसमेड महिलाको न्यूनतम तलब क्रमशः ७ सय रियाल, एक हजार रियाल, ९ सय दिराम र ५० डिनार तोकिएको छ । मापदण्डअनुसार यूएईमा रोजगारदाताको न्यूनतम आय मासिक घरभाडाबाहेक १० हजार दिराम हुनुपर्ने र दूतावासमा ५ हजार धरौटी राख्नुपर्ने, कतारमा रोजगारदाताको अम्दानी प्रतिमहिना १२ हजार रियाल र कतारी आईडीवाला गैरनेपाली हुनुपर्ने, दूतावास र घरपरिवारसँग नियमित सम्पर्क गर्न पाउनुपर्ने र ३० वर्षभन्दा माथिका महिलाले मात्रै अनुमति पाउनेछन् । घरेलु कामदारमा महिला, ‘हाउस ड्राइभर’, ‘हाउस सेक्युरिटी’ र ‘गार्डेनर’ छन् । ‘महिलाको विषय संवेदनशील भएकाले दूतावासले प्रमाणित गरेर पठाएको मागपत्रमा मात्रै श्रम स्वीकृति हुनुपर्छ,’ कतारस्थित नेपाली राजदूत सूर्यनाथ मिश्रले भने, ‘होइन भने महिलाको समस्यालाई यहाँ थेग्न सकिँदैन ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024